सिक्किममा बेपत्ता भएका १० नेपालीमध्ये ५ जना सम्पर्कमा

लयमा फर्कंदै सिक्किम

सिक्किममा बेपत्ता भएका १० नेपालीमध्ये ५ जना सम्पर्कमा
सिक्किम बाढी। तस्बिर : सौजन्य, अनु भट्टराई।
सुन्नुहोस्

इलाम : उत्तर सिक्किमको ल्होनाक ताल फुटेर चुङथाङस्थित जलविद्युत परियोजना, सिक्किम ऊर्जाको बाँध भत्किंदा असोज १६ गते टिस्टा नदीमा बाढी आएको थियो। उक्त बाढीले सिक्किममा धेरै जनधनको क्षति भएको थियो। सोही बाढीपछि सिक्किममा नेपालका १० जना मानिस सम्पर्कविच्छेद थिए।

सम्पर्क बाहिर रहेका इलामका ५ जना भने परिवारको सम्पर्कमा आएका छन्। इलाम नगरपालिका–९ का सेनबहादुर कार्की, कुमार बस्नेत, नरमाया बस्नेत, खुशी कार्की  र लाक्पा लामा  परिवारको सम्पर्कमा आएका इलाम नगरपालिका ९ का वडाअध्यक्ष गोपाल चौहानले बताए। उनले भने, ‘आज बेलुका सम्ममा घरै आउने खबर पाएको छु।’

इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाले सम्पर्क बाहिर रहेकाहरुको परिवारसंग कुरा भएको जानकारी पाएको बताए। 

लयमा फर्कंदै सिक्किम

बाढ़ीसंगै तहसनहस भएको सिक्कमको जनजीवन पहिलेकै अवस्थामा फर्कने प्रयासमा छ। विद्युत, सञ्चार र यातायात सहज बनाउने प्रयास भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन्।

टिस्टाको बाढीले नदी आसपासको क्षेत्रमा भीषण क्षति गरेको थियो।  ज्यान गुमाएकाको एकिन तथ्याङ्क अझै आएको छैन। राज्य सरकारले ३३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको छ। सरकार र नागरिकको निरन्तर प्रयासपछि बाढी प्रभावित क्षेत्र लयमा फर्कने प्रयासमा छ। 

अवस्था निक्कै डरलाग्दो भएको सिक्कमको नाम्चीकी अनु भट्टराईले बताइन्। उद्धार सहयोगमा सुरुदेखि नै जुटेकी भट्टराईले भनिन् ‘शब्दमा कसरी बताऊँ, सुरुमा अवस्था भयावह थियो , अहिले सुधार हुँदै छ।’ 

सरकारी विवरण अनुसार अहिले सम्म १०५ जना बेपत्ता छन्। राज्यमा एक हजार ६५५ घर क्षतिग्रस्त भएका छन्। १ हजार ३२० घर पूर्णरूपले क्षतिग्रस्त भएका छन्। सरकारका अनुसार १४१ घर पक्की घर र १९४ कच्ची घरमा आंशिक क्षति पुगेको छ। 

सरकारले आइतबार बेलुका सार्वजनिक गरेको तथ्याङ्कमा २ हजार ५६३ जनालाई उद्धार गरेको छ भने दुई हजार ७०७ जनालाई सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएकामध्ये २६ जना सिकिस्त घाइतेको राज्यका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। 
स्थानीय भन्छन्, ‘३३ वटा शव निकाले पनि मृत्यु हुनेको सख्या ठुलो हुने सक्छ तर सरकाले त्यो सार्वजनिक गरेको छैन।’ राज्यका विभिन्न ठाउँमा २८ वटा राहत शिविर स्थापना गरेर छ हजार ८४७ जनालाई राखिएको छ। 

बाढीले टिस्टाका पाँच जलविद्युत परियोजना भन्दा तलका १४ वटा पुल भत्किएका छन्। आवतजावत अवरुद्ध छ। सिक्किमको छिमेकी राज्य पश्चिम बंगालको कालेबुङ जिल्लामा पनि टिस्टा नदीको बाढीले धनजनको क्षति गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

केन्द्रीय गृह राज्यमन्त्री अजयकुमर मिश्राले सिक्किम त्रासदीको अहिलेको अवस्थामा सबै प्रकारको सहयोगका लागि केन्द्र सरकारले केन्द्रको एउटा अन्तर–  मन्त्रालय समितिको गठन गरिएको जाकारी दिए। जसमा भारत सरकारका पाँच मन्त्रालय कृषि, सड़क परिवहन अनि राजमार्ग, जलशक्ति, ऊर्जा अनि वित्त मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहेका छन्। 

राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले प्रभावित क्षेत्रको भ्रमण र राहतमा खटिरहेका छन्। उनले नागरिकलाई राज्य सरकार पिडितको पक्षमा रहेको कुरामा आस्वास्त गर्ने प्रयास गरिरहेका छन्। 

रिकिप, छलमथाङ, सिरवानी र आदर्श गाउँ लगायत बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेपछि गोलेले भने, ‘संकटको यो समयमा सरकार तपाईंहरुको साथमा छ।’ उनले यो पीडितहरूमा मात्र आइपरेको संकट नभएर राज्यलाई नै आइपरेको संकट रहेको बताए। उनले नागरिकलाई सामान्य जीवनमा फर्काउन राज्य सरकारले सहयोग पुर्‍याउने बताए। 

मुख्यमन्त्रीले प्रभावित क्षेत्रमै पुगेर पीडित परिवारलाई तत्काल राहतको लागि  ५० हजार प्रदान गरेका छन् भने चाडै एक लाख रुपैयाँ राहत थप्ने राज्य सरकारले जनाएको छ। 

विपक्षी र विज्ञहरुले भने सिक्किम बाढीको वितण्डालाई सरकारकै कर्मको उपजको रुपमा लिएका छन्। टिस्टाको वहाव रोकेर ड्याम निमार्ण, त्यसको वरिपरि बनाइएका घर र भवनपहाड काटेर निर्माण गरिएका सुरुङको कारण डरलाग्दो क्षति भोग्नु परेको उनीहरुको आरोप छ। 

यसअघि सन् १९६८ सालमा ठूलो पहिरो गएर  टिष्टा खोलामाथिको पुल भत्किएको थियो। तर त्यहाँका मान्छेले यसपटकको जस्तो रुप कहिले नदेखेको स्थानीय कुमार तामाङले बताए। 

पर्यावरण बचाऊ अभियान सञ्चालन गरिरहेका सङ्गठनहरूले हिमाली राज्य सिक्किम र दार्जीलिङ पहाडको टिस्टा बेसिनमा सबै प्रकारको निर्माण कार्य बन्द गर्ने माग गरेका छन्। यी सङ्गठनहरूले नदीमा जल विद्युत् परियोजना, पहाडमा सुरुङ बनाउने, नदी किनारका जमीनहरूमा ठूल्ठूला भवनहरूको निर्माण जस्ता सबै प्रकारको कार्य बन्द गर्नुपर्ने माग गरेका हुन्। सङ्गठनहरूले सिक्किमको चुङथाङदेखि सेभोकको लालटुङ अनि मल्लीदेखि रङ्गीत नदी संलग्न टिस्टा बेसिनमा सबै प्रकारको निर्माण कार्य बन्द गर्ने माग गरेका हुन्। 

पर्यवरण वचाउ अभियानकी एक जना अभियान्ता मायालुमित लेप्चाले भनिन्, ‘यो मानिसले निम्ताएको आपत हो। सरकारको उदासीनताले गर्दा नै सिक्किम र पहाड़मा यस्तो घटना घटेको हो।’

मुम्बईबाट परिवारसित छुट्टी मनाउन आएकी सुमिता बजाजले भारतीय सेनाले थुनिएका सबै पर्यटकहरूको खाने बस्ने राम्रो व्यवस्था गरेको सञ्चार माध्यमलाई बताइन्।  उनका अनुसार पर्यटकहरूलाई सेनाले स्थानीय होटलहरूमा राखेको थियो भने सेनाको सञ्चार साधन मार्फत  आ–आफ्नो परिवारसित सम्पर्क गर्ने व्यवस्था पनि मिलाएको थियो। अर्कोतिर स्थानीयहरूले आफ्नो घर र दोकानको रासनपानी समाप्त नभएसम्म पाहुनालाई खान बस्नको व्यवस्था गरेका थिए। स्थानीयहरु संयमित र सहयोगी भएकैले कुनै समस्या भोग्नु नपरेको उनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.