इलामेलीका नजरमा ‘सुवासीला’ नेम्बाङ

इलामेलीका नजरमा ‘सुवासीला’ नेम्बाङ

इलाम : इलाम सदरमुकाम–७ सुन्तलाबारीस्थित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको घर सुनसान थियो। पार्टी कार्यालयमा केही कार्यकर्ताहरू निराश मुद्रामा भेटिए। नेम्बाङको निधनको खबरले उनका साथीभाइदेखि शिक्षकसम्म स्तव्ध छन्।

सालिन छविका नेम्बाङले २०५६ सालमा इलाम क्षेत्र नं २ बाट निर्वाचन जितेका थिए। नेम्बाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए। २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल परेका उनले कहिल्यै कसैलाई पिरमा नपारेको उनका अग्रजदेखि सहेलीसम्म बताउँछन्। २०४८ र २०५२ सालमा राष्ट्रियसभामा प्रतिनिधित्व गरेका उनले २०५६ सालको निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हाले। 

उनको विद्यार्थी जीवनका साथी नेपाली कांग्रेसका नेता बेनुपराज प्रसाईंले नेम्बाङलाई अत्यन्तै भद्र संस्कार भएका नेताका रूपमा सम्झिए। उनी भन्छन्, ‘राजनीतिक रूपमा हाम्रो बाटो फरक भए पनि पछिसम्म हेर्दा पनि उनको भद्र स्वभाव कहिले परिवर्तन भएन। म उनलाई असल मान्छेका रूपमा सम्झन्छु।’

नेम्बाङ र प्रसाईंको पारिवारिक सम्बन्ध पनि निक्कै नजिक थियो। दुवैबीच साथीकै सम्बन्ध कायम रहँदै नेम्बाङको अन्तिम समय वितेको प्रसाईंले बताए। २०६४ र २०७० सालमा पनि इलामबाट चुनाव जितेर उनी ऐतिहासिक संविधानसभाको अध्यक्ष भए। २०७४ र २०७९ मा समेत उनले इलाम–२ बाट निर्वाचन जिते। 

नेम्बाङ मिजासिला मात्रै थिएनन्। गुरुहरूप्रति उत्तिकै आदरभाव राख्थे। विद्यार्थी जीवनमा राजनीतिमा खासै चासो नराख्ने नेम्बाङ खेलकुदमा भने अब्बल रहेको नेम्बाङका शिक्षक ठाकुरप्रसाद सिवाकोटी बताउँछन्। 

साथीहरूमाझ निक्कै लोकप्रिय नेम्बाङ झैझगडामा भने कहिलै अघि सर्दैन थिए। नेम्बाङका छिमेकी एवं बाल्यकालका मित्र कुमार वैद्य भन्छन्, ‘उनी देशलाई माया गर्ने नेता थिए। उनको मृत्युको खबरले बेचैन छु।’ धेरै राजनीतिक रूपमा गन्हाए तर नेम्बाङ नगनाएकोमा उनका साथीहरू उनलाई थप आदर गर्छन्। बाल्यकालदेखि क्याम्पससम्म सँगै अध्ययन गरेका मानबहादुर खड्गी नेम्बाङलाई सबै नागरिकलाई समान रूपमा हेर्ने, सबैको काम समान रूपमा गर्ने साथीका रूपमा चिन्छन्। उनी सुनाउँछन्, ‘उनी पातलो थिए। हामी आन्दोलनमा उत्रिँदा उनी किताब रुघेर बस्ने गर्थे।’

नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण घिमिरेका नजरमा नेम्वाङ देशकै असल नेता हुन्। घिमिरे भन्छन्, ‘अप्रत्याशित घटनाले देशले असल नेता गुमाएको छ। हामीले अभिभावक गुमाएका छौं।’ नेम्बाङले अध्ययन गरेको इलाम नगरपालिकास्थित आदर्श उच्च माध्यमिक विद्यालयका शिक्षक जीवन सुवेदी नेम्बाङले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको सुनाउँछन्। पछिल्लो समय नेम्बाङकै पहलमा सूचना प्रविधिसँग सम्बन्धित सामग्री विद्यालयले प्राप्त गरेको बताउँदै सुवेदीले भने, ‘उहाँको निधनले इलामले समात्ने हाँगो गुमाएको छ।’ 

नेम्बाङले पढाएका विद्यार्थीसमेत नेम्बाङलाई सरल र असल शिक्षकका रूपमा चिन्छन्। २०४५ सालमा नेम्बाङसँग नेपाल ल क्याम्पसमा संवैधानिक कानुन पढेका विमल सिवाकोटी भन्छन्, ‘उहाँको सरलता र सालिनता नै धेरै विद्यार्थीका लागि जीवन दर्शन बनेको छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.