जिल्ला–जिल्लामा राष्ट्रिय परिचयपत्र

जिल्ला–जिल्लामा राष्ट्रिय परिचयपत्र
सुन्नुहोस्

देशभरका ५४ वटा जिल्ला प्रशासन कार्यालयमा करिब ७ लाख ८५ हजार कार्ड पुर्‍याएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले असार मसान्तसम्ममा १ लाख ७३ हजार ६८ नागरिकको हातमा परिचय पत्र पुर्‍याएको जनाएको छ।

इलाम /सिन्धुपाल्चोक : व्यक्तिको परिचय प्रमाणिकरणको डिजिटल समाधान मानिएको राष्ट्रिय परिचय पत्र इलाममा बिहीबारबाट वितरण सुरु भएको छ। 

देशभरका ५४ वटा जिल्ला प्रशासन कार्यालयमा करिब ७ लाख ८५ हजार कार्ड पुर्‍याएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले असार मसान्तसम्ममा १ लाख ७३ हजार ६८ नागरिकको हातमा परिचय पत्र पुर्‍याएको जनाएको छ। 

झन्डै पाँच वर्षअघि २०७५ मंसिर ३ गते छिमेकी जिल्ला पाँचथरका नागरिकहरू तथा सिंहदरबार परिसरका कर्मचारीहरूलाई राष्ट्रिय परिचयपत्र वितरण गरेर सुरु भएको कार्यक्रम इलाममा भने पहिलो चरणमा पाँच सय जनालाई वितरण सुरु गरिएको इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालय इलाममा १७ हजार ७९ वटा कार्ड प्राप्त भएको पोख्रेलले बताए। उनले भने, ‘अहिले जिल्ला प्रशासनमा आएर फर्म भर्नेको मात्रै कार्ड आएको छ।’

पाँचथर जिल्लामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले १०१ वर्षीय जेष्ठ नागरिक भगवती देवी भण्डारीलाई औपचारिक रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्दै यो कार्यक्रम सुरु गरिएको थियो। पाँचथर जिल्लामा वितरणपश्चात् नेपाल सरकारले देशभर विस्तार गर्ने गरी कार्यक्रम अघि बढाइसकेको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ। 

विभागले असार मसान्तसम्ममा १ करोड ३१ लख ४५ हजार ७४१ जनाको विवरण संकलन गरिसकेको जनाएको छ। विभागले पाँच वर्षमा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सप्तरीलगायत ५५ जिल्लामा अभियान सम्पन्न भएको जनाएको छ। धादिङ, काठमाडौं, सिराहा, धनुषा, बारा, पर्सा, रौतहट, महोत्तरी, बाजुरा, नुवाकोट, अर्घाखाँची, रोल्पा, प्युठान गरी १३ जिल्लामा अभियान जारी रहेको विभागले जनाएको छ। 

डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको महत्व रहेको विभागको दावी छ। 

सिन्धुपाल्चोकमा पनि राष्ट्रिय परिचयपत्र वितरण

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले राष्ट्रिय परिचयपत्र वितरण सुरू गरेको छ। २०७७ साउन २१ देखि राष्ट्रिय परिचय पत्रको फारम भर्न थालिएकोमा तीन वर्षपछि परिचयपत्र वितरण थालिएको हो।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले समाजसेवी कृष्णबहादुर ठकुरी र कार्यालयका कर्मचारी विश्वास बोम्जनलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरी वितरण कार्यको शुभारम्भ गरेका हुन्। मेसिन र कम्प्युटरबाट राष्ट्रिय परिचयपत्रको सम्पूर्ण विवरण प्रमाणित गरेपछि मात्र प्रमुख जिल्ला अधिकारी न्यौपानेले परिचयपत्र प्रदान गरेका थिए। सिन्धुपाल्चोकबाट हालसम्म १ लाख ९४ हजार ७ सय ४९ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन्। ती मध्ये पहिलो चरणमा आर्थिक वर्ष ०७७/०७८ मा विवरण दर्ता गराउने १ हजार ३ सय ६९ जनाको परिचयपत्र बनेर आएको जिल्ला प्रशासन कार्यालयका कम्युटर अपरेटर सूर्यप्रकाश श्रेष्ठले जानकारी दिए। 

कार्यालयबाट परिचय पत्रका लागि आवेदन दिएका र परिचय पत्र तयार भइसकेका सेवाग्राहीको मोबाइलमा सन्देश पठाएर जानकारी दिने व्यवस्था मिलाइएको छ। यसका आधारमा सेवाग्राहीहरूले कार्यालयमा गएर परिचयपत्र लिन सक्नेछन्। परिचयपत्र लिनका लागि सबन्धित व्यक्ति स्वयं विवरण संकलनका बेला कार्यालयबाट दिइएको विवरण प्रतिलिपि लिएर उपस्थित हुनुपर्ने प्रजिअ न्यौपानेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.