सुदूरपश्चिम स्पोर्टस अवार्ड : दुई विधाको मनोनयन सार्वजनिक

धनगढी : धनगढीमा हुने चौथो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको दुई विधाको मनोनयन सार्वजनिक भएको छ।
सुदूरपश्चिमाञ्चल एकेडेमीको मुख्य प्रायोजनमा हुने अवार्डको सुदूरपश्चिम आइकन पुरुष र सुदूरपश्चिम आइकन महिला विधाको मनोनयन सार्वजनिक गरिएको हो।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा पदक विजेता खेलाडीहरूलाई समेटेर मनोनयन सार्वजनिक गरेको छ।
असार ८ गते धनगढीमा हुने चौथो संस्करणको एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष विधामा फेन्सिङका जलेन्द्र शाही, कराँतेका आनन्द कामी र फुटबलका जियारत सेख मनोनयनमा परेका छन्। शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई पहिलो स्वर्ण पदक जिताएका थिए।
फेन्सिङमा सुदूरपश्चिमलाई उनले पहिलो पटक स्वर्ण पदक जिताएका हुन्। उनले नै पहिलो पटक फेन्सिङ सिकाएका खेलाडीहरूले पहिलो सहभागितामा सुदूरपश्चिमलाई दुई कास्य पदक समेत जिताएका थिए।
आनन्दले पनि ९ औं राष्ट्रिय खेलकुदमा कराँते तर्फ ५० किलो तौल समूहमा स्वर्ण जितेका थिए। सुदूरपश्चिमलाई कराँतेमा स्वर्ण पदक दिलाउने उनी एक्ला खेलाडी हुन।
उनले प्रशिक्षण दिएका दुई जना खेलाडीले राष्ट्रपति रनिङ सिल्डमा पनि दुई कास्य पदक जितेका थिए। कामीले भारतमा भएको इण्डो नेपाल च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।
जियारतले उमेर समुहमा नेपाली पुरुष टिममा सहभागिता जनाउँदै २० वर्षमुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको टोलीका सदस्य हुन्। उनले खुमलटार युवा क्लबलाई ए डिभिजनमा पुर्याउनका लागि पनि उत्कृष्ट प्रदर्शन गरेका थिए।
मनाङ मस्याङ्दी क्लबबाट व्यावसायिक ए डिभिजन लिग खेलिरहेका उनी गत वर्ष भएको यस्तै तिलोत्तमा गोल्डकपको उत्कृष्ट गोलरक्षक समेत भएका थिए। उनले एफसी यु २० छनोटमा नेपाली टिमको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए।
न्यु सिटी पोलिक्लिनिक सुदूरपश्चिम आइकन महिलामा कुस्तीकी मनिषा सिंह, फुटबलकी दिपा रोकाया र क्रिकेटकी कविा कुँवर मनोनयनमा परेकीछिन्। मनिषाले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमलाई कुस्तीमा ५३ किलो तौल समूहमा स्वर्ण पदक दिलाएकी थिइन। उनले एसियन छनोट प्रतियोगितामा पनि स्वर्ण हात पारेकी थिइन्।
कविताले सुदूरपश्चिमलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनी प्रतियोगिताको सर्वोकृष्ट खेलाडी बनेकी थिइन्। यस्तै मेयर कप र नेपाली महिला क्रिकेट टिमबाट सहभागिता जनाउँदै खेल खेलेकी थिइन्।
चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७९’ मार्फत वर्ष २०७९ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो।
प्रतिक्रिया दिनुहोस !
