बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता वैशाख २२ देखि
काठमाडौं : ललितपुर–प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतिष्ठानले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै ललितपुर जिल्लाको महांकाल गाउँपालिकामा आयोजना हुने प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको जनाएको हो। प्रतियोगिता संयोजक डोल्मा माया गोलेले प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समितिहरू गठन गरिएको जानकारी दिए।
प्रतियोगिताको ललितपुर जिल्ला खेलकुद विकास समितिले सहआयोजक रहेको छ। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग रहेको छ। यसैगरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ। प्रतियोगितामा प्रदेशभरका ११९ पालिकामध्ये ५० पालिकाबाट सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको प्रतियोगिताको विजेतालाई ३ लाख, उपविजेतालाई २ तथा तृतीय हुने २ टिमलाई १/१ लाख रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट प्रशिक्षक तथा खेलाडी ५ जनालाई जनही ५० हजार रुपैयाँ पुरस्कार रहेको आयोजकको भनाइ छ।