अन्तिम ओभरमा दीपेन्द्रको आक्रामक ब्याटिङ, नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
काठमाडौं : नेपालले हङकङलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ। दीपेन्द्र सिंह ऐरीले अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेपछि नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनाएको हो। ऐरीले अन्तिम ओभरमा २० रन बनाए। २९ बल खेलेका ऐरी अविजित ४४ रन बनाए।
ऐरीबाहेक प्रमुख ब्याटरहरू भने चल्न सकेनन्। ओपनर कुशल भुर्तेल फेरि शून्यमा आउट हुँदा आशिफ शेख ५ रन बनाएर पेभेलियन फर्किए।
तेस्रो नम्बरमा आएका सोमपाल कामीले १२ रन बनाउँदा कप्तान रोहित पौडेले २१, सन्दीप जोराले २२, कुशल मल्लले १३, गुल्शन झाले ६ रन बनाएर आउट भए। सन्दीप र गुल्शन भने रनआउट भएका थिए।
नेपाल शुक्रबार युएईसँग ६ विकेटले पराजित भएको थियो। दोस्रोपटक एसिया कप खेल्ने नेपालको सपना चकनाचुर भएको थियो। तेस्रो प्लेसका लागि भइरहेको खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको थियो। तेस्रो हुने टोलीले इमर्जिङ एसिया कप खेल्नेछ।