नागरिकता ऐनमा ३ नयाँ व्यवस्था
२०७२ असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ।
विधेयकमा तीन वटा नयाँ व्यवस्था छ। पहिलो : जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने, दोस्रो : स्वघोषणापछि आमाको नाममा नागरिकता पाउने र तेस्रो : गैरआवासीय नेपालीले नागरिकता पाउने।
यो विधेयक प्रमाणीकरणसँगै जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने भएका छन्। अब २०७२ असोज ३ को संविधान जारी हुनु अगाडि जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानले वंशजको नागरिकता पाउनेछन्। अन्तरिम संविधानमा जन्मका आधारमा नागरिकता पाएकाहरूका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरिएको थियो। यो व्यवस्थाका कारण धेरै गैरनेपालीले नागरिकता लिन सफल भएका थिए।
२०७२ असोज ३ गतेभन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने उसको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ। स्वघोषणापछि आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्था पनि यो विधेयकमा छ। अब नेपाली आमाबाट नेपालमा जन्म भएर यहीं बसोबास गरेका, तर बाबुको पहिचान नभएका व्यक्तिले स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन्।
त्यस्तो नागरिकता लिन चाहने व्यक्तिले बुबा पहिचान हुन नसकेको स्वघोषणा गर्नु पर्नेछ। यद्यपि आमाको पनि मृत्यु भइसकेको वा होश ठेगानमा नरहेको अवस्था भए, त्यसको प्रमाणसहित स्वघोषणा गरेमा आमाको नामबाट नागरिकता पाउनेछन्। स्वघोषणाको ढाँचा गृह मन्त्रालयले तयार पार्नेछ। तर, स्वघोषणा गर्दा झुटो ठहरिए सजायको व्यवस्था गरिएको छ।
विधेयक प्रमाणीकरणले गैरआवासीय नेपालीलाई नागरिकता लिन बाटो खोलेको छ। उनीहरूले अब राजनीतिक र प्रशासनिक बाहेकका अधिकार प्रयोग गर्न पाउने गरी नागरिकता पाउनेछन्। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई अंगीकृत नागरिकता तत्काल पाउने व्यवस्था पनि यो विधेयकमा छ। दलहरूबीच यो विषयमा विगतमा विवाद थियो। यसमा ७ वर्षपछि मात्रै पाउने व्यवस्था गर्नु भन्दै तत्कालीन नेकपाले अडान राखेको थियो।
प्रधानमन्त्री दाहाल नै त्यो अडानमा थिए। तर, आज उनी र उनको पार्टी माओवादी केन्द्रले त्यो अडान छोडेका छन्। अहिले एमाले भने यो अडानमा देखिएको छ। प्रमाणीकरण भएको विधेयकले अंगीकृत नागरिकता लिन समयको सर्त राखेको छैन। अर्थात् नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवाह दर्तापछि अंगीकृत नागरिकता पाउने बाटो खुलेको छ। वंशज वा जन्मको आधारमा स्वयंले वा बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिकता लिएपछि विदेशी मुलुकको नागरिकता लिएको गैरआवासीयले यस्तो व्यवस्थाबमोजिम नागरिकता पाउनेछन्।
०००