चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा
सुन्नुहोस्

बागलुङ : आजदेखि नवरात्र सुरु भएको छ। चैतेदशैं समेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ। 

आश्विन शुक्ल पक्षमा पर्ने दशैं अर्थात् बडादशैं जति भव्य रुपमा नमनाइए पनि चैतेदशैंमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ। 

असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ। 

चैतेदशैंका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरू मन्दिरमा पुग्ने गर्छन्। 

गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। 

नवरात्रको अघिल्लो दिन मंगलबार मन्दिर परिसर सरसफाइ गरिएको छ। परिसरमा रहेका सत्तल, मठ र अन्य ससाना मन्दिरहरूसमेत चिटिक्क पारिएको छ। 

नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने खड्काले बताए। सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने उनले जानकारी दिए। 

चैतेदशैंका सन्दर्भ पारेर गुठीले मेलाको समेत आयोजना गरेको छ। मेला चैतको १३ गतेदेखि सुरु हुनेछ। मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्र्याउने लक्ष्य गुठीको छ। 

विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो। बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकलाका सामग्री, भेडाको ऊनबाट निर्मित राडी–पाखी घुमलगायतका वस्तुहरूमा मेलामा राखिन्थ्यो।

तराईबाट मसलालगायत अन्य वस्तुहरू ल्याएर सामग्रीहरू एकापसमा साटासाट गरेर मेलामा आफूलाई आवश्यक पर्ने वस्तुको जोहो गर्ने चलन थियो। लामो समयदेखि स्वतःस्फुर्त रुपमा चैतेदशैंको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ। 

चैतेदशैं मेला बागलुङको मुख्य पहिचान र अवसर पनि हो। यो बेला बागलुङ कालिका मन्दिरमा पूजाआजा गर्नका लागि देश विदेशबाट श्रद्धालु भक्तजन आउने गर्छन्। 

कोरोना महामारीका कारण बितेका केही वर्ष हुन नसकेको मेला यसपटक भव्य रुपमा सञ्चालन गर्न लागिएको खड्का बताउनुहुन्छ। मेलाको अवसरमा राष्ट्रिय लोकदोहोरी, कालिका कप खुला पुरुष भलिबल, राष्ट्रिय लोक भजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ। 

मेलामा घरेलु तथा हस्तकलाका सामग्रीसँगै फेन्सी तथा होटल रेष्टुराँका कक्षहरू पनि राखिनेछन्। बागलुङ कालिका मन्दिर अहिले बागलुङको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। 

बागलुङ कालिका मन्दिर, लामो झोलुंगे पुल, पञ्चकोट र शालिग्राम सङ्ग्रहालयलाई प्याकेजका रुपमा अगाडि बढाउन सके यहाँको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण हुने पर्यटन व्यवसायीहरू बताउँछन्। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.