जलवायु अशान्ति

जलवायु अशान्ति

मानव इतिहासमा राष्ट्र वा राज्य इकाइको अवधारणा जति प्राचीन छ, त्यति नै राज्यहरूबीच द्वन्द्वको इतिहास छ। लगभग सबैजसो महत्त्वपूर्ण सभ्यता र संस्कृतिका कथाहरू वा दन्त्यकथाहरूमा राज्य–राज्यबीचको युद्धलाई महिमापूर्ण ढंगले व्याख्या गरिएको पाइन्छ। पश्चिमी सभ्यताको जग मानिएको प्राचीन ग्रिसको संस्कृति र मूल्यहरू जीवित रहन र फस्टाउन सक्षम हुनुमा निर्विवाद रूपमा युद्धहरूको विशेष भूमिका रह्यो। म्याराथनको युद्ध जितेको समाचार सन्देशवाहकले एथेन्ससम्म दौडेर पुर्‍याएकाले लामो दूरीको दौडलाई म्याराथन भन्ने प्रचलन सुरु भएको मानिन्छ।

युद्धको इतिहास नबुझी मानव सभ्यताको इतिहासलाई बुझ्न सकिन्न पनि भनिन्छ। युद्ध छेडेर आफ्नो प्रभुत्व फैलाउने र भूगोल कब्जा गर्दै राजनीतिक वर्चस्व कायम राख्ने असंख्य घटनाहरूले प्राचीन सभ्यतालाई आकार दियो। साम्राज्यहरूको निर्माणमा अहम् भूमिका खेलेका युद्धहरू अन्ततः साम्राज्यहरूको पतनका कारण भएका छन्। यद्यपि, प्रागैतिहासिक ढुंगेयुगदेखि आजपर्यन्त मानव जाति कुनै न कुनै र कतै न कतै युद्धमा संलग्न छ। तर के युद्धबिनाको संसार सम्भव छ त ?

मानव–यात्रामा आफ्नै अहंकार

युद्धमा विजय हासिल गर्नुभन्दा महत्त्वपूर्ण शान्तिको व्यवस्थापन हुन्छ भनिन्छ। प्राचीन ग्रिसका प्रसिद्ध दार्शनिक अरस्तुको यो कालजयी भनाइ युद्धपश्चात् शान्तिको आकांक्षा राख्ने प्रत्येक समाजमा उत्तिकै सान्दर्भिक छ। विश्व इतिहास आफैं प्रायः सबै कालखण्डमा मानव जातिले बेहोरेको युद्धहरूको साक्षी छ। पश्चिमी दर्शनका प्रणेता सुकरात र अरस्तु जन्माएको र मानवतालाई लोकतन्त्रको विचार दिएको ग्रिक सभ्यता आफैं आन्तरिक द्वन्द्व र राज्य–राज्यबीचको युद्धहरूका कारण अन्ततः पतन भयो। लोककल्याणकारी राज्यको अवधारणा र सार्वजनिक विषयहरूमा जनतालाई सुसूचित गर्ने परम्पराको प्रवर्तक रोम साम्राज्य आफैं उत्कट सैन्य महत्त्वाकांक्षा र युद्धहरूका कारण अन्त्य भयो।

संसारका करिब सबैजसो धार्मिक परम्पराले शान्तिपूर्ण सहअस्तित्वलाई जोड दिँदै युद्ध, हिंसा र आक्रामकताको निन्दा त गर्छन्। मान्छे स्वभावैले शक्ति सञ्चय गर्न र प्रभाव विस्तार गर्न चाहने हुनाले महत्त्वाकांक्षाकै कारण युद्धमा होमिन चाहने विचारका आधारमा युद्ध र द्वन्द्वको औचित्य प्रमाणित गर्न चाहन्छ। उसो त, पूर्वीय संस्कृति, साहित्य, कला, धर्म, राजनीतिक व्यवस्था, नैतिक मूल्यमान्यता, कानुन, दर्शन आदि बहुआयाममा गहिरो प्रभाव राख्ने रामायण र महाभारत युद्धकै कथामा आधारित महाकाव्य भइहाले। प्राचीनकालदेखि युरोपेली ज्ञानोदय हुँदै विज्ञान र तर्कको युगसम्म आइपुगेको मानव–यात्रा आफ्नै अहंकारका कारण हिरोसिमा र नागासाकीको नरसंहारमा टुंगियो। युद्धहरूले निम्त्याउने हिंसा–प्रतिहिंसाको दुष्चक्र, अन्तहीन पीडा र विध्वंसका बारेमा जान्दाजान्दै पनि सभ्य कहलिएको मानव–जाति किन युद्धमा होमिन चाहन्छ त ?

गान्धी र बुद्ध प्रकृतिप्रेमी

बेलायती उपनिवेशविरुद्ध भारतमा अहिंसात्मक आन्दोलनलाई सफलतापूर्वक प्रयोग गरेका महात्मा गान्धीको एउटा उद्धरण यहाँ सान्दर्भिक ठानेको छु। ‘पृथ्वीमा रहेका सबैको आवश्यकता पूरा गर्न यस धर्तीमा पर्याप्त स्रोत छ तर सबैको लोभ तृप्त गर्न छैन।’ दोस्रो विश्वयुद्धताकाको गान्धीको यो कथन यतामात्रै स्रोतमा हालिमुहाली र आफ्नो वर्चस्व बिस्तार गर्न शक्तिराष्ट्रहरू दर्जनौंपटक युद्धमा होमिएका छन्। अस्पष्ट र गुप्त कार्यसूची लिएर लोक रिझाउने यद्यपि प्राकृतिक स्रोतमाथि नियन्त्रण गर्ने अभिप्रायले शक्ति राष्ट्रहरूले कमजोर राष्ट्रहरूमाथि आक्रमण गरिरहे र गर्दैछन्। आधुनिक जीवनशैलीका मागहरू पूर्ति गर्ने क्रममा सीमित हुँदै गएका स्रोत र साधनमाथि बलियाहरूको यही प्रवृत्तिप्रति गान्धीले इंगित गरेका हुन्। जुन जलवायु संकटको बढ्दो चिन्ताजनक समयमा अझै सान्दर्भिक हुँदै गएको पाइन्छ। औपनिवेशिक शक्तिहरूले कमजोर मुलुकको स्रोत र साधनमाथिको दोहनलाई नजिकबाट नियालेका गान्धीले पृथ्वीको सीमित संशाधनलाई हिंसात्मक द्वन्द्वको जडका रूपमा व्याख्या गरेका छन्।

गान्धीले २५ सय वर्षअघि बुद्धले जस्तै प्राकृतिक संशाधनमाथि मान्छेको लेनदेनका विषयमा न्यायसंगत दृष्टिकोण राख्थे। गान्धी उपनिवेशका आलोचक मात्र थिएनन्, आफ्नो समयका पर्यावरण अभियन्ता पनि थिए। युवा उमेरमा गान्धीमा अमेरिकी कवि र पर्यावरण अभियन्ता हेनरी डेभिड थोरोको गहिरो प्रभावले उनमा पर्यावरणलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्यायो। शक्तिको रजगजमा रमाइरहेकाहरूको सधैंं तारो बनेका विद्रोही स्वभावका थोरो जीवनको अधिकांश समय प्रकृति नजिकै बिताए। पूर्वीय आध्यात्मिक परम्परा र बुद्धप्रति आकर्षित थोरो भद्र–अवज्ञा विचारका प्रणेता हुन्। थोरो र उनको पर्यावरण अभियानबारे अमेरिकाको पाठ्यक्रमहरूमा अनिवार्य पढाइन्छ।

रोहिणीको पानी र मध्यस्थकर्ता बुद्ध

बौद्ध धर्मग्रन्थहरूमा लेखिएअनुसार रोहिणी नदी बौद्ध परम्परामा पवित्र र श्रद्धा गरिने नदीमध्येको एक हो। बुद्धका समयमा शाक्यहरूको राज्य कपिलवस्तु र कोलियाहरूको राज्यलाई यही रोहिणी नदीले छुट्ट्याएको थियो। कपिलवस्तु र कोलिया दुवै राज्यले रोहिणी नदीको पानी उपयोग गरेर सिँचाइ र खेती गर्थे। लामो खडेरीका कारण कुनै वर्ष रोहिणी नदीमा पानीको अभावले संकट आई परेपछी खोलानजिकै निर्माण गरिएको बाँधको पानी बाँडफाँटलाई लिएर दुई राज्यबीच विवाद सुरु भयो। विवाद चर्किंदै गएपछि कपिलवस्तु र कोलिया राज्य रोहिणीको पानीका लागि युद्धको तयारीमा पुगे।

रोहिणी विवादमा कपिलवस्तु अधिराज्यका शक्तिशाली राजकुमार सिद्धार्थ गौतमले युद्धको साटो रोहिणी नदीको पानीलाई दुवै पक्ष राजी हुने गरी मध्यस्थकर्ताको भूमिका खेले। राजकुमार सिद्धार्थले रक्तपातपूर्ण युद्धले केवल पीडा मात्रै निम्त्याउने हुँदा कपिलवस्तु र कोलियालाई अहिंसात्मक मार्ग पहिल्याइदिए। सिद्धार्थको त्यो अद्भुत द्वन्द्व–व्यवस्थापन शैलीले उनीमा बुद्धत्व प्राप्त गर्न सहज भएको मानिन्छ। सीमित प्राकृतिक स्रोतको न्यायोचित मध्यमार्गी बाटो थियो, रोहिणीको घटना।

कालिङको युद्ध र रक्त–पिपासु सम्राट्को अहिंसावादी यात्रा

ऐतिहासिक तथ्यहरूका आधारमा युद्धका कारण कुनै एक व्यक्तिको हृदय परिवर्तनले मानव सभ्यताले नै नयाँ मार्ग पहिल्याएको उदाहरण कालिङको युद्ध नै हुनुपर्छ। प्राचीन भारतको इतिहासमा सबैभन्दा रक्तपातपूर्ण युद्ध सम्राट् अशोकका पालामा उनको अधिनमा रहेको मौर्य साम्राज्य र कालिङ राज्यबीचको भएको मानिन्छ। भारतको मौर्य वंशका अन्तिम ऐतिहासिक सम्राट् अशोक भारतीय उपमहाद्विपका शक्तिशाली शासकमध्येका एक थिए। स्रोतले भरिपूर्ण दक्षिणपूर्वी एसियासँगको व्यापारिक मार्गहरू नियन्त्रण गर्ने कालिङ राज्यको स्रोतमाथि नियन्त्रण गर्न सम्राट अशोकले आफ्नो विशाल सेना युद्ध छेडे। सम्राट् अशोकको अर्जुनदृष्टि कालिङको सैन्यशक्ति र भौतिक समृद्धिमा थियो र उनी मौर्य साम्राज्यलाई फैलाउन चाहन्थे।

सम्राट् अशोकको विस्तारवादी नीति र कालिङको स्रोतपूर्ण र रणनीतिक अवस्थिति माथिको धावाले लाखौंंको ज्यान लिएको थियो भने थप लाखौंं अंगभंग भएका थिए। स्रोत र प्रभाव विस्तारको अभिप्रायले लडिएको कालिङको युद्धले जन्मिएको पीडाले विचलित सम्राट् अशोकमा पारेको प्रभावले अन्तत्वोगत्वा उनलाई आफ्नो तरबार त्याग्न र अहिंसा र धर्मको मार्ग अनुसरण गर्ने मार्गमा पुर्‍यायो। कालिङको युद्धमा विजय प्राप्त गरेका शक्तिशाली सम्राट् अशोकले अन्ततः बौद्ध धर्म अँगाले। आफ्ना प्रजाहरूलाई मात्र मानवीय व्यवहार गरेनन् कि जनावरहरूलाई समेत करुणा दर्शाए। बुद्धको सन्देशलाई पुनर्जागरण गरी संसारभर विस्तार गर्ने काम पनि उनै सम्राट्ले गरे।

‘वाटर वार’को भय र जित्न सकिने युद्ध

बुद्धकालीन समयमा रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्य र कोलिया अधिराज्यबीचको झन्डै रक्तपातपूर्ण युद्धमा अघि बढेको द्वन्द्वबाट हामी बाँचिरहेको समयलाई नियालौं। जैविक संरचनाको अत्यन्त महत्त्वपूर्ण पक्ष पानी र यसको अभावले निकट भविष्यमा निम्त्याउने गम्भीर समस्याहरूबारे वैज्ञानिकले चेतावनी दिँदै आएका छन्। जलवायु संकटले निम्त्याउने विश्वव्यापी खतरामध्येको एक पानीको नियन्त्रण माथिको द्वन्द्व र अशान्तिले निकट भविष्यमै विनाशकारी परिणामहरू ल्याउने निश्चित छ भनेर स्रोतविद्हरूले भनेका छन्। विभिन्न मुलुकमा बाँध विवाददेखि अनिकाल र खडेरीले पानीको स्रोतमाथि नियन्त्रणले जलवायु संकटलाई तीव्रता दिने निश्चित प्रायः छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.