मलिन बस्तीका वास्तुकार

मलिन बस्तीका वास्तुकार

हितोपदेशमा छ, वानर यसै पनि चपल जीव। त्यसमाथि ऊ मदिरापान गरेर उन्मत्त भयो। फेरि नशाको बीचमै उसलाई बिच्छीले डस्यो। त्यतिले नपुगेर विक्षिप्त वानरको दिमागमा भूत सवार भयो। कुनै देशको राजनीतिक पद्धति संयोगवश त्यस्तै मदोन्मोत्त मनुष्यहरूको क्रीडास्थल बन्न पुग्यो भने के होला ? फेरि त्यो ‘बन्दरबाँट’ले नपुगेर अपवित्र गठबन्धनको उपहार प्राप्त भयो भने के होला ? यी जिज्ञासा सुनेर कसैले उत्तर दियो, ‘रुन्चेहरूको जुलुसजस्तै हुनेछ जनजीवन।’

नेपाल राष्ट्र नै आज आत्मघाती गोल हानिरहेका खेलाडीहरूबाट हैरान र लखतरान छ। यहाँ निरन्तर असफल राजनीति गरेर जीर्ण भएका लोकतन्त्रवादी चौथो अंगका सामुन्ने आएर निर्धक्क बोल्छन्, ‘म जति बाँच्छु, समाजसेवा गरेरै बाँच्छु। एकपटक प्रधानमन्त्री बनेर देश र जनताको सेवा गर्ने इच्छा छ।’ कुनै भक्तले द्रवीभूत हुँदै प्रशंसामा भन्यो रे, ‘आफ्नै शरीर धान्ने तागत छैन। मुखबाट ¥याल चुहिरहेको छ। स्मरणशक्ति क्षीण छ। दिल र दिमाग जीर्ण र बबुरो छ। तैपनि नेपाल राष्ट्रप्रति कत्रो माया ! कति अविस्मरणीय उत्सर्ग ! कत्रो त्याग !’ इमानको सर्वथा अभाव रहेको त्यस अनुचित अभिलाषाले अर्को पुस्ताको भविष्य खोस्ने प्रयत्न गरेको छ। परन्तु दोषी उनी होइनन्। दोषी हामी हौं। हामीलाई यस्तै प्रवृत्ति मन पर्छ।’

हिन्दी भाषाका प्रसिद्ध नाटककार भारतेन्दु हरिश्चन्द्रले ‘अन्धेर नगरी’ शीर्षकको नाटकमा अविवेकी शासनबारे सजीव वर्णन गरेका छन्। कथाले भन्छ– एकजना महन्तले आफ्ना दुई शिष्य गोवद्र्धनदास र नारायणदासलाई भिक्षा माग्न भनी बजारतिर पठाउँछन्। बजारमा जुनसुकै सामानको भाउ एउटै देखेर चेलो गोवद्र्धनदास बडो आनन्दित हुन्छन्। उनी सात पैसामा अढाई सेर मिठाई किनेर गुरुसमक्ष हाजिर हुन्छन्। महन्त बजारमा गुणी र अवगुणीको एउटै मूल्य प्रचलित भएको थाहा पाएर दुःखी हुन्छन्। उनले ‘यस्तो सहरमा बस्नु उचित छैन’ भन्दै दुवै शिष्यलाई सहर छाडेर जाने आदेश दिन्छन्। नारायणदास गुरुको आदेश पालना गर्दै सहर छाडेर जान्छन्। गोवद्र्धन भने सस्तो मिठाईको लोभले गर्दा सहर छाडेर जान सक्दैन। ननी बडो उत्फुल्ल हुँदै गुरुकहाँ गएर गीत गाउँछन्, ‘अन्धेर नगरी चौपट राजा टकासेर भाजी टकासेर खाजा।’

एकदिन सहरमा कसैको पर्खाल भत्कँदा एउटा बाख्री च्यापिएर मर्छ। बाख्री मरेको मुद्दामा चौपट राजाको इजलासमा सुनुवाइ सुरु हुन्छ। मदिराको नशामा मस्त राजाले बनियाँ, डकर्मी, चुनावाला, भिस्ती, कसाई र गडरिया हुँदै अन्तिममा सारा दोष कोतवालमाथि थोपरिदिन्छ। राजाको आदेशअनुसार कोतवाललाई फाँसीमा झुन्ड्याउने प्रक्रिया सुरु हुन्छ। तर, मरन्च्यासे कोतवालको मसिनो घाँटीमा फाँसीको फन्दा फिट हुँदैन। कोतवालले सफाइ पाउँछन्। राजाले आदेश दिन्छन्, ‘जाओ जो मोटो भेटिन्छ, त्यसैलाई ल्याएर झुन्ड्याओ।’ सिपाहीले सस्तो मिठाई खाएर मोटो भएको गोवद्र्धनदासलाई समातेर ल्याउँछन्। बबुरो गोवद्र्धन ‘गुरुजी गुहार !’ भन्दै चिच्याउन थाल्छन्। गुरु आएर चेलाको कानमा केही भन्छन्। फेरि गुरु सबैले सुन्नेगरी भन्छन्, ‘बाख्री मरेकोमा मेरो दोष छ महाराज ! मलाई झुन्ड्याउनुहोस् !’ उता चेलो गोवद्र्धन ‘मेरो दोष छ, मै झुन्डिने हो’ भनेर कराइरहेको हुन्छन्।

गुरु र चेलाबीचको मर्न प्रतिस्पर्धा देखेर मन्त्री कारण जान्न उत्सुक हुन्छन्। महन्त मन्त्रीको कानमा केही फुक्छन्। गुरुमन्त्र सुनेपछि मन्त्री कराउँछन्, ‘बाख्री च्यापिएर मर्नुमा मेरो दोष छ। मलाई फाँसी दिनुहोस् महाराज !’ मदहोस राजाले महन्तलाई नजिकै बोलाएर सोध्छन्, ‘कुरो के हो ?’ गुरुले राजाको कानमा मुख जोडेर भन्छन्, ‘आजको शुभमुहूर्तमा जो फाँसीमा झुन्डिन्छ, उसले जिउँदै स्वर्ग पुगेर मोजमज्जा गर्न पाउँछ।’ राजा जुरुक्क उठेर हुकुम दिन्छन्, ‘बाख्री मरेको मुद्दामा मलाई झुन्ड्याओ !’ चौपट राजाको ‘लास्ट इनिङ’ हाँसोलाग्दो मात्र नभई राष्ट्र र प्रजाका लागि सुखद थियो। यद्यपि त्यसले छाडेर गएको अराजकताको खाडल पुर्न सजिलो थिएन।

मलिन बस्तीमा असल र खराबको भेद हुँदैन। पढाइ लेखाइको झन्झट र चटारो गर्नु पर्दैन। गरिखान लायकहरू नेहोरा गर्दैनन्, बरु बस्ती छाडेर अन्यत्र पलायन हुन्छन्। वास्तुकारहरू त्यो पलायन देखेर मक्ख पर्छन्। नैतिकतालाई तिलाञ्जली दिएर स्थापना भएको सत्ता पापको कमाइसरह हो। त्यस्तो सम्झौता गर्नेहरू लोकतन्त्रका बेरुजु हुन्। पद्धति बिगार्ने अभियुक्तहरूलाई आपसमा साटेर चोख्याउने नायकहरू लोकतन्त्रका बेरुजु हुन्। ऐन मौकामा उचित अडान लिन नसक्ने काँतर प्रशासकहरूको प्रतिभा लोकतन्त्रको बेरुजु हो। झर्ला कि भन्ने आशाले नेहोरा गर्ने प्रशासकहरू मलिन बस्तीका सहवास्तुकार हुन्। आफूलाई लोकतन्त्रको महायोद्धा ठान्ने व्यक्ति राजनीतिक भविष्यको खोजीमा ज्योतिषीकहाँ धाउनु लोकतन्त्रको लज्जास्पद बेरुजु हो। आफूले फुट्टी केही गर्न नसक्ने, किन्तु बुढाहरूलाई निन्दा गरेर समय बिताउने युवाहरू लोकतन्त्रका बेरुजु हुन्। हामी बेरुजु नै बेरुजुले भरिभराउ मलिन बस्तीका बासिन्दा हौं। परन्तु यी सारा बेरुजुहरू अर्को बेरुजु निस्कने बित्तिकै स्वतः फस्र्योट हुन्छन्।

हिन्दू धर्ममा अनियमित काम गरेको बेरुजु प्रायश्चित्त गरेर फस्र्योट हुन्छ। क्रिश्चियन धर्ममा आफूले गरेको पापलाई स्वीकार अर्थात् ‘कन्फेसन’ गरे बेरुजु फस्र्योट हुन्छ। इस्लाममा भविष्यमा गल्ती गर्ने छैन भनेर ‘तोबा’ गर्नुपर्छ। जापानमा त समुराई योद्धाहरूले आफ्नो बहादुरीको बेरुजु निस्केमा ‘हाराकिरी’ नै गर्थे। कतिपय देशमा असफल हुन गएका व्यक्तिले जनतासँग क्षमा माग्दै राजनीति छाडेर बेरुजु फस्र्योट गर्ने चलन छ। तर, मलिन बस्तीमा त्यस्तो केही पनि गर्नु पर्दैन। सिमानाको बेरुजुलाई नागरिकताको बेरुजुले फस्र्योट गरिदिन्छ। नालायकीको बेरुजुलाई नाकाबन्दीले फस्र्योट गरिदिन्छ। नागरिकताको बेरुजुलाई फुटेजको बेरुजुले खाइदिन्छ। फुटेजको बेरुजुलाई पुनः प्रवेशले फस्र्योट गरिदिन्छ। कोरोनाको बेरुजुलाई बाढी पहिरोको बेरुजुले बेमाख गरिदिन्छ। हामी महालेखा परीक्षकजस्तो बेरुजुको ‘अल्या’ गरेर बस्दैनौं। हामी मलिन बस्तीका उदार सम्परीक्षक हौं।

मेकियावेलीले परिकल्पना गरेको शासक ‘निडर, निर्लज्ज, जिद्दी र कपटी हुन्छ। शासकले सत्य बोलेको अभिनय गर्न जाने पुग्छ, सत्य बोलिरहनु पर्दैन। सदाचारको नाटक गरे पुग्छ, सदाचारी हुनु पर्दैन। उसले नैतिक र अनैतिक कुराको विचार गर्नु आवश्यक छैन। आफ्नो शक्ति र सत्ता रक्षाका लागि जस्तोसुकै कदम चाल्नु शासकको बहादुरी हो।’ मेकियावेली प्रश्न गर्छन्, ‘जति नै प्रयत्न गरे तापनि परिवर्तन नहुने भएपछि किन आदर्शका कुरा गर्ने ? किन यथार्थलाई स्वीकार नगर्ने ?’ हामी पनि अपेक्षा नैतिक आदर्शवादको गर्दछौं र व्यवहार चाहिँ अनैतिक यथार्थवादको। मलिन बस्तीका वास्तुकारहरू हाम्रो मुटु छामेरै अघि बढिरहेका छन्। केन्द्रीय बस्तीका दाजु र दिदीहरूले अनेक वितण्डा गरेको देखेका स्थानीय तहका भाइले धर्मपत्नीलाई भान्से पदमा नियुक्ति गर्नु मलिन बस्तीको यथार्थवाद हो। अन्धेर नगरीको चौपट राजालाई न लाज न सरम। त्यो बेसर्मीका लागि अरू कोही नभई हामी आफैं जिम्मेवार छौं। हामीलाई मलिनता नै रमणीय लाग्छ।

नेपाली राजनीतिक खेल मैदानका एकजना अविरल खेलाडीको उद्गारबारे खबर आयो। ‘उहाँले आगामी निर्वाचनपश्चात् देशको नेतृत्व गर्ने र त्यो आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आफ्नो ‘लास्ट इनिङ’मा पछिसम्म सम्झने गरी देशलाई केही चिज दिने सपना बुनेको बताउनुभयो।’ देश र जनताको हितका खातिर वर्षौंदेखि ‘परिश्रम’ गर्दै आएका महामनाबाट अभिव्यक्त त्यो करुणामय वचन सुनेर समग्र मलिन बस्ती धन्य भएको छ। अझै पनि उनको गरिमामय उपस्थितिको अनुग्रह प्राप्त भइरहने भयो भनेर उहाँका आज्ञाकारी अनुचरहरू हर्षले गद्गद् छौं।

व्यतीत गौरवका धनी अझै अर्का ‘त्यागी’ महानुभवले भनेछन्, ‘मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो तर अस्वीकार गरिदिएँ।’ कत्रो त्याग ! कत्रो उत्सर्ग ! फेरि उनले घोषणा गरे, ‘फलानालाई मैले प्रधानमन्त्री बनाएको हुँ।’ उनको पछिल्लो भनाइमा अटल सत्यता छ। उनीहरू आपसमा जति नै निन्दा र उपहास गरे तापनि एउटा कुरामा सर्वसम्मत छन्। पालैपालो प्रधानमन्त्री बन्ने कुरामा उनीहरूको अघोषित एकता छ। उनीहरू मलिन बस्तीका फलेका हाँगाहरू हुन्। टिप्न जान्नेका लागि कल्पतरु।

मलिन बस्तीका वास्तुकारहरू प्रशंसाको भाषा मात्र बुझ्छन्। उनीहरू आलोचनालाई बैरीको फत्तुर मानेर किनारा लगाइदिन्छन्। हामी मलिन बस्तीका बासिन्दा उनीहरूप्रति मोहित छौं। उनीहरूको प्रत्येक प्रपञ्च हामीलाई आकर्षक लाग्छन्। एउटा संस्कृत लोकोक्ति भन्छ, ‘न मूर्ख जन संसगति सुरेन्द्रभवनेश्वपि’, अर्थात् स्वर्ग नै किन नहोस्, मूर्खहरूको संगतिमा बस्नु उचित होइन। परन्तु हाम्रा लागि त मलिन बस्ती नै स्वर्ग हो। वास्तवमा यो मायामय इन्द्रजाल बुझिनसक्नु छ। यी खेलाडीहरू दर्शकको आँखा छल्न मात्र माहिर छैनन्। यिनीहरूले अनेकौं कौतुक र चटक देखाएर दिल र दिमागलाई समेत मज्जाले भ्रमित पारिरहेका छन्। निर्वाचन नजिकै छ। परन्तु मुख्य दलका अनुयायी युवामा हस्तक्षेपकारी क्षमताको अभाव छ। मैदानमा प्रवेश गर्न उत्सुक नयाँ खेलाडीहरू पनि ओजस्वी देखिएका छैनन्। मलिन बस्तीका गठबन्धनकारी वास्तुकारहरूले सत्ताको डबलीमा गाडेको लिंगो उखेल्न सहज देखिँदैन। फेरि पनि यही मायाजाल पूर्ववत् रहिरहने लक्षण छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.