चार्ली च्याप्लिनको ‘तानाशाह’  !

चार्ली च्याप्लिनको ‘तानाशाह’  !

मौन चलचित्रहरूको बढ्दो आकर्षण अनि सर्वव्यापी पहुँचबीच सिनेमाका पर्दाहरूमा चार्ली च्याप्लिनको उदय भयो। च्याप्लिनले त्यही नै समय उनको सबैभन्दा प्रसिद्ध क्यारेक्टर ‘ट्र्याम्प’ को सिर्जना गरेका थिए।

मनोरञ्जनको क्षेत्रमा २०औं शताब्दीको सुरुका दशक मौन चलचित्रहरूले विश्वव्यापी लोकप्रियता हासिल गरिरहेको समय थियो। सिनेमाको इतिहासमा यो समयलाई ‘सिल्भर स्क्रिनको युग’ पनि भनिन्छ। मौन चलचित्रहरूले त्यो समय मनोरञ्जन र प्रविधिलाई मिश्रण गरी सिनेमालाई सर्वव्यापी बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। १९औं शताब्दीको अन्त्यतिर उदाएको यस्ता चलचित्रको युग २०औं शताब्दीको मध्यसम्म चल्यो। जुन चलचित्रको एउटा नवीन र लोकप्रिय मनोरञ्जनको साधनका रूपमा विकसित भइरहेको थियो।

२० औं शताब्दीको पूर्वाद्र्धमा युरोप र अमेरिकाका विकसित समाजहरूमा मौन चलचित्र सस्तो भएका कारण आमसाधारण समेतको पहुँचमा थियो। अमेरिकामा पनि यही समयमा युरोपका विभिन्न ठाउँबाट आउने लाखौं आप्रवासीका लागि भाषा अवरोधलाई चिर्दै मौन चलचित्र लोकप्रिय भएको थियो। ठीक त्यही समय बेलायतमा अभिनेता चाल्र्स स्पेन्सर च्याप्लिन जुनियरको उदय भएको थियो। चार्ली च्याप्लिनका नामले विश्व ख्याति कमाएका चार्ली हास्य अभिनेता हुन्। यसका अलावा उनी फिल्म निर्माता र संगीतकार पनि थिए। मौन सिनेमा युगका विश्वव्यापी आइकन च्याप्लिनले आफ्नो कला र प्रतिभामार्फत फिल्म उद्योगलाई नै यस्तो उचाइमा पुर्‍याइदिए। जसलाई त्यो समय मनोरञ्जनको क्षेत्रमा र कलाको अन्य कुनै पनि विधामा कसैले पुर्‍याउन सकेन।

२० औं शताब्दीमा अरू असंख्य सिनेमा निर्माताले चलचित्र संस्कृतिको विकासमा योगदान दिए। तर, चार्ली च्याप्लिनको जस्तो त्यो बेलाका सर्वसाधारणको दैनिकी र संघर्षलाई जोडेर युरोपका ‘आम जनता’ को मनमस्तिष्क जित्न सक्ने अरू कोही निस्किएनन्। सन् १९३० को दशकमा युरोप र अमेरिकाले बेहोरेको चरम आर्थिक मन्दीले जर्जर अवस्थालाई सिर्जना गर्‍यो। जसलाई पात्रहरूमार्फत सामाजिक मुद्दाका रूपमा चित्रित गरी सिनेमामा रूपान्तरण गर्न सक्षम च्याप्लिनको लोकप्रियता झनै चुलियो।

संघर्षपूर्ण बाल्यकाल

१८८९ अप्रिल १६ मा जन्मिएका च्याप्लिन १० वर्षको कलिलो उमेरदेखि नै अभिनयमा जोडिए। अद्भुत कमेडी कला र सिर्जनामार्फत दुनियाँलाई हँसाउन सफल च्याप्लिनको बाल्यकाल गरिबी र संघर्षपूर्ण अध्यायहरूको लामो फेहरिस्त थियो। बेलायतमा संगीतको क्षेत्रमा उदाउँदै गरेका च्याप्लिनका बुवाको अत्यधिक रक्सी सेवनका कारण अकस्मात मृत्यु भयो। चार्ली च्याप्लिनले आर्थिक रूपमा अप्रत्याशित कठिनाइहरू बेहोर्नु पर्‍यो। १४ वर्षको उमेरमा परेको यो वज्रपात आमा एक्लैले सामना गर्नुपर्‍यो। त्यसैले उनले मानसिक सन्तुलन गुमाइन्।

बुवाको अनुपस्थिति र मानसिक अस्पतालको शरणमा पुगेकी आमाको दुःखदायी पृष्ठभूमिमा च्याप्लिन र उनका भाइले लन्डन सहरको सडकहरूमा कष्टकर दैनिकी बिताउन बाध्य भए। बाल्यकालको अधिकांश समय अनाथालयमा बिताएका च्याप्लिनले सानै उमेरमा आफ्नो प्रतिभा पहिचान गरिसकेका थिए। संघर्षपूर्ण हुर्काइ र पारिवारिक अवस्थाका कारण सामान्य पढ्न र लेख्न सक्ने भए। त्यसपश्चात् औपचारिक विद्यालय शिक्षाबाट बिदा लिएका च्याप्लिन १८ वर्षमै बेलायतको लोकप्रिय कलाकारमध्येमा परिचित हुन थाले। जसपश्चात् उनलाई कहिल्यै पछाडि फर्कनु परेन।

लोकप्रियताको शिखर

मौन चलचित्रहरूको बढ्दो आकर्षण अनि सर्वव्यापी पहुँचबीच सिनेमाका पर्दाहरूमा चार्ली च्याप्लिनको उदय करिब एकै समय भयो। च्याप्लिनले त्यही नै समय उनको सबैभन्दा प्रसिद्ध क्यारेक्टर ‘ट्र्याम्प’ को सिर्जना गरेका थिए। मनमोहक ‘टुथब्रस’ जुँगा, कालो बलर टोपी, झोल्ले ब्यागी पाइन्ट, लचकदार छडीको साथमा मौलिक हिँड्ने शैली आदिले च्याप्लिनको ट्र्याम्पलाई दर्शकमाझ रातारात लोकप्रिय बनायो। चार्ली च्याप्लिनको नाम सुन्नासाथ हामी सबैको मस्तिष्कमा आउने पहिलो चित्र नै उनले सिर्जना गरेको ‘ट्र्याम्प’ हो।

बेलायतमा उदाएका च्याप्लिनले अमेरिकी सिनेमा उद्योगको केन्द्र हलिउडमा अद्वितीय प्रतिभा प्रस्तुत गरे। हास्य–मनोरञ्जनको क्षेत्रमा विश्वभर ख्याति कमाए। हलिउडमा हास्य अभिनेता र निर्देशकको रूपमा स्थापित च्याप्लिन मनोरञ्जनको क्षेत्रमा २०औं शताब्दीको सर्वाधिक चर्चित व्यक्तित्व थिएभन्दा अत्युक्ति हुँदैन। पश्चिमले भोगेको महामन्दी र हिटलरको उदयले निम्त्याएको पीडा, अभाव र बेरोजगारीको समस्या उनले आफ्नो हास्य कलाकारितामार्फत चित्रण गरिदिए। यस्तै सबैले सिर्जित दरिद्रता, युद्ध र हिंसाले थोपरेको एक्लोपनाजस्ता मानवीय अवस्थालाई पनि समेटे।

गान्धीसितको भेटपछि च्याप्लिनले सार्वजनिक रूपमै ब्रिटिस उपनिवेशविरुद्ध गान्धीको अहिंसात्मक आन्दोलनको समर्थन जनाए। यसरी जीवनपर्यन्त गान्धीप्रति श्रद्धा दर्शाए। लन्डनको त्यो प्रसिद्ध ठाउँलाई अहिले ‘गान्धी–च्याप्लिन मेमोरियल गार्डेन’को नामले चिनिन्छ।

सिर्जनाको बहुआयामिक क्षमता भएका च्याप्लिनले हलिउडमा मौन चलचित्रहरूमा अभिनय मात्र गरे। निर्देशक, पटकथा लेखक, निर्माता र संगीतज्ञका रूपमा समेत काम गरे। कलिलो उमेरमै अभाव र संघर्ष झेलेका च्याप्लिन ३० वर्षको उमेर नपुग्दै सन् १९१० को दशकमा हलिउडको ‘सुपर स्टार’ मात्र भएनन्। आर्थिक रूपमा पनि सबैभन्दा बढी पैसा आर्जन अभिनेतामध्ये एक थिए।

च्याप्लिनको लगनशीलता, प्रतिभा र असाधारण कलात्मक क्षमताका कारण उनका सिर्जना उदाहरणीय बने। उनले गरेको संघर्ष पनि साँचो अर्थमा प्रेरणादायी थियो। २०औं शताब्दीको सुरुआती दशकहरूको मौन चलचित्रदेखि सन् १९५० र ६० को दशकमा आफ्नो वर्चस्व जमाउँदै गरेको हलिउडसम्म उनले आफूलाई लोकप्रियताको शिखरमा उभ्याइरहे। सन् १९२१ मा निर्माण गरिएको ‘द किड’ ले अप्रत्याशित लोकप्रियता हासिल गर्‍यो।

त्यसपछि पनि उनले निर्माण गरेका चलचित्रहरू ‘सिटी लाइट्स’, ‘गोल्ड रस’, ‘सर्कस’, ‘लाइमलाइट’, ‘द पिल्ग्रिम’ले दर्शकको मन छोयो। च्याप्लिनलाई मनोरञ्जनको दुनियाँमा सर्वोच्च शिखरमा पुर्‍यायो। यीबाहेक उनले निर्माण गरेको राजनीतिक–सामाजिक सन्देश समेटेको ‘मोर्डन टाइम्स’ र ‘द ग्रेट डिक्टेटर’ २०औं शताब्दीमा निर्माण भए। जुन २१औं शताब्दीमा पनि सान्दर्भिक सिनेमामा पर्छन्। उनको ‘मोर्डन टाइम्स’ र ‘द ग्रेट डिक्टेटर’ को पृष्ठभूमि र प्रभावका बारेमा थप चर्चा पछि गर्नेछु।

च्याप्लिन–गान्धी भेट र ‘मोर्डन टाइम्स’

भारतमा ब्रिटिस उपनिवेशविरुद्ध अहिंसात्मक आन्दोलनको नेतृत्व गरे महात्मा गान्धीले। उनलाई अमेरिकाबाट प्रकाशित हुने विश्व प्रसिद्ध ‘टाइम’ पत्रिकाले सन् १९३० को ‘पर्सन अफ द इयर’ अर्थात् वर्ष व्यक्ति घोषणा गर्‍यो। उसो त ब्रिटिस साम्राज्यविरुद्ध गान्धीले प्रयोग गरिरहेको भद्र–अवज्ञा र असहयोग आन्दोलनहरूले त्यो बेला प्राप्त गरेको विश्वव्यापी समर्थन र ऐक्यबद्धता २०औं शताब्दीको महत्त्वपूर्ण घटनामध्ये एक थियो।

भारतलाई ब्रिटिस साम्राज्यबाट मुक्त गराउन गान्धीको अहिंसात्मक प्रयोगको भारत भित्र र बाहिरबाट सद्भाव प्राप्त भयो। त्यसकै कारण तत्कालीन बेलायती सरकारले सन् १९३१ मा गोलमेच सम्मेलनको आयोजना गर्‍यो। उक्त सम्मेलनमा सहभागी हुन लन्डन पुगेका गान्धीको त्यही समय मनोरञ्जनको संसारमा सबैभन्दा परिचित नाम च्याप्लिनसित भेट भयो। गान्धीसितको त्यो भेटका बारेमा च्याप्लिनले ‘आफूलाई गान्धी र उनको स्वतन्त्रता आन्दोलनका बारेमा जानकारी भयो। तर पनि गान्धीलाई आफ्नाबारेमा खासै थाहा नभएको प्रसंग आत्मकथामा उल्लेख गरेका छन्।

दुई नितान्त फरक पृष्ठभूमि र क्षेत्रबाट उदाएका अनि विश्वव्यापी ख्याति कमाएका गान्धी र च्याप्लिनको भेट भयो। त्यो भेटले च्याप्लिनलाई ब्रिटिस उपनिवेशले सिर्जना गरेको आततायी अवस्थाका बारेमा आँखा खोल्ने काम गर्‍यो। च्याप्लिन–गान्धीको त्यो भेटलाई कतिपय बेलायती पत्रिकाहरूले मुख्य समाचारका रूपमा स्थान दिएका थिए। गरिबी र अभावका कारण सानै उमेरमा अनगिन्ती ठक्कर खाए। लन्डन सहरका गल्लीहरूबाट उदाएका च्याप्लिन र भारतको स्वतन्त्रता आन्दोलनलाई दिशा–निर्देश गरी रहेका गान्धी दुई विपरीत ध्रुव थिए।

च्याप्लिनको विचारमा गान्धी आफूले जीवनमै भेटेकामध्ये सबैभन्दा ‘मनोरञ्जक’ व्यक्ति थिए। आफ्नो समयमा सिनेमाको पर्दाहरूमा हास्य अभिनेताका रूपमा प्रभुत्व जमाएका च्याप्लिनको गान्धीप्रतिको धारणा ‘मनोरञ्जक’मा सीमित थिएन। आधुनिक जीवनशैलीका कारण मानवजाति ‘यान्त्रिकीकरण’तर्फ उन्मुख भइरहेको थियो। सोही यथार्थप्रतिको गान्धीको अवधारणाले च्याप्लिन प्रभावित भएका थिए। च्याप्लिनले आत्मकथामा गान्धीसँगको भेटले उनलाई आधुनिकताले मान्छेलाई मेसिनमा रूपान्तरण गरेको थियो। यसको अमानवीय प्रभावका बारेमा चलचित्र बनाउन प्रेरित गरेको कुरा स्वीकार गरेका छन्।

गान्धीसित भेटको ठीक पाँच वर्षपछि च्याप्लिनले ‘मोर्डन टाइम्स’ सिनेमा निर्माण गरे। आधुनिकताले मान्छेलाई संवेदनहीन यन्त्रमा परिणत गरेको मान्यता गान्धी राख्थे। गान्धीको यही विचारलाई च्याप्लिनले पर्दामा उतारेका थिए, ‘मोर्डन टाइम्स’ मा। आधुनिक समयमा मान्छे र मेसिनबीचको सम्बन्धका बारेमा गान्धी दर्शनबाट प्रभावित थिए च्याप्लिन। उनले निर्माण गरेको ‘मोर्डन टाइम्स’ चलचित्रको इतिहासमै लोकप्रिय र महत्त्वपूर्ण कार्यमा गनिन्छ।

गान्धीसितको भेटपछि च्याप्लिनले सार्वजनिक रूपमै ब्रिटिस उपनिवेशविरुद्ध गान्धीको अहिंसात्मक आन्दोलनको समर्थन जनाए। यसरी जीवनपर्यन्त गान्धीप्रति श्रद्धा दर्शाए। सन् १९३१ मा चार्ली च्याप्लिन र महात्मा गान्धीको भेट भयो। लन्डनको त्यो प्रसिद्ध ठाउँलाई अहिले ‘गान्धी–च्याप्लिन मेमोरियल गार्डेन’को नामले चिनिन्छ।

कम्युनिस्ट भएको आरोप र निर्वासन

सन् १९५२ मा रिलिज भएको आफ्नो चलचित्रलाई युरोपमा परिचित गराउन उनी पानीजहाजमा यात्रामा लागे। च्याप्लिनलाई अमेरिकी सरकारले उनको राजनीतिक आस्था र कम्युनिस्टहरूप्रति सहानुभूति रहेको भनी जहाजमै केरकार गर्‍यो। त्यति नै खेर, अमेरिकी सरकारले लामो समयदेखि च्याप्लिनको कम्युनिस्ट पार्टी अफ अमेरिका (सीपीयूएसए)सितको सम्बन्धका विषयमा अनुसन्धान गरिरहेको रहस्य खुल्यो। हलिउडभित्र पनि च्याप्लिनको सीपीयूएसएसितको सम्बन्धका विषय अमेरिकी सरकारले अनुसन्धान थाल्यो। तर च्याप्लिनको कम्युनिस्ट पार्टीसित आबद्धता र उनको वामपन्थीहरूलाई गरेको योगदान पुष्टि गर्न कोही साक्षी उपलब्ध भएनन्।

पहिलो विश्वयुद्धको समाप्तिपछि र सन् १९२० को दशकमा पश्चिमी मुलुकहरूले आर्थिक महामन्दीको संकट बेहोरे। फलस्वरूप युरोपमा आक्रामक राष्ट्रवादको जन्मियो। आर्थिक महामन्दी अनि यसले सिर्जना गरेको संकट र चरम नैराश्यताले जर्मनीमा नाजी र एडोल्फ हिटलरको उदय भयो। च्याप्लिनको ‘द ग्रेट डिक्टेटर’ मा त्यो बेलाको युरोप छ। 

अमेरिका र युरोपमा औद्योगिकीकरणले जन्माएको कामदार वर्ग र त्यो वर्गभित्रको पनि विपन्न र उत्पीडितको व्यथा थियो। त्यसलाई उनले अधिकांश कथावस्तुहरूमा समेटेका कारण अमेरिकी सरकारको ‘कम्युनिस्ट बिल्ला’ सधैंं भिर्न पर्‍यो। गान्धीको विचारबाट प्रभावित भई च्याप्लिनले निर्माण गरेको ‘मोर्डन टाइम्स’ ले पुँजीवादी औद्योगिकीकरणले निम्त्याएको मान्छेको यान्त्रिक जीवनशैलीको आलोचना गरेको छ।

समाजको मेसिनप्रति पूर्ण निर्भरताको चित्रण गरिएको थियो त्यो सिनेमा। जसलाई अमेरिकामा ‘कम्युनिस्टहरूप्रति सहानुभूति’ दर्शाएको भनेर च्याप्लिनमाथि आरोप लागेको थियो। सन् १९४२ मा एउटा पत्रिकालाई दिएको अन्तर्वार्तामा च्याप्लिनले आफू कम्युनिस्ट नभएको धारणा व्यक्त गरे। साथै अन्यायमा परेका कामदार र उत्पीडितहरूको पक्षमा बोल्दा कसैले आफूलाई प्रो–कम्युनिस्ट भन्छ भने त्यसले फरक नपर्ने धारणा पनि राखे।

सन् १९५० को दशकमा अमेरिका र सोभियत संघबीचको शीतयुद्धले गति लिइरहेको पृष्ठभूमिी्मा अमेरिकाले देशभित्र र बाहिर ‘कम्युनिस्टप्रति सहानुभूति राख्नेहरू’को व्यापक खोजी र अनुसन्धान थाल्यो। हलिउडमा चर्चाको शिखर चुमिसकेका च्याप्लिन यो ‘खोज–तलास’ बाट अछुतो रहन सकेनन्। खासमा आफ्ना सिर्जनामा च्याप्लिनले दर्शाएको सहानुभूति कम्युनिस्टप्रति थिएन। बरु औद्योगिक पुँजीवादले निर्माण गरेको गरिब’ ट्र्याम्प’हरूप्रति थियो। ‘ट्र्याम्प’ च्याप्लिनको विम्बात्मक अभिव्यक्ति थियो। मान्छेलाई मेसिनमा परिणत गरिरहेको समाजप्रति उनको विद्रोह थियो।

च्याप्लिनले आफ्ना सिनेमाहरूमार्फत प्रस्तुत गरिएका सामग्री र धारणाहरू खुलेर व्यक्त गरेका थिए। त्यही कारण उनीमाथि ‘कम्युनिस्ट प्रोपोगान्डा’को प्रवक्ता भएको आरोप लाग्यो। र, अन्ततः उनी बाँकी जीवन स्विट्जरल्यान्डमा निर्वासनमा बिताउनु पर्ने बाध्यतामा पुगे। विचारमा दृढ च्याप्लिनले आफूमाथि लागेका झुटा लान्छनाहरूको प्रतिरक्षा गर्नुभन्दा सपरिवार स्विट्जरल्यान्ड बसाइँसराइ गर्ने निर्णयमा पुगे। तत्पश्चात् स्विट्जरल्यान्डमा निर्वासित जीवन बिताइरहेका च्याप्लिन २० वर्षपछि सन् १९७२ मा एक पटक मात्र ओस्कार सम्मान लिन अमेरिका गए।

‘द ग्रेट डिक्टेटर’को सन्देश

सिनेमाको माध्यमले मनोरञ्जनको संसारमा व्यावसायिक सफलतासँगै प्रसिद्धि कमाएका च्याप्लिनले सन् १९४० मा ‘द ग्रेट डिक्टेटर’ सिनेमा रिलिज गरे। च्याप्लिनका सिनेमामध्ये ‘द ग्रेट डिक्टेटर’ उनको पहिलो साउन्ड प्रविधिसहित चलचित्र र व्यावसायिक रूपमा सबैभन्दा सफल काम थियो।

पहिलो विश्वयुद्धको समाप्तिपछि र सन् १९२० को दशकमा पश्चिमी मुलुकहरूले आर्थिक महामन्दीको संकट बेहोरे र यसको फलस्वरूप युरोपमा आक्रामक राष्ट्रवादको जन्म भयो। आर्थिक महामन्दी अनि यसले सिर्जना गरेको संकट र चरम नैराश्यताले जर्मनीमा नाजी र एडोल्फ हिटलरको उदयलाई सम्भव तुल्याएको थियो। च्याप्लिनले ‘द ग्रेट डिक्टेटर’ मा त्यो बेला युरोपमा आफ्नो प्रभाव जमाउन थाल्यो। त्यही हिटलरको नाजीवाद र बेनितो मुसोलिनीको फासीवादको खुलेर निन्दा गरेका छन्।

हिटलरमाथि व्यंग्य गरेर बनाइएको ‘द ग्रेट डिक्टेटर’ मा च्याप्लिन आफैं हिटलरको पहिरन र हाउभाउमा देखिएका थिए। अमेरिका र बेलायतमा सुपरहिट भएको यो सिनेमाले युद्धले निम्त्याउने त्रासदी र पीडालाई दर्शाएको छ। लहडको महत्त्वाकांक्षाले जन्माउने तानाशाहहरूविरुद्ध शान्तिपूर्ण विरोधमा उभिन मानवजातिलाई सन्देश दिएको छ। सबैभन्दा प्रसिद्ध आफ्नो सिर्जना ‘द ग्रेट डिक्टेटर’मा हिटलरविरुद्ध खरो प्रस्तुतिमा देखिएका च्याप्लिन र हिटलरबीच केही अनौठा संयोग थिए। च्याप्लिन र हिटलरको जन्म एकै वर्ष एक हप्ताको अन्तरालमा भएको थियो। च्याप्लिनले जन्माएको ‘ट्र्याम्प’ पात्र र हिटलरको जुँगा अनि हाउभाउहरूमा समानता थिए।

च्याप्लिन आफैं ‘द ग्रेट डिक्टेटर’ मा हिटलरको दुरुस्तै देखिएका छन्। तर, पर्दामा र पर्दा बाहिर उनले मानवता, प्रेम, करुणा र समानताको वकालत गरिरहे। विपरीत ध्रुवका हिटलरले युद्ध, ध्वंस र नश्लवादको प्रतिनिधित्व गरे। च्याप्लिन आफ्नो समयका प्रतिभावान् कलाकार, सर्जक, फिल्म निर्माता त थिए नै तर सबैभन्दा महत्त्वपूर्ण भूमिका उनले एउटा ‘मानवतावादी’का रूपमा निर्वाह गरे।
२०औं शताब्दीमा च्याप्लिनले मौन चलचित्रहरूको सहयोगले दिलाएको मनोरञ्जन र आजका दिनमा हामी सबैले उपयोग गरिरहेको श्रव्यदृश्य प्रविधिबाट प्राप्त मनोरञ्जनमा आकाश–जमिनको फरक होला। तर, मानवतालाई केन्द्रमा राखेर उनले दिएको कालजयी सन्देश भने सधैं अमर रहनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.