क्यानभासमा संवेदना

क्यानभासमा संवेदना

युरोपेली पुनर्जागरणको युग ‘रेनेसां’का सबैभन्दा परिचित बहुआयामिक व्यक्तित्व हुन्, लिओनार्दो दा भिन्ची। उनले चित्रकलालाई महसुस गर्न नसकिने तर देख्न सकिने र कवितालाई देख्न नसकिने तर महसुस गर्न सकिने भनेर व्याख्या गरेका थिए। त्यो पनि ईश्वी १५औं शताब्दीमै। सिर्जनाका अन्य विधाहरू चित्रकला, नृत्यकला, मूर्तिकला वा संगीत जस्तै कवितामा पनि शिल्प, भाव र अभ्यासको मिश्रण हुन्छ। बेलायती उपन्यासकार र विश्वप्रसिद्ध ‘फ्रान्केन्स्टाइन’ कि रचयिता मेरी शेलीले सन् १८२१ मा ‘कविताको पक्षमा’ भन्ने निबन्ध लेखिन्। जसमा उनले भनेकी छन्, ‘कविले मानवीय मूल्यको निर्माण गर्छ र सामाजिक व्यवस्थालाई आकार दिने रूपहरूको कल्पना गर्दछ। यस प्रकार प्रत्येक मनले आफ्नै निजी ब्रम्हाण्ड पुनः सिर्जना गर्दछ।’

साहित्यमा कविता यस्तो विधा हो जसले यस संसारलाई प्रभाव पार्ने ल्याकत राखेको हुन्छ। बेलायती कवि विलियम अर्नेस्ट हेन्लेले १८औं शताब्दीमा लेखेको कविता ‘इन्भिक्टस’ (अपराजित) बाट प्रभावित भएका दक्षिण अफ्रिकाका ऐतिहासिक व्यक्तित्व विश्व राजनेता नेल्सन मन्डेलाका विषयमा हलिउडले सिनेमा नै बनायो। अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनेडी पनि कविताहरूबाट प्रेरित रहने व्यक्तित्वमध्ये पर्छन्। उनले भनेका थिए, ‘जब शक्तिले मानिसलाई अहंकारतिर डोर्‍याउँछ, कविताले उसलाई उसका सीमाहरूको स्मरण गराउँछ। जब शक्तिले भ्रष्टताको बाटो रोज्छ, कविताले निष्ठातिर धकेल्छ।’ केनेडीका यी शब्दहरू जस्तै कविताका शब्दहरूभित्र लुकेको शक्तिका बारेमा कवि विप्लव प्रतीकको एउटा कविताको स्मरण गराउँछ। उनले २०४३ सालमा लेखेको अंग्रेजी कविता ‘द प्रुफ’ (प्रमाण) बाट भारतका कलाकार प्रिन्स कश्यप यति प्रभावित भए कि उनले एउटा चित्र नै तयार पारे। 

प्रिन्सले प्रतीकको कविताभित्र रहेको युद्धहरूको विपक्षमा ‘शान्तिको आह्वान’ भावले प्रेरित हरफहरूले उनलाई क्यान्भास रंगाउन मन लाग्यो। द प्रुफमा प्रतीकले संसारलाई युद्धमा धकेल्ने युद्ध सरदारहरू र शक्तिशाली राष्ट्रहरूलाई युद्धको विपक्षमा रहन विनित आग्रह गरेका छन्। कवितामार्फत उनले युद्ध जितेको उन्माद बिर्सिएर एक पटक योद्धाहरूको चिहान भ्रमण गर्न र मसानघाटको मौन आवाज सुन्न आग्रह गरेका छन्। द प्रुफमा लेखिएका मर्मस्पर्शी शब्दहरूसँग पहिलो पटक म सन् २०१७ को अगस्ट ६ तारिखका दिन परिचित भएको थिएँ। अगस्ट ६ लाई विश्वभर ‘हिरोसिमा दिवस’का रूपमा मनाइन्छ। लाखौं निर्दोष जापानीहरूले ज्यान गुमाएका थिए। त्यस यता कुनै पनि युद्धमा आणविक बमको प्रयोग भएको छैन। आणविक हतियारको प्रयोगलाई सदाका लागि प्रतिबन्ध लगाइनुपर्ने अभियानलाई हरेक वर्ष अगस्ट ६ मा बुलन्द गरिन्छ।

२१औं शताब्दीसम्म आइपुग्दाका ५५ वर्षमा विश्वभर लगभग दुई सय युद्धहरू भएका छन्। भूमण्डलीकरण र वैश्विक सहकार्यको पृष्ठभूमिमा २१औं शताब्दीमा टेक्दै गर्दा विश्वशक्तिमध्येको अमेरिकाको न्युयोर्क र वाशिंटनमा भएको आत्मघाती हवाई आक्रमण भएको यही सेप्टेम्बर महिना दुई दशक पूरा भयो। सन् २००१ को सेप्टेम्बर ११ को त्यो दिन तीन हजारभन्दा बढीको मृत्यु भएको थियो र हजारौंं अंगभंग भएका थिए। दक्षिण एसियाली मुलुक अफगानिस्तानबाट भर्खरै भएको अस्तव्यस्त अमेरिकी बहिर्गमन र उपलब्धिशून्य निकाससम्म आइपुग्दै बिसर्जन हुने बाटोको तस्बिरले यही बुझाउँछ। प्रतीकले द प्रुफमा व्यक्त गरेका हरफहरू जस्तै अफगान भूमिमा विगत दुई दशकयताको युद्धमा ज्यान गुमाएकाहरूको चिहानमाथि अहिले बिजेताको गर्वपूर्ण झन्डा फहराउनेहरू कोही थिएनन्, छैनन् र रहने छैनन्।  

विगत २० वर्षयता अफगानिस्तान मात्रै होइन, सेप्टेम्बर ११ र अस्तित्वमै नभएको ‘आम नरसंहारका अस्त्र’को काल्पनिक ‘प्रोपोगाण्डा’हरू सिर्जना गरेर शक्ति राष्ट्रहरू इराक, सिरिया, यमन, लिबिया, पाकिस्तान, सोमालिया र प्यालेस्टाइनमा संयुक्त राष्ट्र संघका न्यूनतम मापदण्डहरू र सन्धिहरू लत्याउँदै एकपक्षीय आक्रमण र युद्धहरूमा सामेल भए। सबैभन्दा दुःखलाग्दो बिषय त शक्तिशाली राष्ट्रहरूले सेप्टेम्बर ११ पछिका सबै युद्धहरूलाई ‘आवश्यकताको युद्ध’ को रूपमा चित्रण गर्दै आए। पश्चिमका अधिकांश मूलधारका सञ्चारमाध्यमहरूले पनि त्यसै अनुरूप जनमत तैयार गर्न सहयोग पुर्‍याउँदै आए। लाखौं वृद्धवृद्धा, महिला र बच्चाहरूले अनाहकमा आफ्नो जीवन गुमाएका यी युद्धहरूको चौतर्फी विरोध र इराक–अफगानिस्तान युद्धहरू अन्त्यहीन दिशातर्फ उन्मुख हुन थालेपछि युद्धको उपादेयता सकिएको छ।

त्रुटिपूर्ण खुफिया र रणनीतिक आंकलनका कमजोरीका आधारहरू देखाएर बहिर्गमनका योजनाहरू बुन्न थालिएको हो। द प्रुफमा प्रतीकका शब्दहरूमा भनिएझैँ शक्तिशालीहरूले युद्धभूमिहरू छोडेपश्चात् बाँकी रहने भनेको कब्रिस्तानमा गुञ्जिने मौनताको अनुनाद मात्रै हो। विश्वविख्यात रुसी साहित्यकार लियो टल्सटोयले आफ्नो सबैभन्दा महत्त्वपूर्ण कृति ‘वार एन्ड पिस’मा लेखेका छन्, ‘संसारमा यदि सबैले आआफ्ना दृढ आस्थाविरुद्ध लडे भने कुनै युद्ध हुने थिएन।’ दुःख र पीडाहरूले जस्तै आफ्नो वरिपरिको अन्याय, असमानता, उत्पीडन, निरर्थक युद्धहरूले मान्छेलाई रचनात्मकतातर्फ प्रेरित गर्न सक्छ। ‘समवेदना’ होस् या ‘द प्रुफ’ होस्, सबै मानवीय संवेदनाका प्रतिनिधि अभिव्यक्तिहरू हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.