जनताको कान
हिलोमै त फुल्छ नि कमलको फूल। तर, कमलको फूल मैलो देखिँदैन। यो दुनियाँ हामीले देखेजस्तो र सोचेजस्तो छैन। यो अपरम्पार छ। त्यसैले यहाँ विचारहरू अझै वेगले बग्नुपर्छ। यिनलाई थुन्नु किमार्थ उचित हुँदैन।’
नमस्कार ! म एक जनता। मलाई यो जगत्भरका सबैथरीका आवाज, कुराकानी र गलफत्तीहरू सुन्नलाई दुईवटा कान प्राप्त भएका छन्। ईश्वरप्रदत्त हुन् वा प्रकृतिप्रदत्त हुन्, त्यो तपाईं आफैं जान्नोस्। म त दुईटा कानधारी एउटा जनता। मलाई आफू जनता नै हो जस्तो लाग्छ किनकि जनताको घुमाउँदो–फिराउँदो परिभाषा थाहा छैन। वैयक्तिक स्वतन्त्रता नहराउन्, आकांक्षाहरू नबिलाऊन्, भोकले नाइटो र ढाड नजोडिऊन्, सायद यति भए जनता भइरहन्छु होला। परिभाषाका ऐंजेरुले मलाई नजेलोस्।
जनता हुँ किनकि ममाथि सबैले शासन गर्छन्, हुकुम चलाउँछन् र ठूलाठालु कहलिन्छन्। ममाथि समाज, रीतिरिवाज, धार्मिक आस्था र विश्वास, मानवीय संवेगहरूले पनि शासन गर्छन्, सहस्र संघार र लक्ष्मणरेखाहरूले शासन गर्छन्, सरकारले शासन गर्छ। त्यसैले म जनता हुँ। जनताकै शासन पद्धतिमा पनि म जनता हुँ। तपाईंलाई दोहोर्याएर भनौं– म शिरको मध्यभागमा दुवैतिर कान भएको जनता हुँ। जगत्भरिका थरीथरीका सकुनी गफ सुन्नुपर्ने बिचरा यी एक जोडी कान ! सानैदेखि कान जोगाउन अति गाह्रो पर्थ्यो। ‘केटाकेटीले कुरा सुन्ने होइन’ भनेर हकार्थे। नसुनेर अरूथोक के गर्नु ? न टिभी थियो, न पबजी न त टिकटक। अहिले सम्झिँदा बुझ्दैछु, जमाना उहिले पनि कुरौटेहरूकै रहेछ। हुन त रामायणमा पनि सीताको कुरा काटेकै हुन् क्यारे ? यदि कुरा काट्ने नहुँदा हुन् त संसारभरिका कहानीमा कहिल्यै ट्विस्ट आउने थिएन।
सधैंभरि आमा भन्ने गर्नुहुन्थ्यो, ‘बाबु, झुठो नबोल्नू, नत्र राति मुसाले कान काटिदिन्छ।’ सुत्ने बेलामा सधैं तनाव ! दिनभर लोभलालचमा परेर अबोध बालकले कति झुठो बोल्यो बोल्यो। गन्ती नै छैन। आफ्नो केही स्वार्थ पूरा हुने देखेर वा केही पाउने लोभमा परेर त हो नि ठूलाबडाले पनि दिउँसै अँध्यारो हुने गरी झुठो बोल्ने। आफू त बालक। मुसाले कान काट्नेमा पूरै विश्वास थियो। दाहिने कान थिचेर सुतौं, देब्रे कान माथि पर्ने अनि देब्रे कान थिचेर सुतौं, दाहिने कान माथि पर्ने। यी भगवान् पनि कति नजान्ने ? दुवै कान सँगै राख्नु पर्थेन ?
सृष्टिकर्ताको सिर्जनामा खोट लगाउन कठिन छ बाबै ! बिचरा बालक ! दुई हातले एक–एकओटा कान छोप्यो र फुस्स निदायो। यी कानहरू त्यत्तिकै हुर्केका होइनन्, मुस्किल थियो जोगाउन। केही बिरायो भने आमाले कान जोख्ने, स्कुलमा केही बिरायो भने तिनै कान तानेर कुखुरा बन्नुपर्ने, पाठ कण्ठ नहुँदा पाण्डे सरले कान माथितिर तिनिक्क पारेर तान्दा तलतिर कुर्कुच्चा पनि जुरुक्क उचालिन्थे। संस्कृतको उच्चारण गल्ती हुँदा शास्त्री सरले कानमा हत्केलाले बजाउँदा सात दिनसम्म कानले तुँ... गरेर गीत गाइरहन्थ्यो। कानलाई ज्वरो नआएको दिन कमै हुन्थ्यो। फेरि पाण्डे सर सप्रसङ्ग व्याख्या लेख्न लगाउनुहुन्थ्यो, ‘कौवाले कान लग्यो भनेर कौवाका पछाडि नदगुर्नू।’ अब फेरि अर्को फसाद ! रातभरि मुसाको डर, दिनभरि कौवाको डर। खुरुखुरु हिँडिरहेका बेला कतैबाट हुर्र उडेर आएर कौवाले कान चटक्क चुँडेर लगिदियो भने? धेरै जतन गरेर तन्नेरी भएका कान हुन् हजुर !
यदि सर्वत्र पाण्डे सर र शास्त्री सरजस्तै गुरु हुने हो भने कि कान हराउँछ कि ज्ञान हराउँछ। तपाईंलाई थाहा नभएको र चासो पनि नभएको एउटा कुरा छ। मेरो घरको एकदमै सामुन्ने, भन्नोस् साँधमै प्रसिद्ध ढुंगेधारा छ। हरेक दिनजसो बिहान समयभन्दा अगावै ब्युँझन्छु। न सपना पूरा हुन्छ, न आँखाको निद्रा तृप्त हुन्छ। तपाईंहरूकै आशीर्वादले आजका दिनसम्म निद्रा खल्बलिने रोग भने छैन, टोलमा भाले बास्दैन, घडीमा अलार्म लगाउने गर्या छैन, पेट कटक्क काट्ने पनि गर्दैन, उषाकाल नभई मलमूत्र विसर्जन गर्न जानुपर्दैन, बुढ्यौलीका अझै कुनै लक्षण आइपुगेका छैनन्। तैपनि ब्युँझनु त छँदै छ। सहरका कुनै पनि रेडियोले समाचारवाचनको तयारी नगर्दै, खबरकागतहरू मुठो पार्न नभ्याउँदै धारामा आउनेहरूले समाचारका बेलीबिस्तार लगाउन थाल्छन्, ठुल्ठूलो स्वरमा। कुनै बासी खबर, कुनै ताजा खबर, कुनै कुहिएका, कुनै गोप्य राख्नुपर्ने खबर, पारिवारिक कलह र विग्रहका खबर, माया पिरतीका खबर, चियोचर्चोका खबर सबैथोक मिश्रित गुन्द्रुके खबर सुनेर मेरो बिहानी आरम्भ हुन्छ। कहिलेकाँही त म पनि झ्यालबाट चिच्याएर भनिदिऊँ जस्तो लाग्छ– ‘अब सुन्नुहोस् पूरा समाचार !’
यदि कुरौटेहरू नहुँदा हुन् भने समाजमा के के सुनिन्थ्यो होला ? अनि केही बिग्रिन्थ्यो पनि कि ? मेरा आँखाले चाहिँ पूरै निद्रा पुर्याउँथ्यो। वास्तवमा मान्छे निदाउन पहिले कान निदाउन पर्नेरहेछ अनि ब्युँझिन पनि कान नै ब्युँझिनुपर्ने रहेछ। जनताका कानले नसुनी आँखा किन उघ्रिन्थे र ? कुनै दार्शनिकले बताइदेलान् ‘चेतना पहिले कानबाट छिर्छ कि आँखाबाट ?’ म जनता हुँ, कुनै निर्जन ठाउँमा गएर एक्लै बस्न सक्दिनँ। त्यसैले हरेक पल यो कोलाहल सुन्न स्वीकार्य छ, यी कानहरूलाई। जसरी मुटु एकनास धड्किरहन्छ, रगत निरन्तर बगिरहन्छ, उसरी नै ब्युँझेदेखि ननिदाउन्जेल यी कानले निरन्तर जेजस्तो पनि सुनिरहनुपर्छ। जनताकै कान त हो नि सबैका लागि श्रोता बनिदिनुपर्ने। अनि यो सुन्छु, यो सुन्दिनँ भनेर पाइन्छ ? कानेगुजीले बुजिएको छ भने कनकर्नोले, कुचोको डाँठले, तुलसीको ठेटोले कोट्याएर भए पनि सुनिने बनाउनुपर्छ। कान शरीरको सन्तरी हो।
एक दिन अचानक मेरा दुवै कान आफूभित्र रुवा ठोसेर बागी नेताले झंै हातमा मागपत्र बोकेर पो आइपुगे ‘बिनाबादलको दर्केपानीझैं।’ मागपत्रमा लेखिएको थियो, ‘...हामी तिम्रा लागि हरबखत दुनियाँभरिका उट्पट्याङ कुराहरू सुनिदिइरहन सक्दैनौं। हामीलाई पनि बेलाबखत आराम चाहिन्छ, विश्राम चाहिन्छ। कि तिमी यो जनताको नामबाट राजीनामा देऊ ताकि तिमीले जोकोहीका जेकेही कुराहरू पनि सुनिदिनैपर्ने बाध्यताबाट मुक्ति प्राप्त होस्, होइन भने हामी आजदेखि तिम्रो श्रुतिसेवक बन्न मन्जुर छैनौं।’ वाह ! गजबको माग आयो। कहिलेकाँही आफ्नै मुख वैरी हुन्छ भन्थे, कान पनि वैरी हुन थाले।
‘हे मेरा प्रिय जोडी कर्ण !’– अब नफकाई त हुँदै भएन। ‘यस धर्तीमा मानव जातिको सबैभन्दा तल्लो तहमा आसीन जनता हुँ। यसबाट पनि घटोत्तरी भएर जाने ठाउँ छैन, बढोत्तरी हुने नाउँ छैन। त्यसैले अब जे जे गर्नुपर्छ यही जनता भएरै गर्नुपर्छ।’ नफकाएर के गर्नू ? हरेक विद्रोह र विग्रहको एकमात्र समाधान भनेको वार्ता हो। सन्धि, महासन्धि, अभिसन्धि सबैथोक बार्ताबाटै हुने गर्छन्। बुद्धिमानीपूर्वक जोडी कानहरूसँग वार्ता नगरी नहुने देखेर दुवै कानलाई टेबलमा बोलाइयो। वर्काइ–फर्काइ धेरै वार्तालाप भयो। जसको बोल्ने पालो आयो, उसले आफ्नै कुरा माथि पार्न खोज्थ्यो। वार्ता भनेको बोल्ने कला नै रहेछ। तर्कहरूको कलात्मक प्रस्तुति नै वार्ता रहेछ।
आमा भन्ने गर्नुहुन्थ्यो, ‘बाबु, झुठो नबोल्नू, नत्र राति मुसाले कान काटिदिन्छ।’ सुत्ने बेलामा सधैं तनाव ! दिनभर लोभलालचमा परेर अबोध बालकले कति झुठो बोल्यो बोल्यो। गन्ती नै छैन।
वार्तामा घरीघरी चर्काचर्की हुन्थ्यो, टेबल ठोकाठोक हुन्थ्यो, कुर्सी भाँचाभाँच हुन्थ्यो। सानोतिनो संसद् भवनजस्तै हुन्थ्यो वार्तास्थल। जब तर्कहरू पराजित हुन्छन् तब पाखुरा अगाडि बढ्छन्। पाखुरा समाधानभन्दा पनि घमासानका साधन रहेछन्। कुस्ताकुस्तीले विश्राम लिएपछि फेरि वार्ता चालू हुने भयो। कुर्सी सबै भाँचिएकाले भुइँमा पलेंटी कसेर वार्तालाप आरम्भ गरियो। कुर्सीमा बस्ने बानी परेकालाई भुइँमा झरेर पलेंटी मार्न कति सकस हुँदोरहेछ। जनताका कानहरूको पहिलो सर्त थियो, ‘कि त म जनताको पदबाट च्यूत हुनुपर्यो, कि त म कानबेगरको जनता हुनुपर्यो।’ उनीहरूको यो माग पहिलो दृष्टिमै खारेज गरियो।
स्कुलमा पाण्डे सरले तानिदिएका बेलाझैं रिसले रातोरातो हुँदै, घुमुर्किएका कन्सिरी पन्छाउँदै दाहिने कानले जुरुक्क उठेर चेतावनी दियो, ‘हेर्नोस् महाशय, यसरी हाम्रा मागहरूप्रति किञ्चित् गम्भीर नभई खारेज, खारेज भन्न थाल्नुभयो भने परिणाम भयानक पनि हुन सक्नेछ। ख्याल गर्नोस्।’ तर, देब्रे कानले सबैलाई संयमित गराउँदै वार्ता अघि बढायो। एउटा आगो हुँदा अर्को पानी भइदिनुपर्छ।
अब कानहरूको दोस्रो सर्त अगाडि सारियो। सप्रसंग व्याख्यासहितको सर्तले भन्थ्यो, ‘यस जगत्का सम्पूर्ण विकृति र फसादहरूको जड भनेको विचार हो। कसैको पनि विचार शुद्ध र सकारात्मक छैन। त्यसैबाट उत्पत्ति हुन्छन् कटाक्ष वाणीहरू, अस्वीकृतिहरू, बेमेलहरू, झैझगडाहरू। कति झगडा सुन्नु हामीले ? रेडियो सुन्यो झगडाकै चर्चा छ, टिभी हेर्यो त्यहीँभित्रै झगडा मच्चिएको छ। छरछिमेक, पसलतिर, चोकचोकमा झगडै पर्ने गरी झगडामाथि बहस भइरहेछ। यो सबै धमिलो विचारको परिणति हो। अतः यो मानव निर्माण गर्ने कालीगढलाई विचार निसृत हुने नली थुन्न लगाउनुपर्यो।
जब विचारको प्रवाह थुनिन्छ अनि यो दुनियाँ शान्त हुने छ र हामीले पनि शान्ति पाउने छौं।’ उफ् ! अब फेरि जोखना हेरेर नयाँ जुक्ति खुट्याउनु पर्यो। दाहिने कानभन्दा देब्रे कान अलि संयमित र बुझकी भएको हो कि जस्तो लागेर उसैतिर फर्केर कुरा गरौं भन्ने लाग्यो। ‘हेर जसरी नौ लाख तारालाई बादलले ढाके पनि धर्तीलाई केही फरक पर्दैन तर एउटा जून ढाकियो भने रात अन्धकार हुन्छ, त्यसैगरी मयल मिसिएका सहस्र विचारहरू खोल्साको पानीझैं बगेर जान्छन्, तर एउटा स्वस्थ अनि स्वच्छ विचार सत्यझैं अटल रहन्छ। हिलोमै त फुल्छ नि कमलको फूल। तर, कमलको फूल मैलो देखिँदैन। यो दुनियाँ हामीले देखेजस्तो र सोचेजस्तो छैन। यो अपरम्पार छ। त्यसैले यहाँ विचारहरू अझै वेगले बग्नुपर्छ। यिनलाई थुन्नु किमार्थ उचित हुँदैन।’
यसपल्टचाहिँ झन् त्यही देब्रे कान पो सनक्क सन्किँदै कालो भमरोझैं भुनभुनाउन थाल्यो बुरुक्क उफ्रेर नाकैनिर चोर औंला ठड्याउँदै कराउन थाल्यो। ‘हामी युगौंदेखि उत्पीडनमा परेका हाम्रा कान जातिको उत्थानका लागि आन्दोलन गरिरहँदा तपाईंले हामीलाई दर्शन सुनाउने ? विचारलाई विचारले नै दमन गर्ने ? अब यो वार्तालाई कदापि निरन्तरता दिन सकिन्न।’ वार्ता भंग भएको घोषणा भयो। जनताका सचेत कान खसी र बोकाका कानझैं काट्यो, भुटभाट पार्यो, पोलपाल गर्यो, नुनखुर्सानीमा चोबेर खायो जस्तै सजिला रैनछन्। के हो र ? कान भनेका कुरा सुन्ने, ढुंग्री, मडवारी झुन्ड्याउने, चस्मा अड्काउने भन्ने मात्रै नठान्नुहोला। निकै तार्किक र हठी हुँदारहेछन् यी। हुन त सबै तर्क यिनैले सुन्दै आएका त हुन्। किन सिपालु नहोऊन् ? त्यत्तिकै क्रिया खाँदा ‘कान काटेर पातमा राखिदिउँला’ भनेका होइन रहेछन् !
शत्रु खोज्न टाढा जानुपर्दैन। यी सबै घटनालाई गम्भीरतापूर्वक नियालिरहेको आँखा उदास भयो। डिलभरि आँसु टिलपिलाए। यति ठूलो अनर्थ किन हुन लाग्यो ? उसले घरको कुरा घरमै मिलाउनु उचित हुने ठानेर सबै इन्द्रियहरूलाई डाक्यो।
कानहरूले बृहत् भेलाको आयोजना गरे। थप दबाबमूलक कार्यक्रम नगरी निकास ननिस्कने सबैको ठम्याइरह्यो। अतः अब खाने र सास फेर्ने नाकाहरू नै थुन्ने गरी नाकमुनि बसेर धर्ना दिने निर्णय भयो। यो निर्णयले नाक र मुखलगायतका बाँकी सबै इन्द्रियहरूमा खलबली मच्चियो। सृष्टिको सुरुआतदेखि इन्द्रियहरूका बीचमा रहेको एकता र सामञ्जस्यता टुक्रिने डरले सबै चिन्तित भए। के गर्ने ? कसो गर्ने ? यस्तो त कहिल्यै व्यहोरिएको थिएन। अन्ततः अन्तर्राष्ट्रिय इन्द्रिय महासंघका अध्यक्षको मध्यस्थताका लागि अपिल गरियो। आफ्नो झगडा पराइले मिलाइदिनुपर्ने चरित्र यहाँ पनि झल्कियो।
यसलाई विदेशी हस्तक्षेपको गुहार भन्दै कान पक्षीय भ्रातृ संगठनहरू आन्दोलनमा उत्रिए। विध्वंसात्मक आन्दोलनले सबैको जीवन अस्तव्यस्त बन्यो। इन्द्रियहरूको चट्टानी एकता भत्काउन सकिन्छ कि भनेर कपालले पनि मौका छोप्यो। कानसँग उसको अमिलो मनमुटाव थियो। कपाल अलिकति पनि लर्केर उँधो झरेको कानले फिटिक्कै सहन्नथ्यो, चिरिप्प पारेर काटिदिन्थ्यो। आफू माथि भएर पनि उँधोकाले हेपेकोमा उसलाई ठूलो चित्त दुखाइ थियो। नाक पनि अलिअलि कानको विरुद्ध त थियो नै।
आफूले डाँडीमा चस्मा अडाइदिने, जसजति कानले पाउँदा भित्रभित्रै एकअर्काप्रति इर्ष्या भरिएको थियो। मुखसँग झन् कानको विमति अलि ठूलै थियो। कानले सुनेको र मुखले बोलेको कुरामा घरीघरी फरक पर्दा को झुठो ? को साँचो ? भनेर छुट्याउन कचहरी बसिरहनुपर्थ्यो। कहिले यो हार्ने, कहिले त्यो हार्ने। अब झन् कानले नाक र मुखको माझैमा बसेर आन्दोलन गर्ने भएपछि त हातमा दही जमाएर को बस्छ र ?
शत्रु खोज्न टाढा जानुपर्दैन। यी सबै घटनालाई गम्भीरतापूर्वक नियालिरहेको आँखा उदास भयो। डिलभरि आँसु टिलपिलाए। यति ठूलो अनर्थ किन हुन लाग्यो ? उसले घरको कुरा घरमै मिलाउनु उचित हुने ठानेर सबै इन्द्रियहरूलाई डाक्यो। सबैलाई भरोसा दिलाउँदै बरु वार्ताको अध्यक्षता आफैंले गरिदिने वचन दियो। हुन त हो नि ! पराइ छिर्यो भने घरभित्रको भेद उदांगो हुने कुरामा सबैले आत्मालोचना गर्दै सहमति जनाए। निर्णायक वार्ता सुरु भयो। देश–परदेशका सञ्चारमाध्यमहरू वार्तास्थल वरिपरि भेला भए। आआफ्ना अड्कलबाजीहरू सुरु भए। विज्ञहरू मतमतान्तर गर्न व्यस्त भए। वार्ता पुनः आरम्भ हुनुलाई नै सबैले एउटा कोसेढुंगा बताइरहेका थिए। यसपटक भने कानहरूले तेस्रो सर्त अगाडि सारे। ‘सबैथोक बिगार्ने बोलीवचनले हो। ककसका कस्ता–कस्ता वचन सुन्नु हामीले ? एउटा फरेबी आउँछ, गुलिया कुरा सुनाउँछ अनि झुक्याएर जान्छ। रंगीबिरंगी नेताहरू आउँछन्, ढ्वाङ बजाएर हजारौं सपनाहरूका झूठ पस्किएर जान्छन्, हामीले नै सुनिदिनुपर्ने। चाटुकारहरू परर्र ताली ठोक्छन्, हामीले नै सुनिदिनुपर्ने। बरु भलायोका पात टिपेर एकएक सोली ऐंसेलु ल्याइदिएको भए सबै रमाउँथे। कतिन्जेल सुन्ने यो झुठो नामसंकीर्तन ? त्यसैले बोलीवचन नै नरहने गरी यो मानव निर्माण गर्ने कालिगढलाई जिब्रोबिनाको मान्छे बनाइदिन भन्नुपर्यो भन्ने हाम्रो जोडदार माग छ।’ बुरुक्क उफ्रिँदै मुखले आपत्ति जनाइहाल्यो, ‘यो हामीसँग बदला लिने षड्यन्त्र हो। यो पक्कै पनि विदेशीको एजेन्डा हो।’ अध्यक्षले मुखलाई थुम्थुमाएर शान्त पार्दै मतिर इंगित गर्दै भने, ‘यसमा तपाईँको के भन्नु छ ?’ अब धेरै गलफत्ती गर्नुभएन। एउटा प्रतिप्रश्न नगरी धर छैन। ‘प्रिय जोडी कर्ण, यदि जिब्रो भएन भने सत्यवचन कसले बोलिदिन्छ ? अन्यथा, यो संसारमा असत्यको राज हुनेछ र त्यसको दोषको भागीदार तिमीहरू हुनुपर्नेछ। के मञ्जुर छौ ?’ कानहरू एकअर्कालाई हेर्दै निरुत्तर भए। मुख पनि दाँत देखाएर खिसिक्क हाँस्यो।
मैले अगाडि बढ्ने मौका पाएँ। ‘हेर मित्रहरू ! तिम्रो र हाम्रो साइनो चुनावी तालमेलका लागि अँगालो मारेका राजनीतिक पार्टीको जस्तो क्षणिक होइन, जिउन्जेलको हो। मैले दुवै कान समाएर उठबस गर्ने सजाय पाउँदा जानीजानी गन्ती बिराउँथें। तिमीहरूले सुनेर पनि उजुरी गरेनौ, मेरै पक्ष लियौ। यदि जनताले नसुनिदिने हो भने यो संसार आवाजविहीनहरूको संसार हुनेछ। हामी सुनिदिन्छौं र त बोल्नेहरू बोलिरहेका छन्, चिच्याउनेहरू चिच्याइरहेका छन्। कानबेगर आवाजको के अस्तित्व ? यो संसारमा कति मधुर वाणीहरू छन् ? कति मीठा सूरहरू छन् ? तिनै मधुर सुर र वाणीहरूमा प्रेम बस्छ। यदि श्रवण हरायो भने सुर र वाणी हराउँछ। अनि सुर र वाणी हरायो भने प्रेम हराउँछ। प्रेम नै हरायो भने जीवन सकिन्छ।’
एकछिन कोही बोलेनन्। मुद्दा छिनिएकै हो त ? मध्यस्थकर्ता अध्यक्ष महोदयले सहमतिमा मुन्टो हल्लाउँदै भने, ‘हाम्रा इन्द्रियहरू नै आज एकअर्कालाई निषेध गर्ने परिस्थितिमा पुगेको देखेर दुःख लाग्यो। ‘सत्यम् वद, प्रियम् वद’ को अभिलाषाले मात्रै पुग्दैन। यहाँ फटाहा, कपटी, जाली सबै दुर्गुण भएका मानिस पनि बास गर्छन्। हाम्रो सृष्टि जुन प्रयोजनका लागि भएको हो, हामी त्यसबाट डगमगायौं भने सबै सन्तुलन भत्किने छ। अतः यो जगत्का सबै थरीका आवाजहरू सुन्नु नै जनताका कानको धर्म हो। हाम्रा समस्त इन्द्रियहरू, आआफ्ना गुणीय कार्यमा समर्पित रहनू।’ दुवै कान जुरुक्क उठेर हिँड्ने तरखर गर्दै भने, ‘अध्यक्ष महोदय ! हामीले त केही सुनेनौं। सायद हाम्रो सुन्ने शक्ति हराएजस्तो छ।’ अहिले सुन्दैछु, अध्यक्षका देशमा पनि आन्दोलन चल्दैछ रे !
- लेखक लिटिल एन्जल्स स्कुलका प्रिन्सिपल हुन्