विश्व रंगमञ्चमा लुम्बिनी
प्राचीन ग्रीसजस्तै बुद्धकालीन समयमा कपिलवस्तु राज्यको व्यापार र अर्थव्यवस्था समुन्द्र पारसम्म फैलिएको थियो।
काठमाडौंबाट करिब २५० किलोमिटर दक्षिण पश्चिममा अवस्थित लुम्बिनी र इटालीको राजधानी रोमबाट लगभग उत्तिकै दुरीमासंसारकै सबैभन्दा आकर्षक सहर फ्लोरेन्स। इटालीको मध्यभागमा रहेकोटस्कनी क्षेत्रको फ्लोरेन्ससबैभन्दा ठूलो सहर र राजधानी हो। मल्लकालको काठमाडौंजस्तैफ्लोरेन्स पनि मध्ययुगीन युरोपको व्यापारिक केन्द्र युरोपका धनी सहरमध्ये एक थियो।धेरै इतिहासकारले फ्लोरेन्सलाई युरोपेली पुनर्जागरणको जन्मस्थल र ‘मध्ययुगीन युरोपको एथेन्स’को संज्ञा दिएका छन्।
मल्लयुगलाई काठमाडौं उपत्यकाको कला र संस्कृतिका दृष्टिकोणले जसरी ‘स्वर्णिम युग’का रूपमा चिनिन्छ, फ्लोरेन्स पनि रेनेसां अर्थात ‘युरोपेली पुनर्जागरण’को केन्द्रबिन्दुका रूपमा विश्व इतिहासमा दर्ज छ। १४औंदेखि १६औं शताब्दीको समयमा युरोपमा व्यापार, कृषि, धर्म र संस्कृति फस्टाउँदै गर्दा फ्लोरेन्स राजनीतिक, आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा युरोप र विश्वको सबैभन्दा महत्वपूर्ण सहरमध्ये एक थियो।
ग्रीसको सभ्यतामा आधारित युरोपेली पुनर्जागरण
रेनेसां फ्रेन्च शब्द हो, जसको अर्थ पुनर्जागरण भन्ने बुझिन्छ। प्राचीन ग्रीस सभ्यताको प्रभावमा युरोपेली कला र अन्य विविध क्षेत्रको उत्खनन र जागरण नै युरोपेली पुनर्जागरण हो। पश्चिमी सभ्यताको इतिहासमा रेनेसांभन्दा अघि कला, विज्ञान र दर्शनको क्षेत्रमा यो स्तरको प्रगति कहिल्यै भएको थिएन।प्राचीन ग्रीसले विशेषगरी पश्चिमी सभ्यताका आधारशिलाहरू खडा गरेको थियो। प्राचीन ग्रीस सभ्यताले दर्शन, विज्ञान, कला, वास्तुकला, सरकार र राजनीति, अर्थशास्त्र, साहित्य आदिमा पुर्याएको योगदानको जगमा टेकेर फ्लोरेन्सले १४औं शताब्दीमा युरोपली पुनर्जागरणको अभियान छेड्यो। युरोपेली पुनर्जागरणले विज्ञान र प्रविधिको क्षेत्रमा ठूलो प्रभाव पार्न थाल्यो।
प्रिन्टिङ प्रेसलाई नै लिउँ, फ्लोरेन्सबाट सुरु भएको रेनेसांले युरोपमा नयाँ बौद्धिक आयाममध्ये एक मुद्रण प्रविधिको आगमनले आमसञ्चारको नयाँ युगको सुरुआत गर्यो। जसले स्थायीरूपमा समाजको संरचनालाई बदल्यो।कतिपय इतिहासकारले रेनेसांलाईधार्मिक कट्टरपन्थ र रुढिवादीको पुरानो युगको अन्त्य र तर्क र ज्ञानमा आधारित नवीन युगको थालनी भनेर व्याख्या गरेका छन्।उदाहरणका लागि प्रख्यात वैज्ञानिक र खगोलशास्त्री ग्यालिलियो गैलेली नै लिन सकिन्छ। सौर्यमण्डलको केन्द्र पृथ्वी हो भन्ने अप्रमाणित पुरातन सोचलाई चुनौती दिँदै ग्यालिलियोले तथ्य र प्रमाणमा आधारित सौर्यकेन्द्रित नयाँ त्यो समयका लागि क्रान्तिकारी वैज्ञानिक तथ्यलाई सार्वजनिक गरे।
ग्यालिलियोले टेलिस्कोपको प्रविधिमा ल्याएको सुधारले नयाँ आकाशीय पिण्डहरू पत्ता लाग्यो। सौर्यकेन्द्रित सौर्यमण्डलकालागि थप प्रमाण फेला पारे। फलस्वरूप, उनलाई कट्टरपन्थी क्याथोलिक चर्चले जीवनको अन्तिम नौ वर्ष घर नजरबन्दमा बिताउन बाध्य पारेको थियो।उता कलाको क्षेत्रमा लियोनार्दो दा भिन्सी, बोटिसेली, माइकलएन्जेलो, राफायल र डोनाटेलोजस्ता कलाकारले आफ्नो कला र सिर्जनामार्फत संसार चकित पारे।रेनेसां कला केवल सुन्दरतामा सीमित थिएन, यसको पछाडि एउटा नयाँ बौद्धिक अनुशासन र परिप्रेक्ष्य थियो। प्रकाश र छायाँको गहन अध्ययन थियो, नवीन यथार्थवादको खोजी थियो र विज्ञान थियो।
युरोपेली पुनर्जागरण ग्रीस सभ्यताको बौद्धिक महत्वाकांक्षालाई पुनः पत्ता लगाउने एउटा महाअभियानथियो। मान्छेको कल्पना शक्तिको सिमानालाई फराकिलो बनाउँदै मानव–सभ्यतालाई उकास्ने इतिहासको एउटा महत्वपूर्ण कालखण्ड थियो। युरोपेली पुनर्जागरणले आधुनिक संसारको बिउ रोपेको थियो भन्दा सायद अत्युक्ति हुँदैन होला।प्राचीन ग्रीसको सभ्यतालाई पछ्याएर पश्चिमी सभ्यताको आधुनिक जग बसालेको रेनेसां युग यथार्थमा ग्रीस स्वर्णिम युगको पुनरागमन थियो।पश्चिममा प्राचीन ग्रीसजस्तै पूर्वमा बृहत्तर भारतवर्षको सभ्यता पनि बुद्धको समयमा इतिहासमा सबैभन्दा रचनात्मक कालखण्डका रूपमा उदय भयो। बुद्धको समयमा कपिलवस्तुको जस्तो दरबार र वैभव दक्षिण एसियामै थिएन भनेर तिलौराकोटमा उत्खनन गरेका पुरातत्वविद्हरूले लेख्छन् भन्छन्।
प्राचीन कपिलवस्तुको समयमा समग्र भारतवर्ष ऋषिहरू, दार्शनिकहरूर वैज्ञानिकहरूको भूमि थियो। आधुनिक प्रयोगशालाहरूले विज्ञान र प्रविधिमा चमत्कार गर्नु २००० वर्षपूर्व नै यो क्षेत्रले विश्वको सर्वश्रेष्ठ इस्पात बनाउनेदेखि विश्वलाई गणना गर्न सिकाउनेसम्मको योगदान दियो।बुद्धकालीन समयमा पत्ता लगाइएका धेरै सिद्धान्त र प्रविधिहरूले आधुनिक विज्ञान र प्रविधिलाई थप सुदृढ बनाएका छन्।बुद्धकालीन समयमै भौतिक शास्त्रको क्षेत्रमा वैज्ञानिक कानदले आणविक सिद्धान्तको रचना गरेका थिए।प्राचीन ग्रीसजस्तै बुद्धकालीन समयमा कपिलवस्तु राज्यको व्यापाररअर्थव्यवस्था समुन्द्रपारसम्म फैलिएको थियो।बुद्धकालीन समयमै यो क्षेत्रमाइतिहासको सबैभन्दा ठूलो आविष्कारमध्ये एक गणितमा शून्य र संख्या प्रणालीको आविष्कार भयो।मानव सभ्यताका निम्ति बुद्धकालीन समयको सबैभन्दा उल्लेखनीय योगदान त बुद्ध आफैं थिए।
कतिपय पश्चिमी वैज्ञानिक र मनोवैज्ञानिकले आध्यात्मिक दृष्टिकोणले बौद्ध दर्शन आधुनिक संसारमा तुलनात्मक रूपमा अन्य धर्मभन्दाव्यावहारिक र वैज्ञानिकभएको अभिव्यक्ति अघि सारेका छन्।अहिले पश्चिमी सोचको जग मानिएको र आधुनिक विज्ञानको दृष्टिकोणसित मेल खाने कुनैपनि विषयमा निष्कर्षमा पुग्नुअघि आफ्नो अनुभवद्वारा गरिने परीक्षण र गहन विश्लेषणलाई आधार मान्ने सोच २५०० वर्षअघि बुद्धले अघि सारेका थिए।विपश्यना ध्यानजस्ता आध्यात्मिक अभ्यासहरूको वैज्ञानिक आधारहरूबारे अहिले पश्चिमी विश्वविद्यालयहरूमा बौद्ध भिक्षु र स्नायुचिकित्सकका साथै वैज्ञानिकहरू सँगै राखेर गरिएका प्रयोग र तर्कसंगत परिणामहरू अब दिनहुँजसो वैज्ञानिक जर्नल र लोकप्रिय अन्तर्राष्ट्रिय पत्रपत्रिकाहरू पढ्न पाइन्छ।
पश्चिमी मनोविज्ञानको क्षेत्रमा सिग्मन्ड फ्रायडपछि सबैभन्दा धेरै योगदान पुर्याएका कार्ल यङले बौद्ध धर्म र मनोचिकित्साको लक्ष्य एउटै हो भनेका छन्। इटालीको फ्लोरेन्सबाट सुरु भएको युरोपेली पुनर्जागरणले १७औं शताब्दी युरोपमा विज्ञान र मानवतामा आधारित ज्ञानोदयको युगको बलियो जग बसाल्यो। १७औं शताब्दीपछिका दसकहरूमा युरोप, अमेरिका हुँदै संसारभर फैलिएको प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित आधुनिक राजनीतिक संस्थाहरूको निर्माण र बौद्धिक संस्कृतिको विकासका थालनी ज्ञानोदयको युगको परिणाम हो।चार सय वर्षअघि मात्रयुरोपेली ज्ञानोदयको युगले विकास गरेको आधुनिक वैज्ञानिक सोच र उदार मानवतावादको सामाजिक दृष्टिकोण २५०० वर्षअघि नै बुद्धले परिकल्पना गरिसकेका थिए।
लुम्बिनी किन एसियाली पुनर्जागरणको केन्द्र?
आज विश्व व्यवस्थाको नयाँ युगले एक्काइसौं शताब्दीलाई एसियातर्फ इंगितगरिसकेको अवस्थाछ।एसियाली शिक्षाका केन्द्रहरू, विश्वविद्यालयहरू, वैज्ञानिक र प्राज्ञिक समुदायहरूले पश्चिमी ज्ञानका केन्द्रहरूकै हाराहारीमा नवप्रवर्तनका नवीन मार्गहरू पहिल्याउन थालिसकेका छन्।पूर्वीय सभ्यताको विश्व समुदाय एउटै परिवारको सदस्य हो भन्ने वसुधैव कुटुम्बकम मान्यताको सबैभन्दा ज्वलन्त उदाहरण बुद्धका सन्देशहरूले भूमण्डलीकरणको आज यथार्थले पुष्टि गरिसकेको छ। उन्नाइसौं शताब्दीको विश्वलाई युरोपले डोहोर्याएको थियो।
बिसौं शताब्दीमा संसारलाई बाटो देखाउने काम अमेरिकाले गर्यो। तर एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा विश्व व्यवस्था र मान्यताहरू बदलिएका छन्। हामी एसियाली मूल्य र मान्यताहरूमा आधारित नयाँ युगमा प्रवेश गरेका छौं। १४औं शताब्दीमा फ्लोरेन्स र समग्र युरोपले मानवताको नयाँं दिशा तय गर्न २००० वर्ष पुरानो इतिहास ग्रीसको उत्खनन गर्यो।
आधुनिक संसारको जग बसाल्यो।
औद्योगिक क्रान्तिसँगै १८औं शताब्दीमा उदाएको पश्चिमी विज्ञानमा आधारित आधुनिक चिकित्सा शास्त्रको चमत्कारलाई पनि भ्रमित बनाइदिएको कोभिडको महामारीले निम्त्याएको पीडा र निराशाबीच एसियाले आफ्नो आगामी यात्रा तय गर्दैछ। यो शताब्दीको आगमनसँगै उदाएका दुई एसियाली शक्ति राष्ट्रहरू चीन र भारतबीच नेपाल र बुद्धको ऐतिहासिक जन्मस्थल लुम्बिनी नेपालमा अवस्थित छ। अनेक आरोह–अवरोहबीच ३० वर्षयता एसियाले अभूतपूर्व शान्ति र समृद्धिको अनुभव गरेको छ। चीन र भारत विश्व रंगमञ्चमा उदीयमान महाशक्तिराष्ट्रबन्ने मार्गमा छन्।
र अन्त्यमा, आजसम्म आइपुग्दा बुद्ध ‘लाइट अफ एसिया’ मात्र रहेनन्, नेपालमा जन्मिएका बुद्धले भारत र चीनभन्दा धेरै टाढाका देशहरूमा आफ्नो प्रभाव र सन्देशहरूले नयाँ–नयाँ ठाउँहरूमा स्वीकार्यता पाउन थालिसकेका छन्।विज्ञान र प्रविधिले ल्याएको अभुतपूर्व परिवर्तनले र लगभग आठ अर्ब मानिसको साझा घर पृथ्वी ‘ग्लोबल भिलेज’मा परिणत भएको छ।मानव–जातिको सहअस्तित्वमा आधारित नयाँ विश्व समुदायको निर्माण, मान्छे र प्रकृतिबीचको सन्तुलन र परीक्षण र विश्लेषणका आधारमा निचोडमा पुग्ने वैज्ञानिक सोचको नयाँ युग छ।
नयाँ यस युगमा स–साना पाइला टेक्दै गरेको समयलाई १४औं शताब्दीमा फ्लोरेन्सले युरोपलाई दिएको जस्तो ‘प्लेटफर्म’ लुम्बिनीले एसिया र सारा विश्वलाई दिनसक्छ। चीन र भारतले समेत ‘बुद्धको सन्देशबिना २१औं एसियाली शताब्दी पूर्ण नहुने’ भनेर घोषणा गरिसक्दा २५०० वर्षअघिको गर्व गर्न लायक समयको उत्खनन गरी लुम्बिनीलाई एसियाली पुनर्जागरणको अभिभारा सुम्पिन सबैले योगदान दिनुपर्छ। एसियाली शताब्दीमा सबैभन्दा महत्वपूर्ण भूमिका पनि यही हुनुपर्छ।
प्रतिक्रिया दिनुहोस !