कन्फेसन

कन्फेसन

प्रश्न अरूलाई होइन, म आफैंलाई हो। छोरी नहुँदाको तडप हामी बूढाबूढीले बिर्सेका छैनौं। अचेल मन तलाउझैं शान्त छ, उषाकालझैं प्रसन्न छ। नातिनीले मेरो काखमा बसेर जिस्किँदै मेरा गालाहरू चिमोट्दा पहिलोचोटि महसुस गरें छोरीहरूका हातको मुलायम स्पर्श।


आज नवौं दिन हो ऊ यस धर्तीमा आएको। आमाको गर्भमा छउन्जेल ऊ आनन्दित थियो, ढुक्क थियो। जन्मिनेबित्तिकै चिच्याई चिच्याई रुन थाल्यो। पहिलो रिहर्सल हो यो जीवनको रंगमञ्चमा घरिघरि रुनका लागि। खुसी लाग्यो— कमसेकम जीवनको एउटा पाटोलाई भए पनि उसले गर्भबाटै अनुभूत गरेर आएछ।

हामी चारजनाको परिवार पट्यारिलो जीवनबाट एक रातका लागि भए पनि उन्मुक्ति पाउन पोखरा पुगेका थियौं। साँझको घुमघाम र खानपिनपश्चात् लेकसाइडस्थित पर्यटकविहीन सडकमा आफ्नै आँगनमा झैं गरी निष्फिक्री डुल्दै थियौं। कोरोनाको त्रासले पर्यटकको यात्रा पनि थलिएको थियो। मोबाइलको घन्टीले हामी सडकमै टक्क अडियौं। अमेरिकाबाट भिडियो कल रहेछ, जसको हामी व्यग्र प्रतीक्षामा थियौं। एउटै मोबाइलमाथि चारैजनाका टाउका घोप्टिए। अंग्रेजी नर्सले हातमा नांगो बालक चलाउँदै थिइन्, ऊ चिच्याई चिच्याई रोइरहेको थियो— नाति जन्मिएछ।

सडकका बत्तीहरूको मधुरो प्रकाशमा पनि हामी चारैजनाको अनुहारको खुसी पूर्णिमाको जूनझैं छर्लंग देखियो। होटल नपुगुन्जेलसम्म उसको रोदनबाहेक अरू कुनै आवाज सुनिनँ— सायद पोखरा सहरले नै उसैलाई सुनिरहेको थियो। होटलमा आएर केही बेरमा फेरि फोन बजायौं। ऊ त आमाको छेउमा न्यानोमा गुट्मुटिएर निदाएको रहेछ। अनायासै कराउँदै भनें, “उठ् ए मेरो वंशियार, उठ् मेरो वंशधर ! यसरी सुतेर मेरो वंशको रखवारी के गर्लास् खै ?’ उसले टेरेन। मलाई अझै भन्नु थियो, ‘यो जाली दुनियाँले यसरी चयनले निदाउन दिँदैन। निद खोस्नु, चयन खोस्नु, भोक खोस्नु, शान्ति खोस्नु त उसको रीत हो। हिँड् बरु आजैदेखि यससँग मुकाबिला गर्ने सीप सिकौं। थाङ्नामा सुत्नेलाई म कसरी ‘विजयी भवः’ भनेर आशीर्वाद दिऊँ ? हेर् मेरो कलेजोको टुक्रा, तँ जन्मिनेबित्तिकै दह्रो गरेर पाइला टेक्नु पथ्र्यो, हिँड्नु पथ्यो, दगुर्नु पथ्र्यो र मुड्की बजारेर पहराको छाती फोर्न सक्नु पर्थ्यो।

जीवन त धेरै संघर्षशील छ बाबु ! यहाँ सृष्टि भएका प्रत्येक जीवात्माले संघर्ष गरिरहेका हुन्छन्। गोडा लुलो पार्‍यो भने टेकेको माटोले पनि पत्याउँदैन। होइन कस्तो घमण्डी है तँ ? मैले बोलिरहँदा यसो आँखा खोलेर पुलुक्क हेर्नु पर्दैन ? जे होस्, स्वागत छ तँलाई म उभिएको धर्तीमा, मेरो वंशवृक्षमा।’

कसो कसो मेरो नजर सुत्केरी बुहारीतिर गयो। शरीर चिरेको पीडा भुलेर सन्तान मोहको हाँसो हाँसेकी उनको अनुहार सर्लक्क खुम्चियो। मैले बिराइसकेको थिएँ। एक्काइसौं शताब्दीको एउटा चेतनशील पुरुषले यस्तो भाव कसरी ओकल्न सक्छ ? मभित्र किन अहिलेसम्म यस्ता संकीर्णताका अवयवहरू बाँकी  रहेछन् ? नातिले नै मेरो वंश परम्परालाई निरन्तरता दिन्छ भन्ने बेतुकको भाव मैले कहिलेदेखि पालेको रहेछु ? आवरणमा जतिसुकै अग्रगामी भए पनि अन्तस्करण सच्चिन कठिन रहेछ। परम्परावादी सोचका छिद्रहरू यति साँघुरा हुँदा रहेछन् कि बाहिर निस्कनै मुस्किल।

घरमा भाँडाकुटी खेल्दै आमाको प्रतीक्षा गरिरहेकी सानी नातिनीलाई सम्झिएँ। उनलाई म ज्यान जत्तिकै माया गर्छु। मानिस मायालाई मुटुसँग तुलना गर्छन्, मचाहिँ ज्यानसँग। किनकि मलाई ज्यानका हरेक अंग उत्तिकै प्रिय र महत्त्वपूर्ण छन्। मैलै कृष्णले जस्तै लीला गर्न जानेको भए आफ्नो मुखबाट फुस्किएका वचन खिचेर फिर्ता ल्याउने थिएँ। नातिलाई दिन सक्ने के नै हो र ऊ मेरो वंशियार कहलियोस् ? मेरो थर, मेरो गोत्र, मेरा रक्तगुणहरू र मेरो वंशवृक्ष। मात्र यतिले उसले जीवनभरि आफ्नो पूर्ण पहिचान पाउला ?

वंश मुहान मात्रै हो, वेग होइन। वेग आफैंले उत्पत्ति गर्नुपर्छ। धार, गति र दिशा आफैंले निक्र्योल र निर्देश गर्नुपर्छ। म त फगत एउटा साइनो हुँ। छेउमै पत्नी नातिनीसँग आइप्याडमा रमाई रमाई गफ गर्दै थिइन्। उनीहरूका गफमा उल्लास अनि प्रेम थियो। मचाहिँ साँघुरो मनको मकल तापेर बसिरहेको थिएँ, आँचबिनाको आगो तापेझैं।
नातिनी घरिघरि भन्दै थिइन्, ‘आमा, फोन आप्पालाई देऊ न। आप्पासँग बोल्छु क्या !’ उनले मलाई सम्बोधन गर्ने बालसुलभ साइनो हो ‘आप्पा’। उनी संसारभरिकै ठूलो वटवृक्ष मलाई ठान्छिन्, जसको छहारीमा खेल्दा उनलाई सर्वाधिक रमाइलो लाग्छ। ‘जुन काठको बोक्रो उही काठमा 

मिल्छ’ भनेझैं नेपाल आउँदा उनी मैंसँग टाँसिएर बोक्राझैं बनिदिन्छिन्। चितवनमा हात्ती चढ्दा उनी मेरो काखमा बसिन्। अनि उनलाई हात्तीसँग डर लागेन। हात्तीभन्दा पनि बलियो छ उनको मप्रतिको भरोसा। अमेरिकाका विद्यालयमा पनि उनले मेरै थर पाएकी छन्; धार्मिक अनुष्ठानमा मेरै गोत्र उच्चारण गरिन्छ; नाकनक्सा मेरैजस्तो छ; मसँग नहुर्किए पनि हाउभाउ, आनीबानी मेराजस्तै मिल्दाजुल्दा छन्। अनि उनी किन बन्न सक्दिनन् मेरो वंशको रखवारी गर्ने हकवाला ?

यो प्रश्न अरूलाई होइन, म आफैंलाई हो। छोरी नहुँदाको तडप हामी बूढाबूढीले बिर्सेका छैनौं। अचेल मन तलाउझैं शान्त छ, उषाकालझैं  प्रसन्न छ। नातिनीले मेरो काखमा बसेर जिस्किँदै मेरा गालाहरू चिमोट्दा पहिलोचोटि महसुस गरें छोरीहरूका हातको मुलायम स्पर्श। यिनै मुलायम स्पर्शहरूलाई मैले बुढेसकालसम्म जतन गर्नु छ। मलाई थाहा छ, एक दिन उनी पनि मेरा लागि हात्तीभन्दा बलियो भरोसा बन्नेछिन्।

ग्रान्डी अस्पतालको प्रतीक्षाकक्षमा म र मेरा ससुराबुबा पालो पर्खेर बसिरहेका थियौं। फुर्सदका गफमा ससुराबुबाले भन्नुभयो, ‘मेरा परिवार नौजना, तपाईंका आठजना।’ मैले भनें, ‘होइन, तपाईंका त पच्चीस होइन र ?’ उहाँले भन्नुभयो, ‘मेरा त नौजना नै हुन्, छोरीतिरका गन्दा पो पच्चीस त ?’ ओहो ! आफू त अलिक पराई पो परिएछ। मनले नजाति मान्यो। थोरै कुर्सी सर्काएर टाढिऊँझैं लाग्यो। छोरी बिहेपश्चात् पराई घर जाने विश्वभरिकै सामाजिक परिपाटी हो। पराई घर जाँदैमा छोरी नै पराई कसरी हुन सक्छे ? पुस्ता फेरिए पनि परम्परा ढुंगाझैं कठोर हुँदा रहेछन्।

बिहान आउँदा उहाँलाई बाटोमा भद्रकालीको दर्शन गराएर ल्याएको थिएँ, भरे फेरि स्वस्थानीको महिमा पढेर सुनाउनु छ। तैपनि यो नारी शक्तिको अर्घेल्याइँ किन ? मलाई चिन्ता छ, जब मेरा नाति नातिनीहरू हुर्केलान् तब उनीहरूले जीवन र जगत्लाई कसरी बुझ्लान् ? भौतिक झिलिमिलीमा हुर्कंदै गर्दा जीवनको गुह्य रहस्यलाई कसरी खुट्याउलान् ? कस्मेटिक चमकको अर्कोपट्टि आध्यात्मिक चिन्तन पनि गाँसिएको हुन्छ भन्ने बोध गर्लान् कि  नगर्लान् ?

स्वाभाविकै हो, म चिन्तित हुनु। कतै उनले आफ्नो असली पहिचान नै नभेट्टाउलान् कि ? सहस्र पहिचानको हुलमा उनीहरूले आफूलाई जोगाउने प्रचेष्टा गरेनन् भने ? मलाई रहरै रहर छ, उनीहरूले पनि मेरै देशका रीतिरिवाज सिकून्, मेरै धर्मका स्तोत्र वाचन गर्न जानून्, मेरै भाषा बोलून् अनि मेरै भाकामा नाचून्। आफूले ओढेको बहुभाषिक र बहुसांस्कृतिक परिवेशलाई पनि उत्तिकै निसाफ गरून्। मोबाइलको घन्टी घन्कियो। नातिनीले उत्साहित हुँदै भनिन्, ‘आप्पा, मुनु (मान्यता)को नेपालमा ‘टल माउन्टेन’ छ है ? नेपाल आउँदा देखाइदेऊ है ?’
चाल नपाउने गरी हर्षले भिजेका परेला ओभानो पारें। एकछिन ऐनाअगाडि उभिएँ। दुवै आँखालाई आँखाले हेरें। दुवै आँखा सँगै झिम्किन्थे, सँगै दायाँ बायाँ गर्थे, एउटै दृश्य देखाउँथे। दुवै आँखाका नानी उस्तै थिए— न कम, न बेसी। 

हे कुलरत्नहरू ! हे भारद्वाज ऋषिका सन्ततिहरू ! जसरी मेरो मायाका तिमीहरू बराबरीका अंशियार हौ, त्यसैगरी मेरो वंशका पनि तिमीहरू बराबरीका वंशियार हौ। तिमीहरूका सुकर्मले तिमीहरू मेरो कुलका चम्किला नक्षत्र हुनेछौ, न कि लैंगिकताले। विभेदकारी सोचको यो स्थावर रूप अबदेखि मैले फेर्नैपर्छ। लोकलाई देखाएर होइन, मन ब्युँझाएर यो ‘कन्फेसन’ गर्दै छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.