हत्याको २ वर्ष : न्यायमा निराश निर्मलाकी आमा

हत्याको २ वर्ष : न्यायमा निराश निर्मलाकी आमा

 महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या भएको दुई वर्ष भएको छ। यो अवधिमा थुप्रै अनुसन्धान टोली परिवर्तन भए तर प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसक्दा पीडितले न्याय पाउने आश मरेको छ। बलात्कारपछि हत्या गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै चर्चामा आएको यो विषयमा प्रहरीले कुनै उपलब्धी हात पार्न सकेन। निर्मलाकी आमा दुर्गादेवी पन्त भन्छिन्, ‘घटना भएको दुई वर्षसम्म धेरै आन्दोलन भए, अनुसन्धान भए, हत्याराको सुइकोसम्म पाइएन, अब त न्याय पाउने आश नै छैन।’ 

पछिल्लो समय दीलिप विष्टका गतिविधि र कुराबाट उनैमाथि शंकाको आधारमा किटानी जाहेरी दिएको उनले बताइन्। किटानी दिएपछि सत्य तथ्य पत्ता लगाएर दोषीलाई कठघरामा ल्याउने काम प्रहरीको भएको पन्त बताउँछिन्। घटनाबारे अहिले पनि सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घटनाबारे निचोडमा नपुगेकाले अहिलेसम्म अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रमुख मुकुन्द मरासीनीले बताए। ‘निर्मला प्रकरणमा सुरुदेखि केही अवरोध आए त्यसले गर्दा पनि ढिलाइ भएको हो’, उनले भने, ‘निर्मला घटनालाई हामीले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेका छौ।’ केही दिन अघि मात्रै सुदूरपश्चिम प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेर ३ घण्टा यसबारेको फाइल अध्यन गरेका थिए।

२०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीको निर्मलाको शव फेला परेको थियो। घटना भएको एक महिनापछि भदौ ४ मा प्रहरीले भीमदत्तनगरपालिका -१९ बागफाटाका मानसिक अवस्था ठिक नभएका दीलिप विष्टलाई सार्वजनिक गरेपछि निर्दोषलाई फसाउन खोजिएको भन्दै आन्दोलन चर्किएको थियो। आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका-१८ शालघारीका शनि खुनाको मृत्यु भयो। अभियुक्त भन्दै सार्वजनिक गरिएका विष्टको डीएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाट उनी साधारण तारेखमा रिहा भएका थिए।

चार प्रतिवेदन, उपलब्धी शून्य

विष्टलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएर खुनाको मृत्युसँगै दर्जनौ घाइते भएपछि सरकारले तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई केन्द्रमा तान्यो।

भदौ ८ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र छ। यस प्रकरणमा मैनाली बाहेक राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धीरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदन तयार भएका छन्।

 उक्त घटनाको अनुसन्धान अधिकृत तोकिने प्रहरी नायव उपरीक्षक छोटो समयमा परिवर्तन हुने गरेका छन्। दुई वर्षमा कञ्चनपुर प्रहरी कार्यालयबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसके। यो प्रकरणको वास्तविकता बुझ्न पूर्व प्रहरी प्रमुखद्धय सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली कञ्चनपुर आए पनि सफलता हात परेन। त्यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीका एसएसपी दुर्गा सिंहसमेत लामो समयसम्म कञ्चनपुर बसेर अनुसन्धानमा खटिएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.