निर्मला हत्याको एक वर्ष : न न्याय, न निष्कर्ष

निर्मला हत्याको एक वर्ष : न न्याय, न निष्कर्ष

काठमाडौ : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ। घटनाका दोषी अझै पक्राउ परेका छैनन्। अनुसन्धानका लागि आधा दर्जनभन्दा बढी टोली बने। कुनैले पनि अभियुक्त किटान गर्न सकेका छैनन्।

प्रहरीले सूक्ष्म रूपले अनुसन्धान भइरहेको बताए पनि उपलब्धि शून्य देखिएको छ। परिवारले न्याय पाउने आशा मारेका छन्। ‘वर्षदिन भइसक्यो, हत्यारा पक्राउ परेका छैनन्’, बुवा यज्ञराज पन्तले भने, ‘छोरीका हत्यारा पक्राउ गरी न्याय दिन हारगुहार गर्दा पनि न्याय मिलेन।’ उनले अब न्याय पाइएला भन्ने आशा मारिसकेको बताए।

‘न्याय माग्दा एक जनाले ज्यान गुमाए। कति घाइते छन्। सरकारले यसतर्फ पनि ध्यान दिएन’, उनले भने, ‘हाम्रो माग भनेकै हत्यारा सार्वजनिक गरेर न्याय देओस् भन्ने हो।’ हरेक महिना १० गते अनुसन्धानको अवस्था बुझ्न परिवारका सदस्य प्रहरी कार्यालय पुग्ने गरेका छन्। सरकार हत्यारा पत्ता लगाउन गम्भीर नभएको उनले बताए।

न्यायकै लागि निर्मलाका बुवाआमासहित अधिकारकर्मीले धर्ना दिए। घटना भएदेखि कञ्चनपुरलगायत देशभर शान्तिपूर्ण आन्दोलन भयो। सदनदेखि सडकसम्म आवाज उठ्यो। ‘सरकारले न्याय दिन सकेको छैन। हामी निरन्तर न्यायका लागि भौतारिरहेकै छौं’, अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘सरकार गम्भीर हुने हो भने तत्काल हत्यारा पत्ता लाग्छ।’

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो र अपराध महाशाखाको टोली कञ्चनपुरमा खटिएका छन्। अनुसन्धानमा थुप्रै टोली खटिए। प्रहरी टोलीले हत्याराका विषयमा ठोस प्रमाण जुटाउन सकिरहेका छैनन्। जिल्ला प्रहरी कञ्चनपुरका एसपी दिनेश आचार्यले संयुक्त रूपमा अनुसन्धान जारी रहेको बताए। ‘केन्द्र, जिल्ला र आवश्यकताअनुसार मातहतका निकायका टोली खटिरहेका छन्’, उनले भने, ‘हामी अनुसन्धानमै छौं। यो अभियुक्त हो भनेर पहिचान गर्न सक्ने अवस्था देखिएको छैन।’ ब्युरोका एसपी गणेश चन्दको नेतृत्वमा पनि प्रहरी खटिएको छ। नयाँ शिराबाट गहन अनुसन्धान भइरहेको प्रहरी बताउँछ।

प्रहरीले तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण र अर्का युवक आयुष विष्टसहित दर्जनौं व्यक्तिको डीएनए परीक्षण गरेको छ। ७३ जनाको डीएनए परीक्षण गरिएको छ। साढे ५ सयसँग प्रहरीले सोधपुक्ष गरेको छ। प्रहरीले २ हजारभन्दा बढी घरको विवरण संकलन गरेको छ। साउन १० गते घरमा को-को थिए, त्यसअघि कहाँ थिए, उनीहरूको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को-को गएलगायत विवरणसमेत संकलन गरिएको थियो। अनुसन्धान थुप्रै पाटोमा केन्द्रित गरे पनि हत्यारासम्म पुग्न नसक्दा प्रहरीलाई निर्मला हत्याकाण्ड जटिल मुद्दा बनेको छ।

कञ्चनपुरमा आन्दोलन चर्किएपछि सरकारले भदौ ७ गते सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी बसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश ७ सरकारका उपसचिव वीरेन्द्रबहादुर केसी सदस्य थिए। समितिले प्रतिवेदन पेस गरेको थियो।

समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा ल्याएर फालिएको हुन सक्नेलगायत निष्कर्ष निकालेर प्रतिवेदन तयार पारेको थियो। समितिकै प्रतिवेदनले अनुसन्धानमा प्रहरीले चरम लापरवाही गरेको देखिएको जनाएको थियो। सरकारले तत्कालीन एसपी डिल्लीराज विष्टसहित आठ जनालाई निलम्वन गरेको थियो। उनीहरूविरुद्ध प्रमाण नष्ट गरेको र यातना कसुर मुद्दा जिल्ला अदालत कञ्चनपुरमा विचाराधीन छ। मुद्दापछि अदालतमा उपस्थित आठै जना धरौटीमा छाडिएका थिए।

अनुसन्धानकै क्रममा तीन प्रहरी प्रमुख फेरिएका छन्। ब्युरोका एसपी सुदीप गिरीसहितको टोलीले पनि अनुसन्धान गर्‍यो। कुनै उपलब्धि हासिल भएन। गिरीलाई अनुसन्धानमा सहज होस् भनेर कैलालीमा सरुवा गरिएको छ। साउन ११ गते शव भेटिएपछि अनुसन्धानका लागि १३ गते ब्युरोका तत्कालीन डीएसपी अंगुर जीसी (हाल निलम्बन) नेतृत्वको टोलीले अनुसन्धान गरेको थियो। भदौ ४ गते भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो। डीएनए नमिलेपछि विष्ट छुटेका थिए। उनलाई सार्वजनिक गरेपछि चर्किएको आन्दोलन हिंसात्मक बनेको थियो।

मानसिक सन्तुलन ठीक नभएको मानिसलाई मुख्य अभियुक्त बनाएर वास्तविक अभियुक्त बचाउन खोजेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। भदौ ७ देखि दुई दिन स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। गोली लागेर १४ वर्षीय किशोर सन्नी खुनाको ज्यान गएको थियो। आन्दोलनमा १२ जनाभन्दा बढी घाइते भएका छन्। तीमध्ये अर्जुन भण्डारा अर्धचेत छन्। उनको एउटा खुट्टा काटिएको छ। सरकारले खुनाको परिवारलाई राहत उपलब्ध गराए पनि घाइतेको उपचारमा लापरवाही गरेको पीडितको भनाइ छ। ‘घाइतेको उपचार खर्च सबै गर्ने भनेको थियो तर सरकारले चासो दिएन’, घाइते सुरेन्द्र देउवाले भने।

अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि औंल्याएपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन डीआईजी (हाल एआईजी) धीरु बस्न्यातको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो। लापरबाही गरेको भनिएका १६ जनासँग टोलीले सोधपुक्ष गरेको थियो। टोलीले बुझाएको प्रतिवेदन प्रहरीले सार्वजनिक गरेको छैन। प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धान प्रक्रिया नछाडेको बताए। ‘अनुसन्धान निरन्तर छ। निष्कर्षमा पुर्‍याउन चुनौती सामना गर्नुपरिरहेको छ’, उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले हामी निष्कर्षमा पुग्न सक्छौं भन्ने भइरहेको छ।’ अनुसन्धानबाट वि श्राम नलिने उनले बताए। ‘केही जटिलता छन्’, उनले भने, ‘यो केस जसरी पनि निष्कर्षमा पुर्‍याउन हामी लागिरहेका छौं। प्रहरीका विभिन्न टिम अनुसन्धानमै केन्द्रित छन्।’

कसैविरुद्ध किटानी जाहेरी पनि परेको छैन। निर्मला होमवर्क गर्न गएको घरका बम दिदीबहिनीमा अनुसन्धान केन्द्रित गरिनुपर्ने माग सडकमा उठ्यो। प्रहरी टोलीले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्‍यो। प्रहरीले विशाल चौधरी र प्रदीप रावललाई पनि हिरासतमा लिएर अनुसन्धान गरेको थियो। उनीहरू पनि डीएनए म्याच नभएपछि छुटेका थिए।

साथी रोशनी बमको घरमा २०७५ साउन १० गते होमवर्क गर्न पुगेकी कञ्चनपुर भीमदत्त-२ उल्टाखामकी १३ वर्षीया निर्मला साउन ११ गते हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्।

‘निष्कर्षमा पुर्‍याउन चुनौती छ’

 विश्वराज पोखरेल, प्रवक्ता, नेपाल प्रहरी

निर्मला पन्तको हत्या घटनामा अनुसन्धान निरन्तर छ। निष्कर्षमा पुर्‍याउन चुनौतीको सामना गर्नुपरिरहेको छ। अहिलेसम्मको अनुसन्धानबाट हामी सफलतापूर्वक निष्कर्षमा पुग्छौं भन्ने अनुभूत भइरहेको छ।

प्रहरीप्रति विश्वास र भरोसा गर्नेको जमात छ। केही असन्तुष्ट धारले यसलाई मुद्दाका रूपमा उठाउन गरेको छ। प्रहरीले यस्ता घटनाको धेरै अनुसन्धान गरेको छ। धेरै घटनामा सफलता पनि हासिल भएको छ। 

सुरुको अनुसन्धानले जुन बाटो समातेको थियो त्यो परिवर्तन गर्नुपर्‍यो। नयाँ हिसाबले अनुसन्धान गर्नुपर्‍यो। अनुसन्धानको पाटो फेर्नुपरेपछि शंका उपशंका हुन गयो। त्यसलाई चिरेर अनुसन्धान निष्कर्षमा पुर्‍याउने विषय प्रहरीलाई चुनौती बनिरहेको छ।

प्राविधिक हिसाबले कहिलेकाहीं अनुसन्धानको पाटोमा सोचेजस्तो हुन सक्दैन। त्यसैले पनि जनताको मनमा किन हत्यारा पक्राउ पर्न सकेन भन्ने छ। अविश्वासै हुने भन्ने छैन। प्रहरी अधिकृतको मनोबल कमजोर हुन पुगेको भन्ने होइन। 

यस खालका घटनाले प्रहरी अधिकृत सचेत र जिम्मेवार हुन पनि सिकाउँछ। कुनै-कुनै घटनामा समय लाग्छ, अनुसन्धानमा वि श्राम लिँदैन। केही जटिलता भने छन्। गम्भीर प्रकृतिको घटना र जटिलताले केही समय लाग्न सक्छ। यो घटना व्यक्तिविशेषका लागि, कुनै आफन्त मात्र होइन, बुवाआमालाई ठूलो पीडा छ। 

यो घटनाले नेपाल प्रहरीलाई पनि ठूलो पीडा छ। हामीले छोरी, बहिनी गुमाएको अनुभूत गरेका छौं। छिटोभन्दा छिटो यसलाई निष्कर्षमा पुर्‍याएर अपराधीलाई कानुनी दायरामा ल्याउन सक्यौं भने हामीलाई सन्तुष्टि मिल्छ।

कुनै पनि हालतमा प्रहरीले अभियुक्तलाई बचाउने भन्ने हुँदैन। आफ्नो जिम्मेवारीमा आफू असफल हुने काम गर्छ भन्नु सान्दर्भिक लाग्दैन। ध्यान नपुगेर यस्तो हुन सक्छ। त्यसलाई नियतवश गरेको भनेर व्याख्या गर्नु हुन्न। 

हाम्रो लगानी र निरन्तर प्रयत्न रहिरहन्छ। प्रहरीका विभिन्न टिम परिचालन भई अनुसन्धानमै केन्द्रित भइरहेका छन्। यथेष्ठ प्रमाण जुटाउन प्रहरी लागेको छ। अनुमान र शंकाकै भरमा अनुसन्धान सफल हुँदैन। यसलाई निष्कर्षमा पुर्‍याएरै छोड्छ नेपाल प्रहरी।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.