संखुवासभामा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने
संखुवासभा : संखुवासभामा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना फागुन १५ देखि १९ प्रतियोगिता हुने जिल्ला भलिबल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।
प्रतियोगिताको आवश्यक खर्च व्यवस्थापन र प्रतियोगिता सञ्चालनका बारेमा मंगलबार सदरमुकाम खाँदबारीमा सरोकारवालाहरूसँग जिल्ला भलिबल संघ संखुवासभाले छलफल गरेको छ। जिल्ला भलिबल संघ संखुवासभाले संयोजन हुन लागेको प्रतियोगितामा सातवटा प्रदेशका एक/एक प्रदेश टिम, नेपाल आर्मी, एपीएफ र नेपाल प्रहरी टिमसहितको १० टिमको सहभागिता रहने छ।
खाँदबारीमा हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ३ लाख, द्वितीय पुरस्कार १ लाख ५० हजार, तृतीय पुरस्कार ५० हजार र चौथो पुरस्कार ३० हजार रुपैयाँका साथमा ट्रफी, मेडल, प्रमाणपत्र प्रदान गरिने अध्यक्ष घिमिरेले बताए।
त्यसैगरी सर्वोत्कृष्ट पुरस्कार नगद २५ हजार र उत्कृष्ट ५ विधाले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। ‘नेपालको राष्ट्रिय खेलः भलिबल’ भन्ने नाराका साथ सञ्चालन हुने लागेको प्रतियोगितामा ४२ लाख खर्च हुने जनाइएको छ।
प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारले नगद २० लाख रुपैयाँ सहयोग गर्ने संघका अध्यक्ष घिमिरे जानकारी गराए। बाँकी रकम स्थानीय पालिका, संघसंस्था र विभिन्न दाताहरूसँग सहयोग संकलन गर्ने लक्ष्य रहेको जिल्ला भलिबल संघले जनाएको छ।