हिउँ पर्ने समय नै फेरियो

हिउँ पर्ने समय नै फेरियो
पहिरोको जोखिममा रहेको ताप्लेजुङको ओलाङ्चुङगोला बस्ती। तस्बिर : रविन भट्टराई।

केही वर्षअघिसम्म मंसिर दोस्रो साताबाट नै ताप्लेजुङको ओलाङचुङगोलाका घरका छाना हिउँले ढपक्क ढाकेको हुन्थ्यो। हिउँको भार अत्याधिक भएपछि काठको छाना चुइँचुइँ कराउँथे। यसको संकेत हो– ‘छानालाई हिउँको भार अत्याधिक भयो।’ अनि, स्थानीय टाँसी दोर्जे शेर्पा घरको छानामा चढ्थे र हिउँ फुटाएर झार्थे। उनले हिउँ झारेको देखेपछि स्थानीय अन्य युवाहरू पनि आ–आफ्ना घरका छानामा चढ्थे र हिउँ झार्न सुरु गर्थे। तर, अब यो अनुभव पनि कथा जस्तो भएको बताउँछन् टाँसी। भन्छन्, ‘अहिले त हिउँ नै बाक्लो पर्दैन र पर्ने ठेगान पनि हुँदैन। पहिले त छानाको हिउँ झार्दा भुइँमा मान्छे जत्रो थुप्रो हुन्थ्यो,’ उनले यो अनुभव काठमाडौंमा बसेर सुनाए।

टाँसीले भनेझै अहिले हिमाली क्षेत्रमा हिउँ पर्ने ठेगान छैन। पहिले स्थानीय अकाशमा कुहिरो हेरेको भरमा हिउँ पर्ने÷नपर्ने अनुमान लगाउँथे। अहिले उनीहरूको अनुमानले मेल खाँदैन। शेर्पा भन्छन्, ‘पर्ला भनेको समयमा पर्दैन। नसोचेको समयमा तीन फिटभन्दा धेरै पर्छ।’ उनका अनुसार पहिले आकाशको बादलको रूप हेरेर हिउँ पर्ने अनुमान गर्दै याक र चौंरी संकलन गर्न शेर्पाहरू खर्क जान्थे। ‘अहिले पर्दैन होला भने बस्यो हिउँ बर्सन्छ। पर्छ भनेर याक चौंरी भेला पर्‍यो, एक हप्तासम्म पर्दैन,’ अर्का स्थानीय ताम्जि शेर्पा भन्छन्।

यहाँका स्थानीयले घाँस हुने खर्कमा याक र चांैरी छाडेका हुन्छन्। हिउँ नपरेसम्म त्यहीँ चर्ने भएकाले उनीहरू २÷३ दिनसम्म पनि लिन जाँदैनन्। जब हिउँ पर्ने खालको मौसम देखा पर्छ, स्थानीयले याक र चौंरी संकलन गरेर ल्याउँछन् र गोठमा सुरक्षित राख्छन्। हिउँ परेपछि सबै घाँस पुर्ने र याक, चौंरी पनि बसेकै ठाउँमा पुरिने भएकाले हिउँ पर्नु अघि नै संकलन गर्नुपर्छ। नत्र, याक चौंरी हराएर ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले आकाशमा कुहिरोको अवस्था हेरेर याक चांैरी संकलन गरिन्छ। तर, अहिले यो अवस्था नरहेको शेर्पा बताउँछन्। ‘कुहिरो रातो, रातो भएर फाटेको अवस्था देखियो भने भोलि अथवा राति हिउँ पर्छ भन्ने अनुमान पहिले सही हुन्थ्यो। अहिले त्यस्तो अवस्था छैन। यस्तो मौसम हुँदा पनि हिउँ पर्दैन,’ उनले भने। 

इन्टरनेसनल सेन्टर फर इन्टेग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) को कञ्चनजंघा ल्यान्डस्केप इनिसियटिभ नामक संरक्षण कार्यक्रममा लामो समय कार्यक्रम प्रमुख भएर काम गरेका टाँसी दोर्जी शेर्पा पछिल्लो समय जलवायु परिवर्तनको असर यहाँको मौसममा पनि परेको बताउँछन्। भन्छन्, ‘समयमा हिउँ पर्दैन। परेको समयमा पनि अस्वाभाविक रूपमा हिउँ पर्छ।’ उनी यहाँका स्थानीयको परम्परागत अनुमान पहिले सही हुने गरेको भए पनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मेल खान छाडेको बताउँछन्। ‘पहिले स्थानीय आकाशमा कुहिरोको अवस्था र हावाको गति हेरेर हिउँ वा पनी पर्ने अनुमान गर्थे। त्यो अनुमान लामो समयसम्म मेल खाएको बुढा पाकाको अनुभव पनि छ। तर, पछिल्लो समय यो पूर्वानुमानले मेल खाँदैन। यसले यहाँका स्थानीयको दैनिकीमा नै असर गरेको छ,’ उनी भन्छन्।

मौसम फेरिँदा पशुधनमा बढी क्षति

पछिल्लो समय ताप्लेजुङको हिमाली क्षेत्रमा मौसममा आएको परिवर्तन सँगै धेरै कुरामा असर परेको छ। यसबाट स्थानीयले धेरै क्षति पनि बेहोर्नु परेको छ। स्थानीय ५८ वर्षीय शेरबहादुर गुरुङ आपूmले यो उमेर सम्ममा मौसमको फरक–फरक रूप देखेको र त्यसले स्थानीयको दैनिकी र जीविकोपार्जनमा पनि प्रत्यक्ष असर गरेको बताउँछन्। ‘पहिले हाम्रा पुर्खादेखि नै कुहिरो हेरेर र हावाको चाप महसुस गरेर मौसम थाहा पाउन सक्थ्यौं। सबै कुरा ठीकै पनि थियो। तर, अहिले त्यसो हुँदैन। नसोचेको समयमा हिउँ पर्दा याक, चौंरी हिउँले पुरिएर लामो समय बेपत्ता भएका छन् भने कति त मरेका पनि छन्,’ उनले भने, ‘यो मौसमकै कारण स्थानीयले ठूलो नोक्सानी बेहोरिरहेका छन्।’

पछिल्लो समय अस्वाभाविक रूपमा हिउँ पर्दा छिमेकी मुलुक भारतको उत्तरी सिक्किम र भुटानमा धेरै याक र चांैरी मरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरे। ताप्लेजुङको उत्तरी हिमाली क्षेत्रका स्थानीयले पनि यस्तो समस्या केही वर्षयता भोग्दै छन्। स्थानीय नुपु शेर्पा नसोचेको समयमा हिउँ पर्दा बर्सेनि याक चौंरी हराउने र मर्ने समस्या जिल्लाको ओलाङ्चुङगोला, याङ्मा र घुन्सामा देखिएको बताउँछन्। भन्छन्, ‘यहाँ पनि त्यस्तो समस्या छ। हामी खर्कमा चौंरी र याक चरोस भनेर छाड्छौं। नसोचेको समयमा हिमपात र वर्षा हुन्छ। मान्छेको जीवन नै जोखिममा राखेर याक चौंरी खोज्न जान्छौं। केही भेटिन्छन्, केही हराउँछन्। कति त पछि हिउँ पग्लेपछि मरेको अवस्थामा पनि भेटिएका छन्।’

दशकौंदेखि अनियन्त्रित रूपमा हरितगृह ग्यास उत्सर्जन भइरहेका कारण नेपालका हिमाली क्षेत्रमा यसको ठूलो असर देखिएको छ। हिमपात र तापक्रम वृद्धि यहाँका समस्या हुन्। पछिल्लो समय फरक मौसमका कारण याक र चौंरीमा विभिन्न रोग पनि देखिन थालेका छन्। यसले स्थानीयलाई आर्थिक रूपमा पनि ठूलो क्षति पुगेको स्थानीय शिक्षक ओम गौतम बताउँछन्। भन्छन्, ‘अहिले हिमाली क्षेत्रका पशुपालक कृषकका धेरै समस्या मौसममा आएको परिवर्तनसँग जोडिएको छ। पहिलेका खर्कहरूमा घाँस नउम्रनु, फरक–फरक समयमा हिउँ पर्नु र पशुहरूमा विभिन्न किसिमका रोग देखिनु मुख्य समस्या हो। यसले किसानलाई ठूलो क्षति पुगेको छ,’ उनी थप्छन्, ‘जलवायु परिवर्तनको असर हो भने यसको अनुसन्धान गरेर समयमा यसबाट जोगिने उपाय यहाँका स्थानीयलाई बताउनुपर्छ।’


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.