ताल पुरिनबाट यसरी जोगाऔं

इजलास

ताल पुरिनबाट यसरी जोगाऔं
सुन्नुहोस्

पोखरामा ठूला साना गरी ९ वटा ताल छन्। ताल पुरिने समस्या मानवीय र प्राकृतिक दुवै किसिमले हुन्छ। तालको जलाधार क्षेत्रमा जथाभावी बाटो खन्ने तर पहिरो नियन्त्रणका काम सँगसँगै नगर्दा पहिरो जाने क्रम बढेको छ। बाटो बनाएसँंगै पहिरो नियन्त्रणका काम पनि सँगसँगै हुनुपर्छ। त्यो अवधारण हामीकहाँ अझै बनेको छैन। यसकारण पनि पोखराका तालहरू विशेष गरी फेवाताल जोखिममा पर्दै आएको छ। 

तालको सिमसार क्षेत्रहरूको संरक्षणमा ध्यान नदिँदा पनि तालहरू जोखिममा पर्छन्। तालको जलाधार क्षेत्रमा गएको पहिरो तालको सिरानको सिमसार क्षेत्र (फेवा फाँटमा) जम्मा हुन्छ। सिमसार क्षेत्रको संरक्षण गर्न नसके तालको सिरानबाट आउने पहिरो सोझै खोला हुँदै तालमा ठूलो परिमाणमा थुप्रने र ताल छिटो पुरिने क्रम बढ्छ। यसैले तालको आयु बढाउन सिमसार क्षेत्र संरक्षण अनिवार्य गर्नुपर्ने हुन्छ। बाढी पहिरो थ्रिगने सिमसार क्षेत्र संरक्षण हुन नसके ताल छिटो पुरिन्छ। यसका लागि ताल मुहान र किनारका सिमसार क्षेत्रका व्यक्तिका जमिन अधिग्रहण गरेर संरक्षण गर्न सकिन्छ। 

सिमसार संरक्षण गर्न सके तालमा ठूलो मात्रामा माटो पुग्नबाट रोकिन्छ। यसले तालको आयु बढाउन सकिन्छ। पछिल्लो समयमा तालको सिमसार क्षेत्र पुरेर घडेरी बन्ने क्रम सुरु भएको छ। ताल संरक्षणका लागि यो चुनौती हो। तालको जलाधार क्षेत्रमा खेती गर्दा, वृक्षरोपण गर्दा पनि ध्यान दिनुपर्छ। भिरालो जमिनमा त्यहाँको जमिनले थेग्न सक्ने प्रजातिका रूख रोप्नुपर्छ। भिरालो जमिनले थेग्न नसक्ने रूख रोप्दा वन नै पहिरो जान्छ। 

पोखराका तालहरू विश्व रामसार सूचीमा सूचीकृत भएका तालहरू हुन्। यहाँ हजारौं आगन्तुक चराहरू आउँछन्। चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र वनस्पतिको विविधता पनि सिमसार क्षेत्रमा पाइन्छ। पर्यटन, कृषि, जलविद्युत्का लागि पनि पोखराको फेवातालले महत्वपूर्ण भूमिका खेलेको छ। 

यति धेरै महत्व बोकेका तालहरूको संरक्षणमा तीन तहकै सरकारले नतिजा देखिने काम गर्न सकेको देखिँदैन। फेवातालको मुहान क्षेत्रमा महानगरपालिका र प्रदेश सरकारको लगानीमा सिल्टेसन पोखरीहरू बनेका छन्। यो सकारात्मक कुरा हो तर, सिल्टेसन पोखरी खोलामा आउने गेग्रयान र माटोहरू धान्न सक्ने क्षमताको हुनुपर्छ।  एक/दुईपटक बाढी आउँदै भरिएर तालमै माटो, गेग्रयान पुग्ने अवस्था हुनुहुँदैन। यसतर्फ ध्यान दिँदै पहिरो नियन्त्रण, र बजार क्षेत्रबाट हुने प्रदूषण नियन्त्रणका काम गर्नु आवश्यक छ। सिमसार क्षेत्रहरू संरक्षणमा ढिलाइ भइरहेकाले यसतर्फ सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने देखिन्छ।

(सुवेदी जलाधार तथा सिमसार व्यवस्थापन विज्ञ हुन्। उनी वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसका उपप्राध्यापक पनि हुन्। )
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.