कोशीमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त
विराटनगर : कोशी प्रदेश सरकारले प्रदेशभित्रका सञ्चारमाध्यमको दर्ता, नियमन र अभिलेखीकरणलाई संस्थागत बनाउन ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल र प्रदेश प्रेस रजिष्ट्रारमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको छ। नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षसमेत रहेका दाहाल नेपाली कांग्रेस निकट हुन् भने भट्टराई नेकपा (एमाले)सँग आबद्ध छन्।
प्रतिष्ठानका सदस्यमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल र अर्जुन राजवंशी (झापा) तथा ध्रुव ढकाल (सुनसरी) नियुक्त भएका छन्। कोशी प्रदेश आमसञ्चार ऐन, २०८२ बमोजिम गठित प्रतिष्ठानमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।
प्रदेश सरकारले उक्त ऐनमार्फत सञ्चारमाध्यमको दर्ता, नवीकरण, अनुगमन र अभिलेखीकरणलाई व्यवस्थित गर्दै स्वतन्त्र, निष्पक्ष र नागरिकप्रति जवाफदेही सञ्चार वातावरणको प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया दिनुहोस !