एचआरडी कोरियाले भन्यो- ईपीएसमार्फत कोरिया जाने श्रमिकलाई हामीले सिफारिस गर्न मिल्दैन
काठमाडौं : नेपालस्थित नेपाल ईपिएस सेन्टरले ईपीएसमार्फत कोरिया जाने श्रमिकलाई संस्थाले सिफारिस गर्न नमिल्ने प्रष्ट पारेको छ। कार्यालयले सूचना जारी गरेर श्रमिकलाई कम्पनीमा सिफारिस ( फाइल पठाउने) गर्ने काम नेपाल ईपीएस सेन्टर, एचआरडी कोरियाको कार्यक्षेत्रमा नपर्ने विषय स्पष्ट पारेको हो।
कार्यालयले कार्य प्रकृति, प्रणालीको प्रक्रिया जाँच, आदि गर्ने क्रममा राहदानी विवरण माग गरिएकाले यसमा भ्रम नछर्न कार्यालयले आग्रह गरेको छ। श्रमिकलाई कम्पनीमा सिफारिस (फाइल पठाउन) वा आर्थिक लाभ लिन राहदानी विवरण नमागिएको भन्दै भ्रम नफैलाउन आग्रह गरेको हो।
कार्यालयले नेपाल ईपीएस सेन्टरको प्रमुख वा कार्यकारी प्रमुख पदमा जहिले पनि एचआरडी कोरियाबाट पठाइएका एचआरडी कोरियाको स्थायी कर्मचारी (दक्षिण कोरियाली नागरिक) मात्र नियुक्त हुने जनाएको छ। स्थानीय नेपाली कर्मचारी सेन्टर प्रमुख वा कार्यकारी प्रमुखको पदमा नियुक्त हुन नपाउने सूचनामा उल्लेख गरिएको छ।
नेपाल ईपीएस सेन्टरको कर्मचारीले अनियमितता गरेको पाइएमा कानुनअनुसार कारबाही हुने जनाएको छ। नेपाल ईपीएस सेन्टरले कानुनी निकायको सहकार्यमा अनुसन्धान सुरु गर्ने छ। दोषी साबित भएमा दण्ड, सजाय हुने कार्यालयले जनाएको छ। तर यदि झूटा अफवाह, गलत सूचना फैलाउने कार्य गरेको प्रमाणित भएमा यस सेन्टरले त्यस्ता व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस !