पिर्के सलामी विवादमा रास्वपा सांसद आशा झा
विराटनगर : लोकतन्त्रमा जनप्रतिनिधि जनताका सेवक हुन् भन्ने मान्यता स्थापित भए पनि व्यवहारमा भने अझै ‘विशेष सम्मान’ खोज्ने प्रवृत्ति समाप्त हुन नसकेको पाइएको छ । मोरङ क्षेत्र नम्बर ५ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशा झा रंगेलीमा प्रहरीबाट लिएको ‘पिर्के सलामी’का कारण अहिले विवादमा तानिएकी छन् ।
आइतबार मोरङको इलाका प्रहरी कार्यालय रंगेलीमा पुगेकी सांसद झाले रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरी टोलीबाट सलामी ग्रहण गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । भिडियोमा सांसद झा पिर्कामाथि उभिएको र प्रहरी टोलीले औपचारिक सलामी दिइरहेको दृश्य देखिन्छ ।
यही दृश्यलाई लिएर लोकतान्त्रिक संस्कार,जनप्रतिनिधिको सादगी र राज्य संयन्त्रमा बाँकी रहेको सामन्ती मानसिकताबारे प्रश्न उठ्न थालेको छ । विशेष गरी वैकल्पिक राजनीति,सादगी र पुराना राजनीतिक विकृतिविरुद्ध अभियान चलाउँदै उदाएको रास्वपाकी सांसदबाट यस्तो व्यवहार देखिएको भन्दै धेरैले आलोचना गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘जनताको प्रतिनिधि कि शासक ?’ र ‘पिर्कामा उभिएर सम्मान खोज्ने संस्कार कहिलेसम्म ?’ जस्ता टिप्पणी गर्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
कतिपयले पुराना दलका नेताले गरेका गतिविधिको आलोचना गर्नेहरू आफैं सत्तामा पुगेपछि उही शैलीमा प्रस्तुत हुन थालेको आरोपसमेत लगाएका छन् । धेरैले जनप्रतिनिधिले आफूलाई नागरिकभन्दा माथिल्लो तहको व्यक्ति ठान्ने सोच अझै समाप्त नभएको बताएका छन् । सांसद झाले भने आफूले ‘पिर्के सलामी’ माग नगरेको दाबी गरेकी छन् । उनले आफू रंगेलीमा काली मन्दिर दर्शनका लागि पुगेको बताइन् । त्यही क्रममा प्रहरीले आग्रह गरेपछि मात्रै प्रहरी कार्यालय गएको उनले बताइन् ।
‘प्रहरी कार्यालय जाने मेरो कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । उहाँहरूले सम्मान दिनुभयो, मैले अस्वीकार गर्नु पनि उचित ठानिनँ,’ सांसद झाको भनाइ छ । उनले आफूले आग्रह गरेर सलामी नलिएको र पाहुनालाई सम्मान गर्ने संस्कारलाई सामान्य रूपमा लिनुपर्ने तर्क गरेकी छन् ।
यता मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले पनि घटनालाई अनावश्यक रूपमा विवादित बनाइएको प्रतिक्रिया दिएका छन् । उनले सांसदलाई गरिएको सम्मानलाई अन्यथा अर्थ लगाउन नहुने बताए । ‘सामाजिक सञ्जालमा विषय धेरै फैलिएपछि विवादजस्तो देखिएको हो । यो सामान्य सम्मानको विषय हो,’उनले भने ।
तर,आलोचकहरू भने प्रहरीको यही शैलीमाथि प्रश्न उठाइरहेका छन् । लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिलाई ‘विशेष व्यक्ति’ बनाएर प्रस्तुत गर्ने संस्कारले राज्य संयन्त्र अझै पुरानो मानसिकताबाट मुक्त हुन नसकेको उनीहरूको तर्क छ । रंगेलीस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीले सांसद झालाई कार्यालयको निरीक्षण गराएका थिए । निरीक्षणका क्रममा हिरासत,कार्यालय भवन तथा अन्य भौतिक संरचनाको अवलोकन गरिएको थियो । प्रहरीले पूर्वाधार अभावका कारण काम गर्न कठिनाइ भइरहेको जानकारी गराएपछि सांसद झाले प्रहरीलाई सहयोग गर्न आवश्यक पहल गर्ने आश्वासन दिएको बताइएको छ ।
तर,प्रहरी कार्यालयको निरीक्षणभन्दा बढी चर्चा भने ‘पिर्के सलामी’ले पायो । नेपालमा यसअघि पनि यस्ता घटना पटकपटक विवादमा पर्दै आएका छन् । ओखलढुंगामा प्रदेशसभा सदस्य अम्बिरबाबु गुरुङले पिर्कामा उभिएर सलामी लिएको दृश्य सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसैगरी तत्कालीन माओवादी केन्द्रका नेता मोहनकुमार खड्का, एमाले नेतृ रामकुमारी झाँक्री तथा धनकुटाको महालक्ष्मी नगरपालिकाका तत्कालीन मेयर पर्शुराम नेपाललगायत धेरै जनप्रतिनिधि यस्तै विवादमा तानिएका थिए ।
विशेष गरी पञ्चायतकालमा प्रचलित ‘पिर्के सलामी’को संस्कार लोकतन्त्रपछि हराउँदै जाने अपेक्षा गरिएको थियो । तर,पछिल्ला वर्षमा निर्वाचित जनप्रतिनिधिहरूबाटै यस्ता दृश्य दोहोरिन थालेपछि लोकतान्त्रिक संस्कार कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ । सुरक्षाविज्ञहरूका अनुसार सेना र प्रहरीमा विशिष्ट व्यक्तिलाई सलामी दिने परम्परा पुरानो भए पनि त्यसको प्रयोग औपचारिक कार्यक्रम र निश्चित प्रोटोकलभित्र सीमित हुनुपर्छ । अनावश्यक रूपमा शक्ति प्रदर्शन गर्ने शैलीमा सलामी दिने वा लिने प्रवृत्तिले सुरक्षा संयन्त्रको व्यावसायिकतामाथि प्रश्न उठाउने उनीहरूको भनाइ छ ।
रास्वपाले पुराना राजनीतिक संस्कारको विरोध गर्दै वैकल्पिक राजनीतिको नारा अघि सारेको थियो । तर,आफ्नै सांसद ‘पिर्के सलामी’विवादमा तानिएपछि पार्टीको व्यवहार र सार्वजनिक भाषणबीचको दूरीबारे पनि प्रश्न उठ्न थालेको छ । रंगेलीको यो घटनाले राजनीतिक अनुहार फेरिए पनि के शक्ति प्रदर्शनको पुरानो शैली साँच्चै बदलिएको छ ? भन्ने प्रश्न उठाएको छ ।
प्रतिक्रिया दिनुहोस !