सुत्केरी बेथाले च्यापेकी महिलाको उद्धार

सुत्केरी बेथाले च्यापेकी महिलाको उद्धार
क्याप्सन : उत्तरी गोरखामा बेथाले च्यापेकी गर्भवती महिला बोक्नै प्रहरी । तस्वीर : चुम्चेत स्वास्थ्यचौकी ।
सुन्नुहोस्

गोरखा :  हिमालपारि चुम्चेतमा खटिएका प्रहरीले सुत्केरी बेथाले च्यापेकी एक महिलालाई डोलीमा बोकेर उद्धार गरेका छन् । 

लामो समयदेखि बेथाले च्यापेको तर सुत्केरी हुन नसकेर थला परेकी चुमनुब्री ६ रिप्चेतकी पेमा लामालाई अस्थायी प्रहरी चौकी चुम्चेतमा कार्यरत प्रहरीले डोलीमा बोकेर बर्थिङ सेण्टर पुर्‍याएका हुन् । गुणस्तरीय स्वास्थ्य सेवा पनि नभएको र यातायात सेवाबाट बञ्चित रहेको रिप्चेतकी २५ बर्षीय पेमालाई प्रहरीले स्थानीय युवा तथा स्वास्थ्यकर्मीसंग समन्वय गरी डेढघण्टाको बाटो पर रहेको बर्थिङ सेण्टर पुर्‍याएका हुन् । 

उनलाई शनिबार राती १२ बजेदेखि सुत्केरी बेथाले च्यापेका थियो । बेथाले च्यापेकाे थाहा पाएपछि पेमा घरबाट उठेर गोठमा गएकी थिइन् । आइतबार बिहानसम्म पनि बच्चा जन्माउन नसकेपछि प्रहरीको सहयोगमा उद्धार गरिएको पेमाका भाइ नुर्बु ग्याल्जेनले जानकारी दिए। ‘दिदीलाई बेथा लाग्न थालेपछि गोठमा जानु भएको रहेछ । आमा पनि संगै हुनुहुन्थ्यो’, उनले भने, ‘रातभरि पनि बच्चा भएन। आमाले खबर गरेपछि रिप्चेत हेल्थपोस्टको स्वास्थ्यकर्मी आउनु भयो । उहाँहरुले जति सीप लगाउँदा पनि केही प्रगति भएन । हामीले उद्धारका लागि हेलिकोप्टर बोलाउने प्रयास गर्‍याै‌ । हेलिकोप्टर आउन पनि सम्भव भएन ।’ गुणस्तरीय स्वास्थ्य सेवा र यातायातको सेवाबाट बञ्चित उत्तरी गोरखाको अवस्था दर्दनाक रहेको उनले बताए । 

त्यसपछि उनीहरुले चुम्लिङ बर्थिङ सेण्टर लैजाने निर्णय गरे । चुम्लिङस्थित प्रहरीचौकीसंग बल मागे । ‘उताबाट प्रहरी दाजुभाइहरु पनि आउनु भयो । अनि हामी गाउँले युवाहरु मिलेर दिउसो ११ बजेतिर दिदीलाई डोलीमा बोकेर बर्थिङसेण्टर लग्यौं’, नुर्बु ग्याल्जेनले भने, ‘यहाँबाट ठाडै ओह्रालो बूढीगण्डकीमा ओर्लेर फेरि ठाडै उकालो चढ्नुपर्छ । साँगुरो, भीरको बाटो मान्छे बोकेर हिँड्न यति धेरै गाह्रो छ कि, त्यो भोग्नेलाई मात्र थाहा छ ।’ बाटो बाटोमा बिसाउँदै स्वास्थ्यकर्मीहरुले स्वास्थ्य परीक्षण गर्दै बर्थिङ सेण्टरसम्म मुस्किलले पुर्‍याएको उनले बताए। स्वास्थ्यकर्मीहरुको कडा मिहिनेतपछि अपरान्ह तीनबजेतिर बल्ल सुत्केरी गराउन सफल भएको उनले बताए । 

‘निषेधित क्षेत्र भएकाले भन्नेबित्तिकै हेलिकोप्टर पनि पाइँदैन । प्रहरी, स्वास्थ्यकर्मी र गाउँले दाजुभाइको कडा मिहिनेत र दिदीको भाग्यले बल्लतल्ल सुत्केरी गराउन सफल भइयो’, नुर्बु भन्छन्, ‘सहरमा भएको भए सुत्केरी हुने समय आएपछि अस्पताल भर्ना भएर बस्ने सुविधा हुन्थ्यो । दुर्गमको अबस्था यस्तो दर्दनाक छ ।’

पेमाले आइतबार दिउसो तीनबजेतिर पहिलो सन्तानका रुपमा छोरा जन्माएकी छिन् । सोमबार बिहानसम्म बच्चाको अबस्था सामान्य छ, तर पेमाको अवस्था भने जटिल रहेको नुर्बुले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.