बर्सेनि पूजा गरिँदै २८८ वर्ष पुरानो ताम्रपत्र
गोरखा : २८८ वर्षअघि राजाबाट आफ्ना पुर्खाले पाएको ताम्रपत्र गोरखा मान्बुका पछिल्लो पुस्ताले पूजा गरेर सुरक्षित राख्ने गरेका छन्। तत्कालीन गोर्खाली राजा नरभुपाल शाहबाट प्राप्त गरेको ताम्रपत्र आरुघाट गाउँपालिका–२ मान्बुका घले परिवारले बर्सेनि पूजा गरेर राख्ने गरेका हुन्।
पृथ्वीनारायण शाहका पिता नरभुपाल शाहले विक्रम सम्वद्ध १७९६ वि.सं. १७९६ जेठ १ गते मान्बुका तत्कालीन मुखिया रामु घलेलाई विभिन्न काम, कर्तव्य र अधिकार खुलाएर ताम्रपत्र प्रदान गरेका घले खलकका शेरबहादुर घले बताउँछन्।
‘पहिले–पहिले त्यो ताम्रपत्र बर्सेनि लामा गुरु लगाएर पढ्ने अनि पूजा गर्ने गरिन्थ्यो’, उनी भन्छन्, ‘अहिलेचाहिँ तीन÷तीन वर्षमा पूजा गर्ने गरिन्छ। यसलाई हामीले घले खलकले मान्ने कलदेवता जस्तै ठानेर पूजा गर्ने गरेका हौं।’ २८८ वर्ष पुरानो ताम्रपत्रलाई घले खलकको प्रतिष्ठाको रूपमा मान्दै आएको उनको भनाइ छ।
‘आगे रामु घलेके लकुवाको सापोनापो मन्बुमाहा विर्ता बकस भयो। मान्बुले उठायाको षठ्पूजा षोक्पा उलाक् रामु घलेले उठाउनु मान्बुले मान्याको सरैले बाराथरी दुबारे मानु। माहाभीरसमेत बकस भयो,’ सो ताम्रपत्रमा लेखिएको छ। अथवा रामु घलेलाई मान्बु, लकुवा, महभीर बकस दिएको ताम्रपत्रमा उल्लेख छ।
घलेहरू पहिल्यैदेखि राजा तथा मुखियाका पदमा रहेको प्रमाणका रूपमा पनि घले समुदायले यस ताम्रपत्रलाई लिने गरेका छन्। घले शासित मान्बु क्षेत्र राजा राम शाहले जितेर आफ्नो बनाएका थिए। पछि नरभुपाल शाहले सो क्षेत्रको रेखदेख र व्यवस्थापन गर्न रामु घलेलाई ताम्रपत्रमा लेखेर जिम्मेवारी दिएको इतिहासका जानकारहरू बताउँछन्।
राजा नरभुपाल शाह गोरखाबाट मान्बु क्षेत्र जान टाढा पर्ने भएकाले त्यस क्षेत्रको कर उठाउनेलगायतका व्यवस्था गर्न रामु घलेलाई जिम्मा दिएको प्रमाण रहेको घले समाजका अध्यक्ष दिनेश घले बताउँछन्। ‘कुनै बेला गोरखा, लमजुङ, मनाङ, कास्की, तनहुँ, धादिङमा घले राजाहरू थिए भन्ने एउटा प्रमाणका रुपमा यो ताम्रपत्रलाई लिएका छौ,’ उनी भन्छन्, ‘घलेहरूबाट खोसिएको क्षेत्रको रेखदेख गर्ने जिम्मा फेरि घलेलाई नै दिएको यो एउटा प्रमाण हो।’
अहिले सो ताम्रापत्र आरुघाट गाउँपालिका २ मान्बुका गजे घलेको घरमा सुरक्षित छ। गजे घले रामू घलेका पछिल्लो पुस्ताका सन्तान हुन्। हरेक वर्ष घर पूजा गरी राजाले दिएको ताम्रपत्र लामालाई पढ्न लगाई पूजा गर्ने गरेको उनका आफन्त शेरबहादुर घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !