अधिवक्ता सुदिग्य पन्त सगरमाथामा

अधिवक्ता सुदिग्य पन्त सगरमाथामा
सुन्नुहोस्

ओखलढुंगा : विश्वकै सर्वोच्च शिखर सगरमाथाको माथिल्लो क्षेत्र (डेथ जोन) मा यस सिजनकै अत्यधिक ‘ट्राफिक जाम’ र कठिन मौसमी चुनौती पार गर्दै नेपाली युवा अधिवक्ता सुदिग्य पन्तसहितको अन्तर्राष्ट्रिय टोलीले सगरमाथाको सफल आरोहण गरेको छ। प्रख्यात पर्वतारोहण एजेन्सी इलाइट एक्सपेडिसनमार्फत गएको ‘टोली ए’का सदस्यहरूले बुधबार नेपाली समयअनुसार बिहान १०:३० बजे सगरमाथाको चुचुरो चुम्न सफलता पाएको कम्पनीले जनाएको छ।

चौथो शिविर (क्याम्प ४– ७,९०० मिटर) भन्दा माथि मानव अस्तित्वका लागि अत्यन्तै जोखिमपूर्ण मानिने ‘डेथ जोन’ मा यस पटक आरोहीहरूले ठूलो सास्ती खेप्नुपरेको थियो। सगरमाथाको ८,७४९ मिटर उचाइमा रहेको ‘साउथ समिट’ देखि ‘हिलारी स्टेप’सम्मको साँघुरो एकतर्फी  बाटोमा आरोहीहरूको अत्यधिक भीड लागेको थियो। कम्पनीका अनुसार अधिवक्ता पन्तसहितको टोलीले सो क्षेत्रको कम अक्सिजन भएको घातक वातावरणमा करिब ४ घण्टा लामो जाम छिचोल्नु परेको थियो। उच्च जोखिम र फ्रोस्टबाइटको सम्भावनाका बाबजुद असाधारण धैर्यताका साथ यो टोली अन्ततः बुधबार बिहान शिखरमा पाइला टेक्न सफल भएको हो। 

सगरमाथाको शिखर चुम्ने सुदिग्य पन्त नेपालको कानुनी क्षेत्रका एक स्थापित युवा कर्पोरेट अधिवक्ता हुन्। उनी वरिष्ठ अधिवक्ता एवं नेपालका पूर्व महान्यायाधिवक्ता सुशील  पन्तका छोरा हुन्। हाल पारिवारिक ल फर्म ‘जुरिस्ट एन्ड कम्पनी’ मा पार्टनरका रूपमा कार्यरत छन्। अस्ट्रेलियाको युनिभर्सिटी अफ सिड्नीबाट ‘जुरिस डक्टर’ को कानुनी उपाधि हासिल गरेका पन्तले यसअघि सन् २०२४ मा ६,११९ मिटर अग्लो लोबुचे इष्ट हिमाल चढेर पूर्व–तयारी गरेका थिए। स्थापित रूपमा पूर्णकालीन कर्पोरेट र कमर्सियल कानुनको अभ्यास गरिरहेका नेपाली पुरुष अधिवक्ताहरूमध्ये सगरमाथाको शिखर चुम्ने सुदिग्य पन्त पहिलो अधिवक्ता बनेका छन्।

इलाइट एक्सपेडिसनका अनुसार बुधबारको यो ऐतिहासिक यात्रामा सुदिग्य पन्तलाई मुख्य गाइड फुर्वा ग्याल्जेन शेर्पाले शिखरसम्म सुरक्षित रूपमा डोर्‍याएका थिए। उनीसँगै सोही टोलीबाट अन्तर्राष्ट्रिय आरोहीहरू राजभान, नवल, भ्यालेरिया, शुभम, एग्नेस र जुहराले पनि सगरमाथाको सफल आरोहण गरे। उनीहरूलाई गाइडहरू क्रमशः किए तेम्बा, सन्देश शेर्पा, विकास गुरुङ, दावा तेम्बा, सुजल गुरुङ र सुरेन्द्र तामाङले साथ दिएका थिए। आरोहण टोली अहिले सुरक्षित रूपमा तल ओर्लने क्रममा छ।

इलाइट एक्सपेडिसनका सञ्चालक निर्मल पुर्जा (निम्सदाइ) का अनुसार, सगरमाथाको चुचुरोमा सफल आरोहण गरिसकेपछि अहिले सम्पूर्ण टोली सुरक्षित रूपमा आधार शिविर (बेसक्याम्प) तर्फ फर्कने क्रममा रहेको छ। कम्पनीले कठिन जाम र जोखिमपूर्ण परिस्थितिका बाबजुद प्राप्त यो गौरवपूर्ण विजयप्रति खुसी व्यक्त गर्दै सम्पूर्ण टोलीको सुरक्षित फिर्तीको पर्खाइमा रहेको जनाएको छ।

अमेरिकी इन्जिनियर उशाकोभद्वाराः ४ दिनमै ’सी लेभल टु समिट’ पूरा

अमेरिकी नागरिक तथा व्यवसायी एन्ड्रयु उशाकोभले समुद्र सतहदेखि सगरमाथाको चुचुरोसम्मको यही कम्पनीमार्फत गरेको यात्रा मात्र ३ दिन, २३ घण्टा र ७ मिनेटमा पूरा गर्दै विश्व कीर्तिमान कायम गरेका थिए। इलाइट एक्सपेडिसनका अनुसार, मे १९, २०२५ मा सम्पन्न यो आरोहण पर्वतारोहण इतिहासकै सबैभन्दा तीव्र गतिमध्येको एक थियो। 

न्युयोर्कबाट आफ्नो यात्रा सुरु गरेका उशाकोभले सगरमाथाको आधार शिविर हुँदै विश्वको सर्वोच्च शिखर चुमेका थिए। यसका लागि उनले ४०० घण्टाभन्दा बढी ‘हाइपोक्सिक ट्रेनिङ’ (कृत्रिम अक्सिजन अभावको तालिम) को सहयोग लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.