उपत्यकामा भयावह बन्दै सवारी दुर्घटना : ९ महिनामा १७४ जनाको ज्यान गयो

उपत्यकामा भयावह बन्दै सवारी दुर्घटना : ९ महिनामा १७४ जनाको ज्यान गयो
सुन्नुहोस्

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ सुरु भएपछि चैत मसान्तसम्म उपत्यकामा भएका सवारी दुर्घटनामा १७४ जनाको मृत्यु भएको छ। आव ०८१/८२ मा देशभर भएका सवारी दुर्घटनामा २४२८ जनाले ज्यान गुमाए।

अघिल्लो आवमा यो संख्या २२२७ थियो। उपत्यका ट्राफिक महाशाखा र प्रहरी प्रधान कार्यालय नक्सालको तथ्यांकले काठमाडौं उपत्यकामा हरेक दिन २ देखि ३ जनाले ज्यान गुमाउँछन्। देशभर ७ देखि १० जनाले सवारी दुर्घटनामा ज्यान गुमाउँछन्।

उपत्यका ट्राफिक महाशाखाले आइतबार एक कार्यक्रम गरी उपत्यकाको सवारी दुर्घटनाको तथ्यांक सार्वजनिक गरेको थियो। महासाखा प्रमुख नवराज अधिकारीले सवारीचालकले सवारी चलाउँदा तीव्र गति, मापसे र लापरबाही बढी गर्ने हँुदा दुर्घटना बढिरहेको बताउँछन्। उनी भन्छन्, ट्राफिक प्रहरीको कडा निगरानी र नियमित चेकजाँचमा थप कडाइ गरिएको छ।

उपत्यकामा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ४ हजार ६३१ सवारी दुर्घटना घटे। जसमा १७४ जनाको मृत्यु भयो। उक्त दुर्घटनामा १८६ जना गम्भीर घाइते भएका छन्। त्यसैगरी, ४ हजार ९२८ जना सामान्य घाइते भएका थिए। यो ९ महिनामा उपत्यकामा मात्रै ३ लाख ७३ हजार ५६२ वटा सवारीसाधन कारबाहीमा परे। उनीहरूबाट २६ करोड १९ लाख ३१ हजार १७७ रुपैयाँ राजस्व प्राप्त भएको थियो।

दुर्घटनामा मृत्यु हुनेमध्ये सबैभन्दा बढी १६ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति छन्। केही काम गरेर परिवार पाल्ने उमेरका युवाहरू दुर्घटनामा बढी परिरहेका छन्। यस्तै, दुर्घटनामा मृत्यु हुनेमा बालबालिका पनि रहेका छन्। ७ जना १६ वर्षमुनि रहेका छन्। ३६ वर्षमाथिका ८१ जना रहेको ट्राफिकले बताएको छ। मृत्यु हुनेमध्ये धेरैजसो पुरुष छन्। १७४ जनामा १२८ जना पुरुष ३३ जना महिला र १ बालक अनि २ बालिका रहेका छन्।

सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरबाही

महाशाखा प्रमुख नवराज अधिकारीले, मुलुकमा हुने सवारी दुर्घटनामा सबैभन्दा बढी कारण चालकको लापरबाही देखिएको बताउँछन्। उपत्यका ट्राफिक महाशाखाका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सवारी दुर्घटनाको प्रमुख कारण भनेकै मानवीय त्रुटि र कमजोरी रहेको छ। 

दुर्घटनाका घटनाको अनुसन्धान गर्ने क्रममा धेरैजसो दुर्घटना तीव्र गतिकै कारण हुने गर्छ। उनी भन्छन्, अरू बेला गफ लगाएर लामो समय अल्मलिने चालक सवारी लिएर सडकमा पुगेपछि भने निकै हतारो गर्छ। यस्तो लाग्छ, उभन्दा बढी व्यस्त कोही छैन। तीव्र गति जीवनको क्षति भन्ने नारा यसै बनेको हैन।
सवारी दुर्घटना हुनुमा मापसे, लापसे, मोबाइल फोनको प्रयोग, लेन अनुशासनको उल्लंघन, जथाभावी बाटो काट्ने प्रवृत्ति, सडक अतिक्रमण, तनावमा सवारी चलाउनु, थकानमा सवारी चलाउने जस्ता गतिविधिले दुर्घटना बढिरहेका छन्। यसका साथै, यान्त्रिक गडबडीका कारण पनि दुर्घटना भइरहेका छन्।

नेपाली प्रहरीका आईजीपी दानबहादुर कार्कीले नेपालको जटिल भू–गोल र अव्यवस्थित सडक संरचनाका कारण सवारी दुर्घटना बढ्दै गएको बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा उनले जटिल भुगोग र देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाले दुर्घटनाको जोखिम थप बढाएको बताए। 

नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्त दुःखद बन्दै गएको भन्दै दैनिक औसतमा ८ जनासम्मको मृत्यु हुने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको आईजीपी कार्कीको भनाइ थियो।

३१ वटा सवारी लाइसेन्स निलम्बनका लागि पत्राचार

उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारीसाधन चलाएर कारबाहीमा परेका चालकहरूको चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरेको छ। लापरबाहीपूर्ण सवारीसाधन चलाएर १५–२० पटक कारबाहीमा परेका चालकहरूको चालक अनुमतिपत्र निलम्बनका लागि सिफारिस गरिएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले यही महिनामात्रै ३१ वटा सवारीचालकका सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात कार्यालयमा लेखेर पठाइएको जानकारी दिए।

उनले राइडर सेवाका मोटरसाइकलहरूमा एसओएस बटन क्यामरा अनिवार्य गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिए। ट्राफिक प्रहरी र आम चालक–सडक प्रयोगकर्ता बीचको गुनासोलाई सम्बोधन गर्नका लागि ट्राफिक प्रहरीको आचरण सुधारका पनि कार्यालय अघि बढिरहेको उनले बताए। त्यस्तै, प्रमुख अधिकारीले विभिन्न स्थानमा पार्किङ गरेर सडक अस्तव्यस्त भएकाले काठमाडौंको नयाँ बसपार्कबाट मात्रै लामो तथा छोटो दूरीका सवारी छुट्ने व्यवस्था गरिएको जानकारी दिए। जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका कार्यालयहरूको मर्मत गर्दै ट्राफिक व्यवस्थापन र कारबाही प्रक्रियालाई थप सशक्त रूपमा अगाडि बढाउँदै अगाडि लगिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.