मधेसमा ‘डिजे’ आतंक

चर्को ध्वनिले आजित सर्वसाधारण

मधेसमा ‘डिजे’ आतंक
डिजे बजाएर पूजा गर्न निस्किएका स्थानीय। तस्बिर : मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : ट्र्याक्टरमा बाँधिन्छन्, चारदेखि पाँच वटासम्म ठूलठूला साउन्ड बक्स र बुफरहरू। यसको पछाडि जडान गरिन्छ जेनरेटर। गाडीमाथि साउन्ड सिस्टम राखेर एकजना अपरेटरले त्यसलाई चलाउँछन्। त्यसपछि फुल साउन्डमा बज्न थाल्छन् अश्लील गीतहरू। मधेसमा ‘डिजे बाजा’ भनेर चिनिने ट्र्याक्टर अगाडि गुडछन, पछिपछि झुन्ड बनाएर नाच्दै निस्किन्छन् महिला–पुरुष।

पछिल्लो समय मधेस प्रदेशमा बिना डिजे न त कुनै विवाह हुन्छ, न त कुनै पर्व नै। कुनै पनि शुभकार्यमा डिजे बाजा अनिवार्य भइसकेको छ। डिजेमा चर्को स्वरमा गीत बजाउनुलाई मानसम्मान मानिन्छ। डिजेको चर्को स्वर सहनै नसकिने भए पनि त्यसको विरोधमा बोल्ने कोही पनि हँुदैनन्। किनकि सबैले आआफ्नो घरमा बेलाबेलामा यस्तो कार्यक्रम आयोजना गरेकै हुन्छन्। त्यसैले तै चुप मै चुप भएर बस्छन्।
डिजे आतंकले मधेस प्रदेशमा ठूलठूला सामाजिक द्वन्द्व र आपराधिक घटना भएका छन्। तर, पनि डिजेको क्रेज कम हुनुको साटो झन्झन् बढ्दै गएको छ।

फागुन ८ गते रौतहटको सदरमुकाम गौर नगरपालिका ६ सबगढा गाउँमा दुई समुदायबीच डिजेकै कारण विवाद सिर्जना भयो। विवाद बढ्दै गएपछि ठूलो झडप भयो। गाउँमा रातिको बेला हिन्दु समुदायको विवाहमा चर्को स्वरमा डिजे बजाउँदै जन्ती गयो। सो बेला मुस्लिम समुदायका मस्जिदमा सबै नवाज पढिरहेका थिए। मस्जिद अगाडि अश्लील गीत बजाउँदै मानिसहरू नाचगान गर्न थालेपछि भनाभन सुरु भयो र केही बेरमै विवाद झडपमा परिणत भई कुटपिट र ढुंगामुढा सुरु भयो। विवाद बढ्दै जाँदा अर्को दिन दुवै समुदायका व्यक्तिले एक मालवाहक टिपर जलाए भने मोटरसाइकल र अन्य सवारीहरूमा पनि क्षति पुर्‍याए। अवस्था साम्य पार्न दिनभरि प्रहरीले निषेधाज्ञा जारी गर्नु पर्‍यो। अवस्था नियन्त्रणमा लिन नेपाली सेनासमेत परिचालन गर्नु परेको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल बताउँछन्।

‘मधेसमा बिहेवारी र मनोरञ्जनका लागि बजाइने डिजे ध्वनि एक प्रमुख सार्वजनिक उपद्रव नै बनेको मैले अनुभव गरेको छु,’ साउन्ड प्रोफेसनलको रूपमा काम गर्दै आएका रञ्जन झा जनकपुरको दुई महिना बसाइँपछि आफ्नो सामाजिक सञ्जालमा लेख्छन्, ‘ध्वनि निकाल्न प्रयोग गरिएका शक्तिशाली प्रणालीहरू विशेषगरी सबवुफरहरू, क्लब वा इजाजतपत्र प्राप्त स्थलहरूजस्ता नियन्त्रित भित्री वातावरणको लागि डिजाइन गरिएका हुन्छन् न कि खुला तथा सार्वजनिक स्थानहरूको लागि। यो केवल असुविधामात्र होइन यसले सामुदायिक शान्ति, मानसिक कल्याण र श्रवण स्वास्थ्यलाई समेत असर गर्छ। जनतालाई अनियन्त्रित आवाजबाट जोगाउन कडा नियमन र कार्यान्वयनको समय आएको छ। ’

छाडा डिजे र अनियन्त्रित ध्वनि प्रदूषणको विरुद्धमा २०७९ साल मंसिर २५ गते उच्च अदालत जनकपुरमा अधिवक्ताद्वय राहुलकुमार झा र आरती साहले परमादेशलगायत उपयुक्त आदेश माग्दै रिट निवेदन हालेका थिए। मधेस प्रदेश सरकार र धनुषा जिल्लाका सबै स्थानीय तहलाई विपक्षी बनाएर दर्ता गराइएको उक्त रिटमा, ‘स्वच्छ र शान्त वातावरणमा बस्न पाउने हक सबै नागरिकको रहेको हुँदा उक्त हकमा दिनदिनै खेलवाड भइराखेको र पालिका लगायत मधेस प्रदेशभरि नै ध्वनि प्रदूषणले विकराल रुप लिँदै आएको हुँदा निवेदन दर्ता गराउनु परेको’ उल्लेख गरिएको थियो।

उक्त रिटमाथि २०८१ साल जेठ महिना २२ गते उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले निर्देशनात्मक आदेश जारी गर्‍यो। उक्त आदेशमा ‘धनुषा, महोत्तरीलगायतका मधेस प्रदेशका सबै स्थानमा ध्वनि प्रदूषण नियन्त्रणका उपायहरू पहिचान गरी एकीकृत ध्वनि प्रदूषण नियन्त्रणसम्बन्धी मापदण्ड निर्धारण गरी लागू हुन जरुरी भएकोले प्रस्तुत रिटमार्फत विपक्षीहरूका नाउँमा निर्देशात्मक आदेश जारी हुने ठहर्छ’ भनी उल्लेखित छ।

अदालतले ध्वनि प्रदूषण नियन्त्रणको लागि आदेश दिएपछि प्रदेशमा त्यसको पालना भएको छैन। ‘एउटा सामान्य पूजापाठ हुँदासमेत घरको छतमा चारैतिर लाउडस्पिकर लगाएर गीत बजाउँछन्। धार्मिक कार्यमा बाधा गर्न को जाओस् भन्दै सहन बाध्य हुन्छौं,’ जनकपुरधाम उपमहानगरपालिका—४ का सन्तोष साह भन्छन्, ‘गीत बजाउँदा पनि निकै अश्लील र घरपरिवारसँग बसेर सुन्नै नसक्ने खालका हुन्छन्। खै यो कसरी नियन्त्रणमा आउँछ थाहै भएन।’

मानिसले नचाहेको आवाज लगातार सुन्नैपर्ने बाध्यता ध्वनि प्रदूषण हो। संविधानको धारा ३० मा मौलिक अधिकारको रुपमा प्र्रत्येक नागरिकलाई स्वस्थ र स्वच्छ वातावरणमा बाँच्न पाउने हक हुने, वातावरणीय प्रदूषण वा हसबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानुन क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने उल्लेख छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा २ (ञ) मा ‘प्रदूषण’ भन्नाले फोहरमैला, रसायन, ताप, ध्वनि, विद्युतीय, विद्युत् चुम्बकीय तरंग वा विकीरणका कारण वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले परिवर्तन गरी वातावरणमा उल्लेखनीय हस ल्याउने, क्षति पुर्‍याउने वा वातावरणको उपयोगी प्रयोजनमा हानि पुर्‍याउने कार्य सम्झनुपर्छ भनी परिभाषित गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.