अविरल वर्षाले कोशीसहित तीन राजमार्ग जोखिममा
धनकुटा : अविरल वर्षाका कारण गएको पहिरोले जिल्लाका विभिन्न स्थानमा रहेको भौतिक संरचनामा क्षति पुर्याएको छ। धनकुटामा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार अहिलेसम्म मानवीय क्षति भएको छैन। तर, पहिरोले घर बगाउने, झोलुंगे पुल भत्काउने र राजमार्ग अवरुद्ध बनाएको प्रमुख जिल्ला अधिकारी गेलालले बताए।
अविरल वर्षापछि लेउती खोलामा आएको बाढीले कटान गर्न थालेपछि साँगुरीगढी गाउँपालिका –६ घण्टे नजिकैको भगवती प्राविको भवनलाई जोखिम बनाएको छ।
खोलाले धार परिवर्तन गर्दै विद्यालयको भवनतर्फ कटान सुरु गरेको छ। स्काइभेटरको सहयोगमा खोलाको धार परिवर्तन गर्ने काम भइरहेको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए। उनका अनुसार लेदो सहितको बाढी तीव्र गतिमा बगिरहेको कारण धार परिवर्तन गर्न समस्या भइरहेको छ।
यसैगरी, मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रिवास नगरपालिका–५ डिकुरे र वडा नं. ४ पाख्रिवास क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। अविरल वर्षासँगै आएको पहिरोका कारण पाँच घण्टाभन्दा बढी यातायात आवगमन ठप्प भएको छ। पहिरो पन्छिएसँगै एकतर्फी सवारी आवतजावत सुचारु भएको प्रहरीले जनाएको छ।
यसैगरी, धनकुटा नपा–९ बेलहरामा पहिरोले दुई गोठ पूर्ण क्षति हुँदा एक भैंसी र एक बाख्रा मरेका छन्। मानवीय क्षति भने छैन। त्यस्तै, धनकुटा चौबिसे गाउँपालिका–२ तोड्केमा पहिरोले ट्याउरी माया मगरको घर पूर्ण क्षति भएको छ। मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ।
परिवारकालाई आफ्नतको घरमा सुरक्षित स्थानान्तरण गरिएको छ। जिल्लाको सहिदभूमि गाउँपालिका–१ हाङवामा चट्याङ लागेर ३२ वर्षीय पूर्णप्रसाद राई घाइते भएका छन्। उपचारका लागि धरानस्थित विजयपुर अस्पताल पठाइएको छ।
भेडेटार–रवि–राँके सडकखण्ड खुलेन
धनकुटा–पाँचथर–इलाम जोड्ने भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गतका विभिन्न स्थानमा गएको पहिरो पन्छाउने काम नसकिँदा अझै पनि सडक सुचारु हुन सकेको छैन।
सडकखण्डको प्रवेशद्वार भेडेटारदेखि डाँडाबजारसम्मको खण्डको लुम्फाजुङ, पहिरे र बालुवाखानीमा पहिरोले सडक पुरेको छ। निर्माण कम्पनीको स्काइभेटरले सडकको पहिरो पन्छाउने काम तीव्र रूपमा गरिरहेको छ। पहिरो पन्छाउने काम भोलि सम्म लाग्ने भएकाले हिँड्डुल नगर्न स्थानीयलाई सूचना प्रवाह गरिएको साँगुरीगढी गाउँपालिका– ५ का वडाध्यक्ष खड्ग लिम्बुले बताए।
तमोर करिडोर पनि अवरुद्ध
तमोर करिडोर खण्डका विभिन्न स्थानमा रहेको खोलामा निरन्तर बाढी आएपछि सडक अवरुद्ध बनेको छ। उक्त सडकखण्डको अधिकांश भाग कालोपत्रे भए पनि चौबिसे गाउँपालिका–४ छरुवा खोलासहित विभिन्न स्थानको खोलामा पक्की पुल निर्माणाधीन हुँदा सवारीसाधन आवतजावत गर्न सकेका छैनन्।
निरन्तर वर्षाले खोलामा पानीको बहाव ठूलो रहेको छ। सवारीसाधन मात्र होइन। स्थानीयलाई आवतजावत गर्नसमेत समस्या भएको छ।
छरुवा खोलाको मोटरेवल पुलको पिल्लरबाहेक अरू संरचना बाढीले बगाएको स्थानीय महेन्द्र न्यौपानेले बताए। उनका अनुसार रौता कम्पनीको छरुवा खोलामा रहेको क्रसर उद्योग बगाएर खण्डहर बनाइदिएको छ। छरुवा खोलाको बाढीले स्थानीयको खेतसमेत बगाइदिएको उनले बताए।
तमोर नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका बस्ती जोखिममा
निरन्तर अविरल वर्षाले तमोर नदीमा पानीको बहाव बढेसँगै तटीय क्षेत्रका वस्तीमा जोखिम बढेको छ। विशेषगरी चौबिसे गाउँपालिकाको भैंसेटार, फलामेटार, सदामटार, साँगुरीगढी गाउँपालिकाको कुसेटार, धनकुटा नगरपालिकाको याम्चनाटार, सहिदभूमि गाउँपालिकाको साप्तिङटार, पोखरी गाउँ र अरूण नदीको बेंसी पिलिइंटार, खोकुटार, त्रिवेणी र अखुवाटार जस्ता नदीका बेंसी फाँटमा कटान हुने जोखिम बढेको छ। ती क्षेत्रका स्थानीय तहले सतर्क रहन सूचना जारीसमेत गरेको छ।
उद्धारका लागि तयारी अवस्था छौं : प्रजिअ
धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विपद्मा उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताएका छन्। उनले मानवीय र भौतिक पूर्वाधारमा हुने क्षति हुन नदिन उद्धारका लागि तयारी अवस्थामा रहेको बताउँदै जसको कारण स्थानीय तहसँग समन्वय गरिरहेको बताए।
विपद्ले सबैभन्दा बढी असर कोशी राजमार्गलाई हुने गरेको कारण पहिरो जानेबित्तिकै पन्छाउनका लागि स्काइभेटर तयारी अवस्थामा राखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !