सपनाको राजा
आज अचम्मै देखें सपना, राजै पो म भए छु !
विशाल सुन्दर दरबारैमा, भव्य प्रवेश हुँदैथ्यो
चारैतिर जय–जयकार ध्वनि, गगनैमा गुञ्जिरह्यो ।
ताज लगाई बस्दै म थिएँ, सिंहासनमा सुनको
अर्पण गर्दै थियो सलामी, टुकडी त्यो सेनाको ।
के छ र जीवनमा उपलब्धि, योभन्दा अरू ठूलो ?
यति हर्षित भो मन यो मानौं, जीवन नै धन्य भयो ।
मनमा त खुसी चल्दै नै ‘थ्यो, ब्युँझिसके पनि थोरै
राजा बन्ने सपना मनको, पूर्ण भयो सपनामै ।
बिस्तारै अनि सोच्न म थालें, खुसी भनेको के हो ?
वास्तवमै पनि राजा म भए, सुख यति नै त हुने हो !
सुखको रस नै वास्तवमा त्यो, मात्रै सपनामा हो
जीवनको सच्चाइँ त केवल, फुस्सा आशा नै हो ।
प्रतिक्रिया दिनुहोस !