ससुराको हत्या आरोपमा बुहारीसहित ४ पक्राउ

ससुराको हत्या आरोपमा बुहारीसहित ४ पक्राउ
सुन्नुहोस्

खाँदबारी : संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको हत्या आरोपमा बुहारीसहित ४ जना पक्राउ परेका छन्। कुमालको हत्या आरोपमा पक्राउ परेकाहरूलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्वजनिक गरेको हो।

आफ्नै बुहारी ४५ वर्षीया परिवर्तित नाम सङ्खुवासभा(फ) र नातिनी १२ वर्षीय परिवर्तित नाम सङ्खुवासभा (फ४)सहित अन्य दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। 

त्यसैगरी १७ वर्षीय परिवर्तित नाम सङ्खुवासभा(फ५) र १७ वर्षीय सङ्खुवसभा (फ८) पक्राउ परेका हुन्। बुहारी संखुवासभा(फ)ले नाबालक प्रयोग गरेर २० हजार दिने प्रलोभन देखाई हत्या गर्न लगाएको अनुसन्धानका क्रममा देखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। तीनजना नाबालक भएकाले प्रहरीले पत्रकार सम्मेलन गरेर बुहारीलाई मात्र सार्वजनिक गरेको हो।

मजदुर काम गर्ने दुई जनालाई बुहारीले हत्यापछि २० हजार दिने आश्वासन दिएकी अनुसन्धानमा खुलेको छ। बुहारी र नातिनीको योजनामा अन्य दुई जना हत्यामा जोडिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। 

मृतक कुमाल मदिरामा लट्ठ परेर बसेको मौका छोपेर ससुराको हत्याका लागि वैशाख १३ गते राती दुई जनालाई बुहारीले बोलाएकी थिइन्। उनीहरू घरमा आए पछि आफ्नै घरमा चारै जनाले नसालु पदार्थ(जाँड) खाई बुहारी र नातिनीले दुई जनालाई मृतक मीनबहादुरको घर देखाई मार्न लगाएको खुलेको छ। 

ती व्यक्तिहरूले नातिनी र बुहारीको योजना अनुसार नै घाँटी थिचेर हत्या गरेको उनीहरूले प्रहरीलाई बयान दिएका छन्। हत्यापछि उनीहरू चारै जना मुख्य योजनाकार कै घरमा सुतेको खुलेको छ।

उनीहरूलाई पक्राउ गर्न प्रहरीले अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुरसमेत परिचालन गरेको थियो। घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी नायब निरीक्षकको नृतत्वमा प्रादेशिक अनुसन्धान समूह खटिएको थियो। घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई घटनाको सातौं दिनमा सार्वजनिक गरिएको हो। पक्राउ परेका चारै जनालाई शुक्रबार जिल्ला अदालत संखुवासभामा म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

मृतक मीनबहादुरले २०५९ असोजमा भाइ नाता पर्नेको कर्तव्य गरी हत्या कसुरमा कैद भुक्तान गरेका थिए। त्यसै गरी उनले २०७१ मा आफ्नै छोरालाई समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। सोही घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई २०७२ वैशाख ७ को आदेशले ५ वर्ष कैद सजाय भुक्तान गरेका हुन्। 

छोरा वैदेशिक रोजगारका लागि केही वर्षदेखि विदेशमा छन्। खुकुरी प्रहारबाट घाइते छोराकै श्रीमतीको योजनामा मीनबहादुरको हत्या भएको खुलेको छ। मृतकले निज छोरालाई विदेशबाट फर्के पछि मार्ने धम्की दिने गरेको र मृतकको श्रीमतीको उपचार गराउन आफू बसेको, श्रीमतीको नाममा रहेको जग्गा बिक्री गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.