विद्यार्थी भर्ना अभियानमा जुटे पर्साका पालिका प्रमुखहरू

विद्यार्थी भर्ना अभियानमा जुटे पर्साका पालिका प्रमुखहरू
सुन्नुहोस्

वीरगन्ज : शिक्षकको काठमाडौं केन्द्रित आन्दोलनबाट विद्यार्थी भर्ना अभियान प्रभावित हुन नदिन पर्साका १४ वटै पालिकाका प्रमुखहरू सक्रिय भएका छन् । सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियान चलाउने भनेको भए पनि शिक्षक आन्दोलनका कारण प्रभावित हुन पुगेको थियो । त्यसैले अबदेखि प्रभावित हुन नदिन वैशाख ८ गतेदेखि वैशाख १५ गतेसम्म जिल्लाभर भर्ना अभियान सञ्चालन गराउन पर्साका सबै पालिका प्रमुखहरू एकमत भएका हुन् ।

वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको कार्यकक्षमा आइतबार बसेको पालिका प्रमुखहरूको बैठकले तत्काल भर्ना अभियान चलाउन सम्बन्धित पालिकाका विद्यालयलाई निर्देशन दिने निर्णय गरेको छ । विद्यार्थीको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा शिक्षक विद्यालय नै बन्द गरेर आन्दोलनमा उत्रिँदा विद्यार्थीको पठनपाठन वञ्चित हुने भएकाले भर्ना अभियानलाई यथाशीघ्र अघि बढाउन पालिका प्रमुखहरू नै सक्रिय हुनु परेको हो । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले विद्यालयमा ताला लागेर विद्यार्थी पठनपाठनबाट वञ्चित भएको हेरेर बस्न उचित नभएको भन्दै तत्काल भर्ना अभियानलाई अघि बढाएर पठन–पाठन सुरु गराउनु आवश्यक रहेको बताए । 

उनले शिक्षकहरूले आफ्ना माग राख्न पाउने अधिकार भए पनि विद्यार्थीको पठनपाठन रोक्नु जायज नभएको बताउँदै आन्दोलनलाई उनीहरूले रचनात्मक बनाउनु जरुरी रहेको बताए ।जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले शिक्षकले संविधानविपरीतका केही मागहरू पनि अघि सारेको भन्दै ती मागबाहेक आन्दोलनप्रति आफूहरूको समर्थन रहने पनि स्पष्ट पारे । 

बैठकमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले शिक्षकको आन्दोलनले विद्यार्थी पठनपाठनबाट वञ्चित भए पनि अपजस आफूहरूलाई नै आउने भएकाले अहिले नै सचेत भएर विद्यालय सञ्चालन गर्ने उपाय खोज्न जरुरी रहेको बताए । 

नेपालको संविधानले समेत आधारभूत र माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएकाले त्यसको प्रभावकारी कार्यान्वयनका लागि विद्यार्थी भर्ना अभियान कार्यक्रम घरघरमा पुग्ने गरी सञ्चालन गराउन सबै पालिका प्रमुखहरू एक भएको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । जस्तोसुकै अवस्थामा समेत विद्यार्थीको सिक्न पाउने अधिकारलाई सुनिश्चित गर्न विद्यालयलाई शान्ति क्षेत्रको रूपमा घोषणा गरी कार्यान्वयन हुँदै आएको अवस्था रहेको मेयर सिंहले बताए ।

उनले भने, ‘विद्यालय शान्ति क्षेत्र घोषणा गरेर त्यही अनुरूप कार्य हुँदै आएकोमा प्रमुख कार्यान्वयनकर्ता नै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिनु जायज होइन ।’ आन्दोलनका कार्यक्रम परिमार्जन गरी विद्यालय सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्दै उनले सामुदायिक विद्यालय विद्यार्थीविहीन हुने अवस्था आउन नदिन ख्याल गर्न सम्बन्धित सबैलाई सचेत गराए ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हरि राउतले शिक्षकहरूको आन्दोलनमा प्रतिनिधिमूलक शिक्षकमात्रै अहिले पनि उपस्थित भइरहेको र ६० प्रतिशतभन्दा बढी शिक्षकहरू गाउँघरमै रहेकाले उनीहरू आफैं जिम्मेवार भएर विद्यालय सञ्चालन गर्नुपर्ने बताए । 

बैठकमा वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलम, पर्सागढी नपाका मेयर गोकर्ण पाठक, पोखरिया नपाका मेयर प्रदुमन चौहान, बहुदरमाई नपाका मेयर सिंगासन साह तेली, छिपहरमाई गापाका अध्यक्ष मनोजकुमार गुप्ता, जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव, ठोरी गापाका अध्यक्ष लालबहादुर श्रेष्ठ, विन्ध्यवासिनी गापाकी उपाध्यक्ष ज्योतिदेवी चौरसिया, जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख हरि राउतलगायत पालिकाका शिक्षा प्रमुखहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.