४ वर्षमा ५ हजार नेपाली डिपोर्ट

४ वर्षमा ५ हजार नेपाली डिपोर्ट

काठमाडौं : विदेशबाट नेपाली डिपोर्ट भएर फर्कने संख्या बढ्दै गएको छ। सन् २०२१ देखि २०२४ सम्म विभिन्न देशबाट ४ हजार ९ सय ९६ जना निष्कासन भएर फिर्ता भएका छन्। सन् २०२५ को जनवरी र फेब्रुअरी महिनामा मात्रै ४ सय ५० जना डिपोर्ट भए। गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभागका अनुसार हरेक वर्ष डिपोर्ट भएर आउनेको संख्या बढ्दो क्रममा छ। 

अध्यागमन विभागको तथ्यांकअनुसार पछिल्लो दुई महिनामा विभिन्न बहानामा अमेरिका पुगेका २९ नेपाली डिपोर्ट भएका छन्। यस्तै, कोरिया, जापान, थाइल्यान्डलगायत अन्य देशबाट पनि नेपाली डिपोर्ट भएर फिर्ता भएका छन्। 

अध्यागमन विभागका अनुसार सन् २०२१ मा विभिन्न देश पुगेका ८ सय ८० जना नेपाली डिपोर्ट भएर नेपाल फर्किएका छन्। यस्तै सन् २०२२ मा १ हजार १ सय ६७ जना नेपाल फिर्ता भए। सन् २०२३ मा १ हजार ४ सय ४३ जना डिपोर्ट भए। सन् २०२४ मा १ हजार ५ सय ६ फिर्ता भएका थिए। सन् २०२५ को दुई महिनामा डिपोर्ट भएर फर्कनेको संख्या पनि उल्लेख्य छ। २०२५ को जनवरी फेबु्रअरीमा ४ सय ५० जना डिपोर्ट भएर नेपाल फर्किएका छन्। 

ooo

चार वर्षमा १,७४२ विदेशी नागरिक नेपालबाट डिपोर्टनेपालबाट डिपोर्ट भएर जाने विदेशीको संख्या पनि उल्लेख्य छ। अध्यागमन विभागका अनुसार सन् २०२१ मा २ सय १८ विदेशी नागरिक नेपालबाट निष्कासनमा परेका थिए। सबैभन्दा बढी भिसा समयभन्दा बढी बसेका १ सय ९३ जना डिपोर्ट गरिएका थिए। ७ जनाले भिसाविपरीतको काम गरेका थिए भने ६ जना लागुऔषध मुद्दामा संलग्न भएका थिए। ४ जना खोटा चलन र ३ जना अवैध सुन पैठारीमा संलग्न रहेका थिए। ओभर स्टे गर्ने २८ चिनियाँ नागरिक थिए। यस्तै १९ अमेरिकी नागरिक थिए। १५ जना बेलायत र ११ दक्षिण कोरियाका नागरिक थिए। 

सन् २०२२ मा ५ सय ७० विदेशी नागरिक नेपालबाट निष्कासन भएका थिए। जसमध्ये ५ सय ३४ जना ओभरस्टे बसेका विदेशी थिए। ओभरस्टे गर्नेमा १ सय ८१ चिनियाँ, ४७ अमेरिकी, ३५ बेलायत, फ्रान्स र दक्षिण कोरियाका १८÷१८ नागरिक ओभर स्टे कसुरमा नेपालले डिपोर्ट गरेको थियो। यसमध्ये ११ विदेशी नागरिक फेक पासपोर्ट र ५ जना लागुऔषध मुद्दामा मुछिएका थिए। 

सन् २०२३ मा ४ स ५८ विदेशी नागरिक नेपालबाट निष्कासन भएका थिए। जसमा ४ सय १२ जना ओभर स्टे कसुरका थिए, १० लागुऔषध कसुर र १० अवैध विदेशी मुद्रा कसुरमा नेपाबाट डिपोर्ट भए। ओभर स्टेमा सबैभन्दा बढी १ सय ९० चिनियाँ नागरिक रहेका थिए। यही कसुरमा अमेरिकी नागरिक ३७, बेलायतका १८ जना रहेका थिए। यस्तै सन् २०२४ मा ४ सय ९६ विदेशी नागरिक नेपालबाट डिपोर्ट भएका छन्। जसमध्ये ४ सय ५१ जना ओभर स्टे कसुरमा रहेका छन्। यस्तै जाली राहदानीमा १६ र अभद्र व्यवहारमा १२ जना मुछिएका थिए। 

ooo

डिपोर्ट प्रक्रिया के हो ? किन हुन्छन् ? अध्यागमन विभागका निर्देशक ईश्वरीदत्त पनेरूका अनुसार कुनै पनि देशको अध्यागमन कानुन पालना नगरी बसेका विदेशीलाई उनीहरूकै देशमा फिर्ता गर्ने प्रक्रिया नै डिपोर्ट हो। डिपोर्ट गर्ने र हुने कारणहरू अनेक हुन सक्छन्। प्रायःजसो कागजात नमिलेको, नक्कली कागजात पेस गरेको, भिसा समयभन्दा बढी बसेको तथा उक्त देशमा गैरकानुनी कार्यमा सहभागी भएको अवस्थामा जुनसुकै देशले जो कोहीलाई पनि डिपोर्ट गर्न सक्छ। 

निर्देशक पनेरु अगाडि भन्छन्, ‘डिपोर्ट गर्ने अधिकार सम्बन्धित देशलाई मात्रै हुन्छ। जहाँ अन्य देशका नागरिकहरू आएर बसेका छन्। पछिल्लो समय अमेरिका, कोरिया, थाइल्यान्ड, जापान, अस्टेलिया पुगेका नेपालीहरू डिपोर्ट भएर आएका घटना बढी देखिएका छन्। उक्त देशमा विभिन्न कारणले पुग्ने र त्यहाँको कानुन नमान्ने, गैरकानुनी बस्ने, भिसा साथमा नभएको तथा विभिन्न मुद्दामा संलग्न भएको पुष्टि भएपछि नेपालीहरू डिपोर्ट भइरहेका छन्।’ 

अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृत सीता परियारका अनुसार गलत मान्छेको प्रलोभनमा परेर वा एजेन्टको साथ लागेर पछिल्लो समय नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुग्ने संख्या पनि बढ्दो छ। अमेरिकामात्रै हैन, अन्य युरोपियन राष्ट्रमा पनि नेपालीहरू गैरकानुनी रूपमा पुगिरहेका छन्। यसरी बसेको थाहा भएको अवस्थामा त्यहाँको सरकारले जुनसुकै अवस्थामा नेपालीहरू डिपोर्ट गर्न सक्छ। केही व्यक्तिहरूलाई उक्त देशको अदालतको आदेशअनुसार नै डिपोर्ट गरिएको हुन्छ भने, केहीलाई सरकारको नियमअनुसार पुग्नासाथ नै डिपोर्ट गरिएका घटना छन्। 

गैरकानुनी तवरले विभिन्न देश पुगेका व्यक्तिहरू डिपोर्ट भएर आएपछि विमानस्थलका अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोलाई जिम्मा लगाउने गर्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.