हरितालिका तीज कस्तो कस्तो

हरितालिका तीज कस्तो कस्तो

पहिले तीजको छुट्टै महत्त्व थियो। त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे।

चाडपर्व नेपालका पहिचान हुन् । हिमाल, पहाड, तराई सबै ठाउँमा आआफ्नै मूल्य मान्यता, रीतिरिवाज र चलनचल्तीहरू छन् । हरेक जाति, धर्म र सम्प्रदायको आआफ्नै सांस्कृतिक सम्पत्ति छन्, यी सबै नेपाल र नेपालीका चिनारी हुन् । चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताको धरोहर हो । चाडपर्वको सम्मान गर्ने हाम्रो आफ्नै सद््भावयुक्त परम्परा छ । नेपालमा मनाइने चापर्वहरूको छुट्टै धार्मिक तथा सांस्कृतिक महिमा छ ।

देशभित्रका नेपालीले मात्र होइन, बाहिरकाले पनि यो अवसरको उपयोग गरिरहेका छन् । अनेकतामा एकता रहेको नेपालमा मनाइने चाडपर्वहरूले पारिवारिक एवं सामाजिक सम्बन्ध मजबुत बनाउने कोसेढुंगाको काम गरेका छन् । यस्ता विविध चाडपर्वले समाज, संस्कृति तथा परम्परालाई पुस्तान्तरण गर्दै आएको छ । प्रत्येक चाडपर्व मनाउनुका पछाडि धार्मिक तथा वैज्ञानिक कारण छन् । यसै मेसोमा यतिबेला हरितालिका तीज आँगनमा छ । तीज नेपाली नारीको विशेष पर्वको रूपमा मनाइने गरिन्छ । यो भाद्र शुक्ल तृतीयाको दिन पर्छ ।

हरितालिका तीजको कथा भगवती पार्वतीसँग जोडिएको छ । तीजमा भगवान् शिवको आराधना गर्नुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाले पनि मनाउँछन् । हाम्रो वैदिक दर्शनले स्त्रीलाई प्रकृति मानेको छ । यसर्थ तीजको सम्बन्ध प्रकृतिसँग छ । एक प्रकारले प्रकृतिको सम्मान, महत्त्व र सामीप्यलाई यो चाडले आत्मसात् गरेको छ । प्रकृति आत्मा र परमात्माको संयुक्त स्वरूपलाई नै दर्शनले ब्रह्मा मानेका छन् ।

हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालेको र पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिंगको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले ।

तीजमा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यो चाडमा माइतीले छोरी÷चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार (दर) खाने खुवाउने र एकै ठाउँमा बस्ने परम्परा छ । छोरीचेली पनि तीज आउन लाग्यो माइती जाने समय भयो भनेर आफ्ना घरको व्यवस्थापन गर्दै माइत जाने हर्षमा बसेका हुुन्थे । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सामाजिक सद््भाव, मेलमिलाप एवं समाजका विकृति, विसंगति र सामाजिक अधिकारलाई उजागर गर्ने पर्वको रूपमा हजारौं हजार वर्षदेखि यो चाड मनाइँदै आएको छ ।

पहिले तीजको छुट्टै महत्त्व थियो । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लगाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर दुःखसुख पोख्ने, नाचगान गर्ने मौका पाउने भएकाले नारीहरू यो पर्वको प्रतीक्षामा हुन्थे । प्रविधि र सञ्चारका साधन नहुँदा दिदीबहिनी समूहमा भेला भई मादल, थपडी बजाउँदै नाच्ने गाउने गर्थे । पहिले चुल्होचौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे । नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुञ्जाउँथे । गीतका माध्यमबाट आफ्ना बह पोख्थे । सुखदुःखका गीत गाउँथे, नाच्थे ।

तर अहिले फरक छ । मोबाइल, रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत गुञ्जिन थालेका छन् । फेसबुक, टिकटक, इन्स्टाग्राम, सामाजिक सञ्जालमा एक महिनाअघिदेखि तीजका दर खाने होडबाजी देखिन्छन् । समय परिवतर्नशील छ । हाम्रा चाडपर्व र जीवनशैलीबीच प्रत्यक्ष सम्बन्ध छ । जसरी चाडपर्व मनाइरहेका छौं, त्यसमा परिवर्तन गर्नु जरुरी छ । हरितालिका तीज सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन अनि भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई वत बस्नुपर्ने, निराहार उपवास बस्ने आदि यस्ता परम्परामा परिवर्तत आउनुपर्छ । आफ्नो स्वास्थ्य, मन, हृदयलाई रक्षा गर्ने अवसरको रूपमा लिनुपर्छ । औकात र आध्यात्मिक शान्तिको कामना गर्दै तीज मनाइनुपर्छ । तीजको वैज्ञानिक महत्त्व पनि छ ।

तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाले ३ सय ६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । वर्षभरि जान अञ्जानमा भए गरेका गल्तीबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । लेपनले छालामा हुने एलर्जी हटाउँछ र दतिवनले दाँत र मुखलाई सफा राखी स्वास्थ्यको सुरक्षा गर्छ । उक्त दिन ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत गरेको भए पनि फलफूल ग्रहण गरेर दिनभरि व्रत बस्नमा वैज्ञानिक हिसाबले उत्कृष्ट नै देखिन्छ ।

आधुनिकताको नाममा चाडपर्वको मौलिकता नै गुमनाम झैं हुँदैछ । तीज के हो ? , किन र कसरी मनाउने ? यसको वास्तविकता के छ ? आदि कुराको जानकारी नै छैन । मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ । देखासिकी पूरा गर्न ऋण गरेर फजुल खर्च गर्ने प्रवृतिको हाबी छ । टोलटोलका होटल रेस्टुुरेन्टमा समूह बनाएर एक महिना अघिदेखि नै नाचगान र खानपिनका कार्यक्रम गरिदा तीजको खास अर्थ र महत्त्व हराएको छ । संस्कार र संस्कृतियुक्त तीज भडकलो र उत्ताउलो बन्दै गएको छ । मौलिक संस्कृति ओझेलमा परेको छ । तीजलाई परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लानुपर्ने आवश्यकता देखिएको छ ।

शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भडकलो र असभ्य बनाउनु भने हुँदैन । आर्थिक मन्दी बढिरहेको छ भने गरिबलाई पर्व कसरी मनाउने भनेर चिन्ता हुन्छ । यस्ता विकृति र अनावश्यक खर्चले हुने खाने र हुँदा खानेले मनाउने चाडपर्वमा फरक देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.