८ वर्षको प्रयासपछि पर्सा बन्यो पूर्ण खोपयुक्त जिल्ला
वीरगन्ज : ८ वर्षको निरन्तर प्रयासपछि पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ। बिहीबार वीरगन्जमा औपचारिक कार्यक्रम आयोजना गरेर पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो। मधेस प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रमोद यादवले पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरे।
पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो। लक्ष्य अनुसार सन् २०१७ भित्रै पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरी सक्नु पर्थ्यो। तर त्यस अवधिमा पनि हुन नसकेपछि पटक पटक म्याद थप्दै काम हुँदै आएकोमा बिहीबार पर्सा जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहले बताए।
अब मधेस प्रदेशका आठ मध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी रहेको जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले बताए।