संसदीय छानबिन समिति : सत्ता पक्ष र विपक्षको अडान कायमै
प्रतिनिधिसभा बैठक आज बस्दै : गृहमन्त्रीले विधेयक प्रस्तुत गर्ने, रोक्ने तयारीमा कांग्रेस
काठमाडौं : प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने अडानमा छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्न नपाएपछि सत्तापक्ष चिढिएको छ। बुधबार सभामुख देवराज घिमिरेले प्रधानमन्त्री दाहाललाई भेटेर सदन सञ्चालनमा सहयोग पुर्याउन आग्रह गरेका थिए।
संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार आजको बैठकमा राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनको प्रति टेबुल गरिने र राष्ट्रपतिलाई धन्यवाद दिने सम्भावित कार्यसूची छ।
यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक समितिको प्रतिवेदन २०८०’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ र राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
यसैगरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। २०८० चैत २ गते पनि यो विधेयक गृहमन्त्रीले पेश गर्ने कार्यसूची थियो, तर कांग्रेसले वेल घेराउ गरेपछि लामिछाने रोष्टम पुगेर पेश गर्न पाएका थिएनन्।
कांग्रेसले निरन्तर अवरोध गरेपश्चात संसदमा सहकारीको रकम हिनामिनाबारे आफूमाथि लागेको आरोपबारे गृहमन्त्री लामिछानेले जवाफ दिन पाएका छैनन्।
कांग्रेससँग एमालेले संसद्मै प्रतिवाद गर्ने
कांग्रेसले संसद् अवरोध गरे एमाले प्रतिवाद गर्ने तयारी गरेको छ। एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बुधबार आजको बैठकमा गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने र लामिछानेलाई संसदमा बोल्न नदिए एमाले बोल्ने बताएका थिए।
‘कांग्रेसका साथीहरूले एमालेका नेतामाथि मर्यादाहीन ढंगले आरोप लगाएका छन्,’ एमाले संसदीय दलको बुधबारको बैठकमा ओलीले भने, ‘केसम्म सुनिएको छ भने संसद् चल्न नदिएको एमालेले गर्दा हो रे!’
कांग्रेसप्रति आक्रोश पोख्दै ओलीले भने, ‘कांग्रेसको दादागिरी चल्ने ठाउँ होइन संसद्। संसद् विधि र प्रक्रियाले चल्छ, लोकतान्त्रिक तरिकाले चल्नुपर्छ।’ फलानो व्यक्ति अपराधी हो भनेर तोक्न कांग्रेस कुनै न्यायाधीश नभएको ओलीको भनाइ थियो। ओलीले भने, ‘सांसद्हरूले बोल्नै नपाउने, लोकतन्त्र भन्न अप्ठेरो लाग्दैन कांग्रेसलाई ? कसैमाथि आरोप लगाइएपछि त्यो सांसद् र माननीयले बोल्न पाउनुपर्छ, व्यक्ति तोकेर यस्तो संसदीय अभ्यास होइन। राजनीतिक अभिष्ट पूरा भएन, स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? आफूतर्फ फर्किएन भने अपराधी भइहाल्ने ?’