बागद्धार नियात्रा : मेटिएलान् तस्बिर, साथ बिताएको पल मेटिँदैन

बागद्धार नियात्रा : मेटिएलान् तस्बिर, साथ बिताएको पल मेटिँदैन

किशोरवयमा आमासँग सदविज छर्ने बहानामा पहिलोपटक पुगेको काठमाडौं कुनै बेला मेरो सपनाको शहर थियो। उसो त बालवयमा बुबाले सुनाएका केही कथाका पात्रसँग कल्पनामा सुटुक्क उडेर काठमाडौं पुगिसकेकी थिएँ। यद्यपि, काठमाडौंसँग साक्षात्कार हुने अवसर निकै पछि जुर्‍यो। कथामा वर्णित ठाउँहरू र पात्रहरूबारे अलि बढी नै रङ्गिन भएछु क्यारे! म यो शहरमा आइपुग्दा बुबाले कथामा वर्णन गरेजस्तो जादुयी र तिलष्मी भने लागेन। त्यसपछि कहिले बिरामी हुँदा अस्पताल धाउन त कहिले ट्रान्सक्रिप्टको निहुँमा र अहिले जागिरकै सिलसिलामा काठमाडौंले बोलाइरहन्छ। योपटक भने केही घरायासी कामको बहाना लिएर चैत अन्तिम साता केही दिनका लागि म पोखरादेखि काठमाडौं ओर्लेकी थिएँ।

 
अघिल्लो दिन गर्नैपर्ने सबैजसो काम सकिसक्दा घाम लगभग चन्द्रागिरीको छेउछाउ पुगिसकेको थियो। सांसारिक जीवनको भागदौड, सामाजिक बन्धन र सन्तापहरूबाट पृथक रहेर कहाँ पुँगु भइरहेका बेला साथीसँगको चिया गफमा जिस्काजिस्कीमै हाइकिङ जाने निधो गरियो। एकैदिनमा सहजै पुगेर फर्किने ठाउँको खोजीमा केही नाम जुराइयो। अन्ततः फागुन महिनाको अन्तिम साँझ बागद्धार यात्रा तय गरेर हामी छुट्टियौं। बेलुकी ओच्छयानमा पल्टेपछि भोलिपल्टको यात्राको रोमाञ्चक कल्पनाले कुत्कुत्याइरहेथ्यो। हिंड्न सकिएला नसकिएला? ओरालो झर्दा घुँडाले दुःख दिने त होइन? यात्रामा के कसो होला? बागद्धार पुगिएला या बीचबाटै फर्किएला? मनमा कुरा खेलाउँदै कतिबेला निदाएछु पत्तै पाइनँ।

विहान उठी छिटोछाटो काम सकेर साथीलाई न्युरोड गेटमा भेटेपछि हतारहतार बुढानिलकण्ठ जाने माइक्रो चढ्यौं। नारायणस्थान पुगेपछि बजारमै बाटोमा खानका लागि केही सामलतुमल जोडयौं। बुढानिलकण्ठदेखि पानीमुहान सार्वजनिक यातायाताको सुविधा रहेनछ। पठाओले सात-आठ मिनटमै पानीमुहान पुर्‍यायो। शिवपुरी राष्ट्रिय निकुञ्जको गेटमा सयको टिकट काटेर भित्र पस्यौं। काउन्टरमा बसेको भाइलाई मैले सोधे 'बागद्धार कतिबेरमा पुगिएला?' उनको जवाफ थियो, 'एक घण्टा।' मोटरबाइक पनि जान्छ कि? पुनः सोधे। 'बाइक त नयाँ बानेश्वरमा चढ्नु न, यहाँको विशेषता त हिंड्ने हो नि।' उसको प्रतिक्रिया सुनेर हामीमात्र मुस्कुरायौं। अर्कोतर्फ बसेका आर्मी युवकले टिकट चेकजाँच गरे। झ्यालसँगै टाँस्सिएको रजिष्ट्ररमा सही छाप ठोकेर बाटो लाग्यौं। 

म टक्क अडिएर अघिल्तिर लहरै सुकाएका गुन्द्रीजस्तो देखिने काठमाडौं शहर नियाल्दै आफूबाट फुत्किसकेको बाल्यकाल र यौवनकालका दिनहरूको स्मृतिमा एक झमट डुबी भ्याएपछि लट्ठी र पाइला मिलाई मिलाई ओरालो झरे।

साथीका अनुसार बागद्धार करिब दुई-अढाई घण्टामा पुगिन्थ्यो। चैतमासको आकाश सिङ्गै उघ्रिएर सफा देखिन्थ्यो। विहान ठीक ११ बजे पानी मुहानबाट हाम्रो यात्रा सुरु भयो। आधा घण्टा अफरोडको तेस्रो बाटो काटेपछि बागद्धार र विष्णुद्धार छुट्टिने दोबाटो भेटियो। त्यसपछि हामी जंगलै जंगलको बाटो उकालो लाग्यौं। केही छिनअघि चक्रपथको जाममा अडिएको माइक्रोबाट देखिएको भीडमभीड दृश्य दिमागबाट समेत ओझेल पर्‍यो। सुनसान जंगलको ठाडो उकालोमा घरी गफिँदै, घरी रोकिँदै हामी दुई प्राणी मनग्य एकान्तमा तन्किरह्यौं। यात्रा रोमाञ्चक बनाउन धेरै साथीहरू, हाँसो ठट्टा नचाहिने रहेछ, बाटोबाट नियालिने मनोरम दृश्यहरू, हावाको झोक्का र घामको स्पर्श पनि त मिठो साथ बनिदिँदा रहेछन्। 

दुई घण्टा उक्लन, एक घण्टा ओर्लन र बीचमा एक घण्टा विश्राम गरी ४ घण्टामा टुंगिने हाम्रो यात्राको हिसाब-किताब उकालो चढ्न थालेपछि फेल खा । बरु बाटोभरि मसिना भुसुना अघिपछि उडेर घरी-घरी दुःख दिइरहेथे। जोगाउँदा जोगाउँदै दुईवटा त आँखामा पसिछाडे। आँखाबाट निकालिसक्दा ती साना जीवको ईहलिला क्षणमै समाप्त भयो। बरु घामले उकालोमा राफ्एिको शरीरमा घरी-घरी आउने चिसो बतासको झोक्काले शितलता दिइरहेथ्यो।  

यो उकालो उक्लिरहँदा मलाई इन्द्रबहादुर राईको 'जयमाया आफूमात्र लिखापानी आइपुगी' कथामा जयमाया र उसका साथीहरू तेह्रौं दिनका दिन घनघोर जंगलमा हिंड्दा एउटै चरा नकराएको, पशु नदेखिएको, पशुपंछीसमेत मानिसकै आड पाइने ठाउँसम्म बस्दा रहेछन्। अति विकट वनदेखि यिनीहरू पनि डराउँदा रहेछन्, पशुपंछीलाई पनि मानिसको सहारा चाहिँदो रहेछ, भन्ने याद दिलायो। सुनसान जंगलमा चराचुरुंगीको आवाज उतिसारो सुनिएन। जति उकालो लाग्यो बाटाका छेउछाउमा गुराँसका पोथ्रापोथ्री रातै रातै फुल फुलाएर मस्किरहेका थिए। उकालो चढ्दै जाँदा ज्यानले लठ्ठीको सहारा खोज्यो। टेक्न मिल्ने लौरोको खोजीमा केहीबेर भौतारिँदा बल्लतल्ल अडबाङ्गे लठ्ठी भेटियो। 

null

बिदाको दिन नभएकाले उकालो पूरै उक्लिसक्दा कोही कतै भेटिएनन्। तीन घण्टा उकालो चढिसक्दा म पसिना र थकाइले चूरचूर भएर निचोरेको कागतीको छोक्रासरी भए। बीचबीचमा साथीलाई सोधिरहन्थे, 'अब कतिबेर लाग्ला?' उकालो पाइटाको धुले ढुंगामा थुचुक्क बस्दै मैले भने, 'धेर टाढा भए यतैबाट फर्किने कि?' 

'आँटेको काम सकेरै, थालेको गन्तव्य पुगेरै छाडनुपर्छ।' उनको बोलीमा दृढता झल्किन्थ्यो। एकान्त वनको हिंडाईमा कतै जंगली जनावरले झम्टिने त होइन भन्ने डरले मनमा बास नगरेको नि होइन तर डरलाई रहरले पन्छाइदियो। बीच बाटोमा भेटिएको पुरानो टोड्के रुखमा अडिएर खिचेको तस्बिर हेर्दा मुहार रातोपिरो देखिएछ। 

बौद्धमार्गीहरूको धार्मिकस्थलसमेत रहेको बागद्धारमा वैशाख १ मा मेला लाग्ने रहेछ। वैशाख १ मा भए धाराको पानी छुन पनि लामो लाइन बस्नुपर्ने रहेछ। सक्रान्तिका दिन त्यहाँको जलले शेचन गर्दा धार्मिक पुण्य प्राप्त गरिने पुरानो मान्यता रहेछ। काठमाडौं उपत्यकामा बसोबास गर्ने बौद्ध धर्मालम्बी नेवारहरू वर्षमा एकपटक भष्माशुर, बागद्धार र नागार्जुन डाँडा पुग्नैपर्ने प्रचलन छ रे।  डाँडा माथि पुग्दा एक जोडी अधवैंसे भेटिए। अलिक पर एक युगल जोडी भेटिए। उनीहरू आफ्नै सुरतालमा मुस्कुराउँदै, लजाउँदै, अनुकुल वातावरणमा मग्नमस्त देखिन्थे। उनीहरूलाई देखेर पलभरको कल्पनामा मन लोभियो। अहो! जीवनमा यस्ता क्षण घरी-घरी कसैलाई कहाँ मिलिरहन्छ र? कति मग्नमस्तले तय गरिरहेछन् यो यात्रा यी जोडीहरू। मनले अनेक साउती मारी रह्यो। 

ओसिलो तेस्रो बाटो ५० मिनट हिंडेपछि स-साना चउर भेटियो। वनभोज खान गएका मान्छेलो बालेर छाडेका चुल्हा, दाउरा प्लाष्टिकका टुक्राटुक्री यत्रतत्र देखिन्थे। बाटो बाटोमा सरसफाईसम्बन्धी चेतनामूलक भनाइ, डस्टबिन कताकति भेटिए पनि चकलेट र मिनिरल वाटरका बोत्तलले जंगल प्रदूषित बन्दै गएथ्यो। बाटोमा राखेका बोर्ड पनि भत्केकाले कतै कतै नयाँ यात्रीले बाटो पत्ता लगाउन मुस्किल देखिन्थ्यो। 

मोबाइलमा खिचेका तस्बिर, फोन मेटिएर जान सक्लान् तर कसैको साथ बिताएको पल र याद जीवनभर मेटिँदैन रहेछ। जीवनरुपी यात्रामा कैयौं यात्रा तय गरियो तर यो यात्रा अनुभूति मेरो मनका कन्दरामा वर्षौं जरा गाडेर बस्नेछ।

अन्ततः गन्तव्यका साक्षी हामी दुईमात्र भयौं। बागद्धारको स्निग्ध, शान्त वातावरणमा पुग्दाको खुसी शब्दमा वर्णन गर्न नसकिने अदभूत थियो। 'मेरो त अनुहारको रङ्ग नै परिवर्तन भयो रे पुगेपछि।' थकाई पाखा लाग्यो, जाँगर आफसेआफ बौरियो। तीनतिर पहाड र खोचमा धारा। धारा अगाडि केही फिटको बाटो र त्यो बाटोपछि सानो पोखरी। बाघको मुखाकृति भएको ढुंगाको धारा। त्यही थियो बागमतीको मुहान। बागद्धार पुगेपछि पूरै काठमाडौं शहर देख्न पाइएला भन्ने आशा खोचमा रहेको मुहान देखेपछि जिल खायो।  

पसिनाले लुथ्रुक्क भिजेको कपाल र लुगा टकटक्याउँदै बागद्धारको चिसो र कञ्चन पानीले मुख धुँदाको आनन्दाभूति अवर्णनित थियो। मुहानबाट अलि पर फर्केर आई माथि डाँडामा उक्लेर घाममा ढाड सेकाउँदै हामीले लगेको खाजा खायौं। लम्पसार चउरमा पल्टेर एकछिन सुस्ताएपछि फर्किने तरखर गरियो। पुग्नु छ फर्किनु छ। एकदिने यात्रामा एक खालको दबाबले अचेट्दो रहेछ। फर्किँदा भने अर्को बाटो रोज्यौं। केहीबेर तेस्रो हिडिंसकेपछि ठाडै ओरालो रहेछ। घामले पर डाँडाँमाथिबाट रोटी आकारमा चियाइरहेथ्यो। म टक्क अडिएर अघिल्तिर लहरै सुकाएका गुन्द्रीजस्तो देखिने काठमाडौं शहर नियाल्दै आफूबाट फुत्किसकेको बाल्यकाल र यौवनकालका दिनहरूको स्मृतिमा एक झमट डुबी भ्याएपछि लट्ठी र पाइला मिलाई मिलाई ओरालो झरे। 

ओरालो झर्दै अलिक तल आउँदा मान्छेको आवाज नजिकै सुनिएकाले नजिकै मानव बस्ती भएको संकेत गर्थ्यो। छिनमै आनीहरूमात्र पढ्ने नागी गुम्बा आँखै सामुन्ने देखियो। गुम्बा वरपर आनीहरू यताउता गरिरहेको दृश्यले माथि उकालो चढ्दा गुराँस फुलेको याद दिलायो। उनीहरू पनि गुराँसका फुलझै आँगनभरि, चउरभरि छरिएर पुतली सरी फुरफुर गर्दै थिए। गुम्बामा केहीबेर अडिएर थकाइ मार्ने तस्बिर कैद गर्ने रहर हुँदाहुँदै एक, दुई तस्बिर बाटैबाट खिँचेर बाटो लाग्यौं। समयले नेटो काटिसकेको थियो। गुम्बाबाट यसो तल के ओर्लेका थियौं, बडेमानको भोटे कुकुर नजिक आएर सासासुसु गर्न थाल्यो। म त डरले थर्कमान भए। साथीतिर च्यापिए। तर, कुकुरले केही गरेन।

दिनभरजसो घरपरिवार, समाज, साहित्य, लेखन, राजनीति, प्रेम र रुचीका विषयमा गफिरहँदा पनि हाम्रा गथासा सकिएकै थिएनन्। साथी यात्राभरी म कमै बोले। तिमी अलिक धेर बोल्यौं। मेरोभन्दा तिम्रो ऊर्जा पक्कै कम भएको हुनुपर्छ त्यस दिन। विहान टिकट काटेको ठाउँ आइपुग्दा दिन घर्किसकेथ्यो। पानी मुहानदेखि पुनः बुढानिलकण्ठसम्म पठाओ त्यहाँदेखि आरएनएसीसम्म माइक्रोमा आएपछि तिमी र म आ-आफ्नो गन्तव्यतर्फ लाग्यौं। म पठाओ लिएर कलंकी पुगे। साँझको ६:३० बजे मेरा श्रीमान कलंकीमा मेरै लागि आँखा ओच्छयाइरहेका थिए। सामान्य भलाकुसारी गर्दै छिनमै डेरा पुगियो। साँझ घर पुगेर आफ्नो काम चुपचाप सकाए। नुनपानीले खट्टा पखालेर तेल लगाए। तनमा थकाइ भए पनि मन ध्यानास्थ भइरहेथ्यो। आजको यात्रामा पटक-पटक तिमीले बालापनको याद ताजा गरायौं। साथी मोबाइलमा खिचेका तस्बिर, फोन मेटिएर जान सक्लान् तर कसैको साथ बिताएको पल र याद जीवनभर मेटिँदैन रहेछ। जीवनरुपी यात्रामा कैयौं यात्रा तय गरियो तर यो यात्रा अनुभूति मेरो मनका कन्दरामा वर्षौं जरा गाडेर बस्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.