साथी ! म तिम्रो सारथि
हरपरिस्थितिमा म तिम्रो सारथि हुँ
थोरै भए पनि राहत मिल्ला तिमीलाई
तिमी मुस्कुराउँदा मुस्कुराउने हजार होलान्
तिमी नाच्दा सँगै नाच्ने, गाउँदा सँगै गाउने
कति होलान् कति तर तिमी रुँदा रुने मात्रै बन्नु छ
नरोऊ म छु नि तिम्रो भन्नु छ मलाई।
सँगसँगै तरुँला दुःखका खोलाहरू
सँगै यात्रा तय गरुँला बाटाहरू
आउँछन् यात्रामा पहरा अनि भिरहरू
सताउँछन्, खान्छन् मुटु पिरहरू
तर, पनि तिम्रै हात समाउनु छ
हाँस्दै रुँदै तिमीसँगै रमाउनु छ।
भन्थ्यौ सपना देख्नै छाडिसके अचेल
व्यथाहरूले भित्रभित्रै गाँजिसके अचेल
जिम्मेवारीको बोझले सासै फेर्न गाह्रो
चाहना र आशाहरू राख्नै छाडिसके अचेल
को पराइ ? को आफ्नो ? उस्तै छ व्यवहार
आफूसँग हुनु र नहुनुमा देखिँदैछ सबको प्यार
म रित्तो हुनु अनि म भरिनुमा के छ त्यस्तो ?
हुनु र नहुनुमा फरक किन यस्तो ?
तरुँला अप्ठ्यारो सँगसँगै जिउँला आँसुकै जिन्दगी बरु
सँगै हाँसुला अनि बरु तिमी सँगै मरुँ
छोड्दिनँ दुःखमा कहिल्यै नि, साथ पाउँछौं जहिले पनि।
म तिम्रो नभएर नि तिम्रो बन्नु छ
यो प्यारो साथी दुनियाँलाई भन्नु छ।
- सुरज थपलिया