गुल्मीका आगलागी पीडित भन्छन् ‘धन्न बाँचियो’

गुल्मीका आगलागी पीडित भन्छन् ‘धन्न बाँचियो’
सुन्नुहोस्

गुल्मी : गत वैशाख ६ गते बेलुका गुल्मीको ईष्मा गाउँपालिका— २ स्थित हाडीखोला रानीवन पैयाँपाटा सामुदायिक वनमा आगलागी भय। वनको नजिकै जनता प्राथमिक विद्यालय भएकाले स्थानीयको सक्रियतामा राति नै आगो नियन्त्रणमा आयो। 

पानी नपरेका कारण यतिबेला गाउँमा प्रचण्ड गर्मी छ। गाउँका केही बारीमा मकै रोप्न नै बाँकी छ। गर्मीले खेतबारी र जंगलमा भएको घाँस, दाउरा सुक्न थालेका छन्। वैशाख ८ गते शनिबार जिल्लाको ईष्मा गाउँपालिका—२ सिदुङखाका ४८ वर्षीय रमेशकुमार थापा बिहानदेखि गाउँमा इन्टरनेटको तार तान्न व्यस्त थिए।

करिब १० बजे जनता प्राथमिक विद्यालय तलबाट एक्कासि हावाहुरीसहित आगोको मुस्लो निस्कियो। त्यतिबेलासम्म आगोले वनको केही भाग सखाप पारिसकेको थियो। ‘आगो चारैतिरबाट जंगलमा लागेको देखिपछि म र गाउँले बाँच्ने आस नै मारिसकेका थियौं, आगो कहाँसम्म पुग्छ ? यसले के–के क्षति गर्छ ? भन्ने टुंगो नै थिएन,’ ‘स्थानीय थापाले भने।

उनका दाजुभाइ मिलेर ५ वर्षपहिले झन्डै ६ लाखको लगानीका बाख्राखोरसहित बङ्गालो बनाएका थिए। बच्चा र वृद्ध बुवालाई खुवाउने दूधको लागि बाख्रासँगै भैंसी पनि पालेको उनले बताए। शनिबार हावाहुरीसहित आएको आगोले छिनमै भैंसीबाख्रा र गोठ नै सखाप पारिदियो। ‘हाम्रो पनि बाँच्ने आस मरिसकेको थियो। धन्न भगवान्को कृपा र सबैको सहयोगले बाँचियो’, उनले भने।  शनिबार भएको आगलागीमा एकैदिन ईष्मा गाउँपालिकाका २६ वटा घर, मदने गाउँपालिकाका ८ घर, मुसिकोट नगरपालिकाका ५ र गुल्मीदरबार गाउँपालिकाका १ घर गरी कुल ४० घर पूर्ण क्षति भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

त्यस्तै, सोही वडाका चन्द्रबहादुर कुँवरले पाँच वर्षपहिले १६ लाख लगानीमा ४ कोठे पक्की घर बनाएका थिए। केही आफ्नो कमाइ र ऋण खोजेर घर बनाएको उनी बताउँछन््। कुँवर भन्छन्, ‘विदेशको पसिना र साहुको केही ऋणको भारी बोकेर गाउँमै बस्ने योजना बनाएर पक्की घर त बनाइयो तर वर्षौंदेखि मेरो परिवारले देखेको सबै सपना मिनेटमै आगोले खाइदियो।’ उनको कान्छो छोराले बिहे गरेको केही महिना बित्यो। विवाह र घरको ऋण तिर्न उनको एउटा छोरा दुबई गएको छ भने अर्को गाउँमै छ।

उनले भने, ‘परिवारका सबैले कमाएर साहुको ऋण तिरौंला र परिवार सँगै बसेर खुसी मनाउँला भन्ने थियो। तर सबै चाहना हावाहुरीले उडाइदियो। भएका घरगोठ आगोले खाइदियो।’ आफूहरूले राहतस्वरूप केही पैसा, खाद्यान्न र लत्ताकपडा पाए तापनि बस्नलाई बासको समस्या परिरहेको अग्निपीडित कुँवरले बताए। उनको घरगोठसहित किराना पसल र ट्याक्टर जलेको छ। 

आगलागी भएका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति ईष्मा गाउँपालिकामा पुर्‍याएको छ।  जिल्लाका विभिन्न ठाउँमा हावाहुरीसहितको आगोले करोडौंको निजी तथा सरकारी सम्पत्तिमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाए।

आगो निभाउने क्रममा १ को मृत्यु, २ घाइते

गुल्मीका विभिन्न स्थानमा भएको आगलागीमा आगो निभाउने क्रममा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। केही दिनअगाडि आगो निभाउने क्रममा मुसिकोट नगरपालिका–१ तल्लोपौदीस्थित सर्वोदय माविको जग्गाको सल्लाघारीमा आगलागी भएको थियो। उक्त सल्लाघारीमा  लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

आगोमा परेर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यस्तै, घाइते हुनेमा ईष्मा गाउँपालिका १ उजुङका १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ वर्षीय प्रेम राना छन्। उनीहरूको अनुहार र हातखुट्टाका केही भाग जलेका छन्। उनीहरूलाई थप उपचारको लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा लगिएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

आफ्नै घरमा आगो लगाउने पक्राउ

आफ्नै घरमा आगो लगाएको आरोपमा धुर्कोट गाउँपालिका–६ रजस्थलका रेखबहादुर परियारलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ। आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको पक्राउ गरिएको प्रहरीले जनाएको छ।

परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएका थिए। आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडासमेत जली घर पूर्ण रूपमा क्षति भएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.