बालाजु बाइसधारा मेला सुरू, बिहानैदेखि भक्तजनको घुइँचो
काठमाडौं : स्थानीय बालाजु बाइसधारामा आजदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ।
बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुइँचो लागेको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ ।
भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ ।
सन् १७३६ मा राजा जयप्रकाश मल्लले यहाँ २१ वटा धारा बनाएका थिए भने पछि राजा रणबहादुर शाहले एक धारा थपेका थिए ।