इतिहास

विजयपुरका बुद्धिकर्ण राय कसरी मारिए?

विजयपुरका बुद्धिकर्ण राय कसरी मारिए?
विजयपुरका चौतरिया बुद्धिकर्ण राय मारिएकोमा राजा प्रतापसिंह शाहले अभिमानसिंह बस्न्यातलाई वि.सं. १८३४ साउन वदी २ स्यावासी र पुरस्कार दिएको लालमोहर। स्रोत: बस्न्यात परिवार, मार्फत् भगिराज इङ्नाम।

पाल्पाली राजा मुकुन्द सेनका कान्छा छोरा लोहाङ सेनले पाल्पाबाट पूर्वतिर आफ्नो विजय अभियान सञ्चालन गरेका थिए। मुकुन्द सेनले खडा गरेको विशाल राज्यपछि उनका छोरा-नातीहरूमा भागबण्डा लाग्दा लोहाङ सेनको भागमा मकवानपुर राज्य पर्न गयो। मकवानपुरको पहिलेको नाम राजा मुकुन्दसेनको नामबाट मुकुन्दपुर राखियो भन्ने भनाई पनि पाइन्छ। 

लिम्बूहरूको सहयोगमा मकवानी राजा लोहाङ सेनलाई विजयपुर हात लाग्यो। त्यसबेला विजयपुरको शासन मकवानपुरबाटै चले पनि त्यहाँको राजकाजको जिम्मा लिम्बू चौतरिया (मुख्यमन्त्री)लाई नै दिएर राजा लोहाङ सेनले मकवानपुरमै मुकाम गरेर राज्य सञ्चालन गर्ने गरेका थिए।  

लोहाङ सेनले विजयपुर आफ्नो अधिपत्यमा ल्याएपछि विभिन्न प्रदेशहरूमा लिम्बूहरूलाई हाकिम बनाएर राखे। तीमध्ये बाजहाङका छोरा विद्याचन्द्रले पहाडी क्षेत्र र तराई क्षेत्रलाई समेत हेर्ने गरी विजयपुरको मुख्य जिम्मेवारी पाएका थिए। खोटाङगढीमा मुकाम गरेर खम्बुवान क्षेत्रमा नाम्दुङहाङ रायलाई हाकिम गराइएको थियो। त्यस्तै सप्तरीमा चोङवाङहाङ, महोत्तरीमा लिवाङहाङ र मकवानपुरमा सेरिङहाङलाई हाकिम बनाएर राखिएको थियो (इमानसिंह चेम्जोङ, “किरातकालीन विजयपुरको सङ्क्षिप्त इतिहास”-२०५९:२५-२६)।

लोहाङ सेनले वि.सं. १६६६ मा विजयपुरमा अधिपत्य जमाएको धेरै वर्षसम्म विजयपुर मकवानपुर राज्यअन्तर्गत पर्थ्यो। तर, मकवानपुर राजपरिवारमा भएको विवाद र खिचातानीपछि मकवानपुरबाट अलग्गिएर विजयपुर एक छुट्टै राज्य बन्न पुग्यो।

मकवानपुरका राजा लोहाङ सेनको मृत्यु भएपछि उनका नाती हरिहरइन्द्र सेन (वि.सं १७१८-१७४१)को समयसम्म विजयपुर मकवानपुर अन्तर्गत नै पर्थ्यो। उनकी जेठी रानीतिरका छत्रपति इन्द्र सेनको राजा हुन नपाउँदै निधन भए पनि उनको छोरा विधाताइन्द्र सेनको जन्म भइसकेको थियो। हरिहरइन्द्रले छत्रपतिका छोरा विधाताइन्द्रलाई युवराज घोषित नगरी ल्याइते रानीतिरका छोरा शुभ सेनलाई उत्तराधिकारी घोषणा गरिदिए। आफ्ना बाजेको यस्तो निर्णयविरुद्ध विधाताइन्द्रले आफ्नो दलबलसहित विजयपुर क्षेत्र कब्जा गरे। त्यसपछि मकवानपुर राज्य टुक्रियो। कोशीपूर्व विजयपुर छुट्टै राज्यका रूपमा स्वतन्त्र भएर देखा पर्‍यो। शुभ सेनले ललितपुर, भक्तपुर र गोरखाको सहयोगमा विधाताइन्द्रबाट विजयपुर खोस्ने प्रयास गरे पनि उनी सफल हुन सकेनन् (डा. राजाराम सुवेदी, 'प्राचीन नेपाल' सङ्ख्या १४३-असार २०५८:४४)।

एकपटक विजयपुरका राजा विधाताइन्द्र र उनका काका मकवानपुरका राजा शुभ सेन मुगलहरूको अपहरणमा परेका थिए। त्यसबेला विधाता न्द्रकी रानीले चेम्जोङलगायतका लिम्बूहरूलाई गुहार मागेकी थिइन्।

स्वतन्त्र विजयपुरको राजा घोषित भएपछि त्यहाँका लिम्बूहरूलाई आफूनिकट बनाउनुपर्ने बाध्यता उनलाई छदै थियो। उनले वि.सं. १७४१ असारमा बोवाजित रायका नाममा मोहर जारी गरेकोले पनि यो पुष्टि हुन्छ। मोहरमा “अब एक सरह सौं समान सेवा दबार करे, वेश जागीर बटै” भन्ने उल्लेख छ (शिवकुमार श्रेष्ठ, “लिम्बूवानको ऐतिहासिक अध्ययन”- २०६१:११०)।
यसबाट बोवाजित राय विजयपुरका नयाँ राजा विधाता इन्द्रका दरबारका महत्त्वपूर्ण भारदार थिए भन्ने स्पष्ट देखिन्छ।

लोहाङ सेनको मृत्युपछि उनका छोरा राघवनरेन्द्र र त्यसपछि नाती हरिहरइन्द्र सेन मकवानपुरको राजगद्दिमा बसेकाले उनीहरू नै विजयपुरका पनि वैधानिक राजा थिए। त्यसपछि विधाताइन्द्र सेन स्वतन्त्र विजयपुरको राजा भए।

एकपटक विजयपुरका राजा विधाताइन्द्र र उनका काका मकवानपुरका राजा शुभ सेन मुगलहरूको अपहरणमा परेका थिए। त्यसबेला विधाता न्द्रकी रानीले चेम्जोङलगायतका लिम्बूहरूलाई गुहार मागेकी थिइन्। 

यससम्बन्धी एक पत्र पुरातत्व विभागको मुखपत्र “प्राचीन नेपाल” सङ्ख्या ४ (२०२५ साउन:३४-३५)मा जनकलाल शर्माले प्रकाशमा ल्याएका छन्। सम्वत् १७६३ आश्विनमा लेखिएको यो पत्रको ब्यहोरा यस्तो छ:
।।श्री लहा श्री ..........जी।।
।।स्वस्ति श्री रुपनारायणेत्यादिविविधविरुदावलिविराजमान मानोन्तममहाराजा श्री हिन्दुपति राजराजेश्वर श्री मदिधाता इन्दराजराजेश्वरी श्री श्री महारानी जीवदेवीनां सदा शोभागतिहाबीत्री शचीनाम
चेमजेगराये यई आवाराये इन्दराये छगमीराये माजीम राये वाआजी राय गवात्रा राये शीहा राय श्री.....
के आशीषपूर्वक पत्रमीदं कार्जन्च आगे पूर्वमह नीमकहराम ही धुम उठी वभूते रामकीश्न थापाले मेजल हैतो पान्चपत्र दरशन तो कीत शोभा शुवा मजकुरकरलह्रो बरीके हानतुजाहि महतोदरे शवके जश होय से कर त इती सम्वत् १७६३ साल माहआशीच वदो ६ गद रोमो र जीतपुर पारवानगी धम्मागत दुअरीआं....

चेम्जोङ(२०५९:५०-५१)ले यस पत्रलाई सरलीकरण गर्दा पत्रको ब्यहोरा यस्तो छ: 
उप्रान्त प्रथम पत्र यो छ कि आजदेखि उता पूर्वमा मेरो हक केही रहेन। धुमधाम लडाईँ गर्न पर्‍यो। यहाँबाट रामकृष्ण थापा पठाएका छौं। सामो राय सुभाको ताम्रपत्र हेरियो। तिमी सामो राय सुभालाई निश्चय कर लाग्ने रहेछ। दुश्मनमाथि झट्टै हमला होओस् भनी म चाहन्छु। मेरो र तिमीहरू सबैको जय होस।

सेन राजाहरूमाथि भएको डरलाग्दो आक्रमण, उनीहरूको अपहरण र सेन राज्यको भूभाग दक्षिणका नवावबाट कब्जा गरिएको अवस्थामा चेम्जोङ राय लगायतका लिम्बूहरूका नाममा सहयोगको याचना गर्दै राजा विधाताइन्द्र सेनकी महारानीबाट यस्तो गुहार मागेको देखिन्छ। 

त्यसबेलाका प्रभावशाली राजा शुभ सेनले तनहुँका राजा दिग्विजय सेनसँग मागेर परशुराम थापा र प्रद्युम्न उपाध्ययलाई ल्याई मकवानपुरमा मन्त्री बनाएका थिए। तर यिनीहरूले शुभ सेन र उनका भतिज विधाताइन्द्रलाई पक्रेर ल्याउन मुगल नायव नवाव इस्फुन्दियार खानको षडयन्त्रमा सामेल भए। जनकपुर आसपासमा शुभ सेन घेरिए। उनलाई छुटाउन उनका भतिज विधाताइन्द्र विजयपुरबाट त्यहाँ पुगी शुभ सेनलाई छुटाए। यसपछि हर्ष बढाई भइरहेको बेला प्रद्युम्नका एक नातेदार कालु उपाध्ययले यी दुई काका भतिजलाई पक्राउ गरी इस्फुन्दियार खानलाई बुझाइदिए। उनीहरूलाई उद्धार गरेर सेन राजवंश जोगाउन विधाताइन्द्र सेनकी रानीले लिम्बू भारदारहरूलाई गुहारेकी थिइन्। मुगलको अपहरणमा परेका शुभ सेन र विधाताइन्द्र सेन फर्केर आएनन्। लिम्बू भारदारहरूको सहयोगमा सेनहरूको दक्षिणी भूभाग लिएर बसेका मुगलहरू हटाइएपछि विजयपुर र मकवानपुरका मन्त्रीहरूले एकापसमा सल्लाह गरी शुभ सेनकी रानी अमरावतीपट्टिका छोराहरूमध्ये मान्धाता (महिपति)लाई विजयपुर र माणिक्य सेनलाई मकवानपुरको राजा बनाइयो (बाबुराम आचार्य, “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सङ्क्षिप्त जीवनी”-२०६१:१८-१९)। 

विधाताइन्द्र सेनपछि महीपति सेन, विसन्तर सेन (जगत सेन), कामदत्त सेन, कर्ण सेन विजयपुरको गद्दिमा बसे (ज्ञानमणि नेपाल, “नेपाल निरुक्त”- २०७४:२८०-८१)। वुद्धिकर्ण रायले कामदत्त सेनको हत्या गरेपछि केही समय उनका काका रघुनाथ सेनले केही समय विजयपुरको गद्दिमा अधिकार गरेका थिए। त्यसबेला बुद्धिकर्ण विजयपुरमा थिएनन्। तर, रघुनाथ बुद्धिकर्णसँग डराउँथे। त्यसैले उनले बुद्धिकर्णविरुद्ध अङ्ग्रेजलाई गुहारे पनि सहयोग पाउन सकेनन्। उनी केही समयपछि नै त्यहाँबाट भागे। त्यसपछि बुद्धिकर्णले सजिलैसँग विजयपुर पुगी चौदण्डीका राजा कर्ण सेनलाई बोलाएर विजयपुरका पनि थपना राजा बनाई आफूले “राजभार सामर्थ” उपाधि लिएर वि.सं. १८२७ मा त्यहाँको हर्ताकर्ता बने (आचार्य, २०६१:४१६-१७)।

विजयपुरमा चौतरिया र राजाबीच प्राय: खचपच परिरहन्थ्यो। वि.सं. १८१३ देखि वि.सं. १८२४ सम्मको मोहरहरू हेर्दा खचपचका क्रममा विजयपुरबाट कहिले राजा त कहिले चौतरिया भागेको देखिन्छ। राजा भागेको बेला चौतरिया आफूलाई राजभार सामर्थ लेखी विजयपुरका हर्ताकर्ता हुन्थे।

राजा-मन्त्रीबीच सधैं बेमेल
विजयपुरको राजगद्दिमा बसेका राजा कामदत्त सेनसँग चौतरिया विचित्र रायको मेलमिलाप हुन सकेन। विचित्रले मकवानपुरका राजा मानिक सेनका छोरा जगत सेनलाई विजयपुरको सिंहासनमा राख्न चाहेका थिए। तर, जगत सेन केही समय विजयपुरको राजगद्दिमा बसेका र पछि कोशीपूर्व कामदत्त सेनलाई छाडी आफूले कोशी पश्चिमको मात्र राजकाज सम्हालेका थिए (फ्रान्सिस ह्यामिल्टन, “एन एकाउन्ट अफ् कीङ्डम अफ् नेपाल”- सन् १८१९:१४०)।

लिम्बू चौतरिया विचित्र रायको पहिलेका राजा महीपति सेनसँग पनि मिलाप थिएन। यिनीहरूका बीचमा वैमनस्य पैदा हुँदा एक पटक राजा महीपति सेन आफ्नो राज्यबाट पलायन भई शरणार्थीका रूपमा तिब्बतको राजधानी ल्हासामा पनि पुग्नु परेको थियो। यस्तो अवस्थामा विजयपुरका दिवान वा मन्त्रीहरू “राजभार-सामर्थ” भई स्वयं स्वतन्त्र प्रशासकका रूपमा कार्यरत रहने गर्थे (बाबुराम आचार्य, “नेपालको संक्षिप्त वृत्तान्त”- २०६३:१८५)।

विजयपुरमा चौतरिया र राजाबीच प्राय: खचपच परिरहन्थ्यो। वि.सं. १८१३ देखि वि.सं. १८२४ सम्मको मोहरहरू हेर्दा खचपचका क्रममा विजयपुरबाट कहिले राजा त कहिले चौतरिया भागेको देखिन्छ। राजा भागेको बेला चौतरिया आफूलाई राजभार सामर्थ लेखी विजयपुरका हर्ताकर्ता हुन्थे। संवत् १८२४ साल माघशुदिको मोहरमा “राजभारा सामर्थ देवान” बुद्धिकर्ण रायका स्याहमोहरमा राजाको वास्ता नगरिएकाले राजाका अनुपस्थितिमा नै आफ्ना पिताको उत्तराधिकारी भएर बुद्धिकर्ण राय विजयपुरका हर्ताकर्ता भएका थिए (आचार्य, २०६१:४२७)

राजा कामदत्त सेनको हत्या 
यसरी राजा र चौतरियाबीचको हानाथापकै क्रममा विजयपुरका राजा कामदत्त सेनले मन्त्री बुद्धिकर्णका भाई बुधकर्णलाई कटाए र बुद्धिकर्ण रायलाई त्यहाँबाट भगाए। यो घटना हो, वि.सं. १८२५ को। पछि बुद्धिकर्णले राजा कामदत्त सेनको हत्या गराए।

बुद्धिकर्ण रायले कामदत्त सेनको हत्याका लागि सिक्किमको सहयोग लिएका थिए। सिक्किमबाट भोटे सिपाही नाइके सेम्पा सैन्यदलसहित विजयपुरका राजा र मन्त्रीबीचको झगडा मिलाउन आए। राजा कामदत्तलाई मोरङ झिकाइयो, र त्यहीँ वि.सं. १८२६ मा कामदत्त सेनको हत्या गरियो। कामदत्त सेनको हत्यापछि उनका काका रघुनाथ सेन विजयपुरको गद्दिमा बसे। रघुनाथले बुद्धिकर्णविरुद्ध इष्ट इण्डिया कम्पनीसँग सैनिक सहयोग मागे। तर, रघुनाथको केही सिप लागेन। बरु बुद्धिकर्णले बिना विघ्नबाधासँग विजयपुर पुगी चौदण्डीका राजा कर्ण सेनलाई बोलाएर यिनलाई विजयपुरका पनि नाम मात्रको राजा थापी “राजभारा सामर्थ” उपाधि लिई वि.सं. १८२६ मा फेरि विजयपुरका हर्ताकर्ता बने (आचार्य, २०६१:४१४-१६)।

कामदत्त सेनको हत्यापछि कतिपय लिम्बू सुब्बाहरू बुद्धिकर्णसँग चिढिएका थिए, कोही विजयपुर छाडेर सिक्किमको शरणमा पुगेका थिए। उनलाई आफ्नो वर्चश्व काम गर्न त्यहाँ पलायन भएका मन्त्रीहरूलाई विजयपुर झिकाएर रिझाइ राख्नुपर्ने बाध्यता आइलाग्यो। यसैक्रममा बुद्धिकर्णका भाइले वि.सं. १८२६ आश्विन सुदी ८ मा विजयपुर छाडी त्यतिखेर सिक्किमअन्तर्गत पर्ने स्यावरुम्वा पुगेका सामो राय र अहुम रायलाई विजयपुर झिकाउन पत्र लेखे। पत्रमा “हामीहरूको देशमा मुलुकमा अघिजस्तो सुखशान्ति थियो अब पनि त्यस्तै चाहन्छु। तिमी दुई भाइ सुखिमपतिको देशमा बस्दा अमर हुने हो भने पनि यो कुरा दाजु बुद्धिकर्णसँग सल्लाह गरेर बसेको भए हुने। पछि हाम्रा छोरा नातीले भलो गर्न मानेनन् भने तिमी दुई भाई उता राजमुलुकमा सुख शान्तिसँग बस्ने इच्छा भए हामीलाई आपत्ति हुने छैन।”

त्यसपछि उनीहरू खुवा बोधे पर्गन्ना चौविस थुम घुम्दै विजयपुर आएर बुद्धिकर्ण रायसँग मिली राजकाज चलाउन थाले। तर, बुद्धिकर्णका दुश्मन जयरुद्र उपाध्ययले कुनै पनि हालतमा बुद्धिकर्णसँग नमिल्न भन्दै यी दुई चेम्जोङ मन्त्रीलाई “बोधे प्रगन्ना छाडेर किन विजयपुर आएका” भन्ने प्रश्न गरी हरिचन्दगढीबाट माघ बदी ४ मा एक पत्र पठाएका थिए। उनले सामो रायको नाममा पठाएको पत्रमा “तिमीहरू वोधे प्रगन्ना छाडेर फेरि विजयपुर आएका छौं। तिमीलाई वोधे प्रगन्ना छाड्नु भनेर कसले सल्लाह दियो त्यो ठीक होइन। वोधे छाडेर नआउनू बरु जो जो काम कारबाही हुन्छ त्यो लेख्नू...काजी बुद्धिकर्ण रायबाट कोही मानिस आएका रहेछ भने सबाल जबाफ गरी उसको मनको कुरा बुझ्नु। यदि मोहर लिएरै आउँछ भने पनि कस प्रकारको तिरो उठाउन लागेको रहेछ सबै कुरा बुझि लेख्नू’ भन्ने उल्लेख छ (चेम्जोङ, २०५९:६८-६९)।
यहाँ उल्लेख भएको स्यावरुम्वा हाल: पाँचथर जिल्लामा पर्छ भने बोधे धनकुटा जिल्लामा अवस्थित छ।

त्यतिबेला बुद्धिकर्णले अरु लिम्बूहरूलाई भड्केर अन्यत्र जानबाट रोक्न फुङ्मा रायलाई लेटाङमा जागिर दिएर चौविस थुमका मानिसलाई हात लिने उद्देश्यले मोहर दिई आफ्नो कब्जामा राखेका थिए।

विजयपुरमा चौतरिया बुद्धिकर्ण राय हर्ताकर्ता भएको बेला उता माझकिरातमा अडिएर रहेका अभिमानसिंह बस्न्यातलगायतका भारदारहरू पनि माझकिरात गोरखालीको अधिनमा पार्न साह्रै ठूलो मेहनत र खर्च गरेका खार्पाका हरिनन्द पोखरेलसँग बुद्धिकर्णविरुद्ध गुहार मागिरहेका थिए। उनले वि.सं. १८३० फागुन सुदीमा अम्बरपुरबाट हरिनन्दलाई “पूर्व विजयपुर देवान बुधिकर्नले षायाको मुलुक मदेश पहाड पनि हाम्रो अम्बल गराउन्या उपाय तिमी गर्दै गर. तम्रो सह्यार हामी गरौंला”  भन्ने ब्यहोराको पत्र पठाएका थिए (चेम्जोङ, २०५९:७९)।

कामदत्त सेनको हत्या भएपछि बुद्धिकर्ण रायविरुद्ध आफ्नो अभियान चलाउन पृथ्वीनारायण शाहलाई निहुँ निस्किहाल्यो। पृथ्वीनारायण शाहले विजयपुरमा भएका राजनीतिक घटना र उतारचढावलाई मसिनो ढङ्गले नियाल्दै रहेका थिए। उनी बुद्धिकर्ण रायको सम्बन्धमा इस्ट इण्डिया कम्पनीका गभर्नर जनरलसँग पत्राचार पनि गर्दै रहेका थिए।

बुद्धिकर्णको अन्त्य विना विजयपुरमा शान्ति छाउन सम्भव छैन भन्नेमा पृथ्वीनारायण शाह पनि थिए। उनी कुनै पनि हालतमा बुद्धिकर्णको अन्त्यका लागि पूर्वतिरको अभियानमा लागेका गोरखाली भारदारहरूलाई निर्देशन दिँदै थिए। 

बुद्धिकर्ण रायले कामदत्त सेनलाई मारेको विषयलाई पृथ्वीनारायण शाहले ठूलै सबाल बनाएका थिए। पृथ्वीनारायण शाह भने नातामा आफ्ना मावली भाइ पर्ने कामदत्त सेनको हत्याको विषयलाई लिएर इस्ट इण्डिया कम्पनीका वारेन हेस्टिङ्गेससित आफ्ना वकीलमार्फत पत्राचार गरिरहेका थिए। २७ मे, १७७३ (वि.सं. १८३० जेठ १८) मा पृथ्वीनारायण शाहले हेस्टिङ्गेसलाई लेखेको पत्रमा “तपाईंसित मैत्रीपूर्ण सबन्ध स्थापित गर्ने मेरो अभिलाषा छ। मेरा भाइ कामदत्त सेनको धोखेबाज दीवान बुद्धिकर्णले मेरो भाइको राज्य अम्बरपुर र विजयपुरमा अवैधरूपमा अधिकार जमाइराखेको छ। यसलाई दण्ड दिनाको लागि म आफ्नो सैन्यदल पठाउँछु। तर, त्यो दीवान छिमेकको जिल्ला पूर्णियामा शरण लिन जाला भन्ने शङ्का लागेको छ। त्यस अवस्थामा बुद्धिकर्णलाई कुनै किसिमले सैनिक सहायता नदिनू भन्ने एक पत्र तपाईंले छिमेकको जिल्ला पूर्नियामा रहेका हाकिमलाई लेखी पठाउनुभए अनुगृहित हुनेछ” भन्ने आसयको पत्र पठाए (आचार्य,२०६१:४१९)।

कामदत्त सेन पृथ्वीनारायण शाहका फुपुका छोरा भएकाले यिनीहरूबीच गहिरो मित्रभाव थियो। अङ्ग्रेजहरूसँग बाहिरी तराईका विषयमा सम्झौता भएपछि चौदण्डी रियासतमा अधिकार गर्न जाँदा कामदत्त सेनसँग सहायता लिने निश्चय पृथ्वीनारायण शाहले गरेका थिए। त्यस्तै अवस्थामा कामदत्त सेनको हत्या भएको तथा कर्ण सेन र बुद्धिकर्ण राय आपसमा मिलेको समाचार उनले पाएका थिए (बाबुराम आचार्य, “पूर्णिमा” पूर्णाङ्क ५०-भदौ २०३८:२०-२१)।

त्यो बेला गोरखाली सेना चौदण्डीमार्फत खम्बुवान र विजयपुरमार्फत लिम्बुवान कब्जा गर्न पहाडी र तराई क्षेत्र गरी दुई ठाउँबाट खटेको थियो। तीमध्ये रामकृष्ण कुँवर र अमरसिंह थापाहरू पहाडी भागबाट पसेका थिए भने अभिमानसिंह बस्न्यात र पारथ भण्डारीहरू तराई भागबाट। बस्नेतको नेतृत्वमा रहेको गोरखाली फौजले १८३१ साउन ५ गते विजयपुर हात लिए त्यो बेलाका हर्ताकर्ता बुद्धिकर्ण राय हात्तीमा सवार भई विजयपुरबाट भागे (आचार्य, २०६१:४२२)।

उनी भागेपछि पृथ्वीनारायण शाहले लिम्बुवानका तीन अगुवा सुब्बाहरू सुन राय, कुम राय र जङ्ग रायलाई वि.सं. १८३१ साउन सुदी १ सोमबार (तदअनुसार साउन २७ गते)एक लालमोहर पठाई लिम्बूहरूको खायनपायन थामिदिएको र सेनले जस्तै उनीहरूलाई भूमीमाथिको अधिकार पनि पहिलेजस्तै गरिदिएको लालमोहर गरिदिए (शंकरमान राजवंशी, “प्राचीन नेपाल” सङ्ख्या ३- वैशाख २०२५:२९-३०)।

यो लालमोहर प्राप्तीलाई लिम्बूहरू आफूहरूसँग गोरखालीको सन्धि सम्झौता सम्झन्छन्। लालमोहर गरिदिनुअघि गोरखाली भारदारहरूले नूनपानी छोएर लिम्बूहरूसँग प्रतिज्ञा गरेकोले लिम्बुवानमा यो सम्झौता जुनपानीको थितिको रूपमा पनि चर्चित छ।

बुद्धिकर्ण रायको हत्या 
गोरखालीहरूले विजयपुर कब्जा गर्नुअघि नै बुद्धिकर्ण राय विजयपुरबाट पलायन भएका थिए। उनले त्यहाँ कर्ण सेनलाई राजा थामेर हिंडेका थिए। 
गोरखालीले विजयपुर कब्जा गरिसकेपछि अर्कातिर बुद्धिकर्ण पनि गोरखालीविरुद्ध यता उता हारगुहार गरिरहेका थिए। गोरखाली जासुसहरू भेष बदलेर  मोरङ र वङ्गालका विभिन्न ठाउँहरूमा उनलाई धुइँधुइँति खोजिरहेका थिए। उनी भने त्यतिबेला गोरखालीविरुद्ध युद्ध लड्न तिब्बतको ल्हासामा सहयोग याचनाका लागि पुगेका थिए। केही समयपछि राजा कर्ण सेन पनि त्यहाँको शासनभार लिम्बू मन्त्रीहरू सुन राय, फुङ्ग राय र जङ्ग रायलाई छाडेर पूर्णियातिर भागिसकेका थिए (चेम्जोङ, २०५९:१०१)।

बुद्धिकर्णको अन्त्य विना विजयपुरमा शान्ति छाउन सम्भव छैन भन्नेमा पृथ्वीनारायण शाह पनि थिए। उनी कुनै पनि हालतमा बुद्धिकर्णको अन्त्यका लागि पूर्वतिरको अभियानमा लागेका गोरखाली भारदारहरूलाई निर्देशन दिँदै थिए। 

उनले १८३१ आश्विन बदी ३० मा पृथ्वीनारायण शाहले अभिमानसिंह बस्न्यात, पारथ भण्डारी, कीर्तिसिंह खवास तथा बलि बानियालाई लेखेको पत्रमा कोही सिपाही लगाएर ठूलै रकम खर्च गरेर भए पनि बुद्धिकर्ण रायलाई मार्नै पर्ने आदेश दिएका छन्। पत्रमा “बुद्धिकर्न राईलाई पाया पछि कल मरी जान्या थियो. पायियेन. केही जुक्तिले कोही सिपाही कमायेर हजार बाह्र सय. कावोलि सर्सिरोपाउ कवोलि हुन्या भया तेसलाई मराउन्या हो. तेसो भया पछि कल सबै मरिजान्छ. त्यो षामषा गराउ” भन्ने उल्लेख छ (आचार्य, २०६१:४३१)।

बुद्धिकर्ण राय लुकेर बसिरहेका कारण गोरखाली शासकको मनमा शान्ति छाएको थिएन। विजयपुरमा गोरखाली आक्रमणपछि बुद्धिकर्ण भागेर इष्ट इण्डिया कम्पनीलाई गुहार्न पुगेका थिए। तर, उनको यो प्रयास निरर्थक भएपछि उनी भुटानको सिमानेरको चिलमनी गाउँमा लुकेर बसेका थिए। केही लिम्बू सुब्बाहरूलाई उनीहरूको पुरानै हकभोगलाई कायम गरिदिएको लालमोहर पृथ्वीनारायण शाहले जारी गरिसकेका थिए। तर, बुद्धिकर्ण जीवित रहुन्जेल विजयपुरमा शान्ति स्थापना हुनेछैन भन्ने ठानी गोरखालीहरूले धुँइधुँइति उनको खोजी गर्न थाले।

यसरी बुद्धिकर्ण रायलाई मारिसकेपछि पूर्वमा गोरखाली शासनलाई स्थापित गरेर फर्केपछि अभिमानसिंह बस्नेत र उनका भाइ धौकलसिंह बस्नेतले आफ्नो लागि नवनिर्मित भवनमा ठूलो गौरव मान्दै शिलालेखसमेत गाडे। ती शिलालेखहरूमा पूर्वका किरातीहरूमाथि विजय गरेको प्रसङ्ग पनि परेको छ।

गोरखालीहरू कुम्ले ब्यापारीको रूपमा विभिन्न ठाउँमा पुगे। कम्पनी सरकारको क्षेत्रभित्र पर्ने चिलमरी भन्ने ठाउँमा उनी लुकेर बसेको ठाउँ पत्ता लगाई रातको समयमा डाकाको रुपमा घर घेरा हाली उनलाई समाती लछारपछार गर्दै विजयपुर ल्याए। उनलाई कामदत्त सेनलाई मारेको अभियोग लगाई निष्ठुर ढङ्गले मारियो। उनको प्राण जान तीन दिन लागेको थियो ( ह्यामिल्टन, सन् १८१९:१४१)।

बुद्धिकर्ण रायको हत्या गरिएपछि गोरखालीहरूले शान्तिको सास फेर्दै हर्षोल्लास प्रकट गरे। यो तथ्य तत्कालीन राजा प्रतापसिंह शाहले नै ब्यक्त गरेका छन्। वि.सं. १८३४ साउन वदी २ (तदअनुसार साउन २० गते) मा प्रतापसिंह शाहले अभिमानसिंह बस्न्यातलगायतलाई लेखेको पत्रमा “त्यो नपक्रियाका भया बारम्बार धुम उठाउन्या थिया मुगलानबाट ल्याउन्याले धुम मेटियो। तेरा अर्थकन विजयपुरका मालिक बुद्धिकर्न राय हो. त्यो पनि ठूलो मेहनत हो” भन्ने परेको छ। यो पत्र अभिमानसिंह बस्नेतको सन्ततिसँग सुरक्षित छ। बस्नेत परिवारका तर्फबाट इतिहासकार भगिराज इङ्नामले यो पत्रको सक्कलको छायाँप्रति प्राप्त गरेका छन्। 

यसरी बुद्धिकर्ण रायको हत्या लगायतका काम फत्ते गरेवापत बस्न्यात दरबारबाट पुरस्कृत भए। उक्त पत्रमा “सप्तरी विजयपुर पहाड मधेस गरी पौने दुई लाख रुपैयाँ सालबसाल आउन्या मुलुक अम्बल गरिस् तेस्को रिझबापत तैंले जागीर पायाको दहीचाढ भया पनि तेसै बरोबरको बारा जिल्लामा अरु जग्गा भया विर्ता गरी जिमी बक्सौंला” भन्ने परेबाट बस्न्यातलाई ठूलो पुरस्कार मिलेको स्पष्ट हुन्छ।

राजा प्रतापसिंह शाहले अभिमानसिंह बस्न्यातलाई वि.सं. १८३४ साउन २० गते लेखेको पत्र बुद्धिकर्णको हत्या गरिएको उल्लेख भएकोले यो पत्र बुद्धिकर्णको हत्यालगात्तै लेखेको स्पष्ट हुन्छ। यसलाई विचार गर्दा बुद्धिकर्णको हत्या वि.सं. १८३४ साउनको पहिलो वा दोस्रो साता गरिएको हुनसक्छ।

यसरी बुद्धिकर्ण रायलाई मारिसकेपछि पूर्वमा गोरखाली शासनलाई स्थापित गरेर फर्केपछि अभिमानसिंह बस्नेत र उनका भाइ धौकलसिंह बस्नेतले आफ्नो लागि नवनिर्मित भवनमा ठूलो गौरव मान्दै शिलालेखसमेत गाडे। ती शिलालेखहरूमा पूर्वका किरातीहरूमाथि विजय गरेको प्रसङ्ग पनि परेको छ। तीमध्ये केलटोलमा रहेको मानमन्दिरमा राखिएको अभिमानसिंह बस्नेतको शिलालेखमा “वि.सं. १८३३ षौष शुक्ल दशमी आदित्यबार रोहिणीनक्षत्र ब्रह्मायोगमा, किरातप्रदेश जित्ने सफल श्रीअभिमानसिंहले बनाउन लाएको यो रामणीय भवन सधैं लक्ष्मीयुक्त रहोस” भन्ने उल्लेख छ (धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ, “शाहकालका अभिलेख” भाग १, २०३७:१२६)।

त्यस्तै पहिले आफ्नो निवास रहेको नारायणहिटी परिसरमा धौकलसिंह बस्नेतले ठड्याएको शिलालेखमा “केहरसिंहपछि जन्मेका साहिँला भाई काजी अभिमानसिंह गुणी, दयालु, सुन्दर र बुद्धिमान पनि थिए। जसले विषालु अस्त्र प्रहार गर्ने, मद खाएर चुर भइरहेका थुप्रै किरातीहरूलाई भाला आदि अस्त्रहरूले ध्वस्त पार्दै सारा किरात प्रदेश बलैले जिते” भन्ने उल्लेख छ (बज्राचार्य र श्रेष्ठ, २०३७:२१०)।

विजयपुरमा राजा र मन्त्रीबीच कलह भइरहदा पृथ्वीनारायण शाह फाइदा लिन सफल भए। उनले आफ्नो राज्य पूर्वतिर फैलाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.