वीरगन्ज भन्सारको राजश्व असूली निरन्तर ओरालो तर्फ

वीरगन्ज भन्सारको राजश्व असूली निरन्तर ओरालो तर्फ
सुन्नुहोस्

वीरगन्ज : मुलुक प्रमुख नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा लक्ष्य भन्दा ६१ अर्ब ४९ करोड भन्दा कम राजश्व संकलन गर्न सकेको छ। 

भन्सार विभागले साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा वीरगन्ज भन्सारलाई १ खर्ब ६१ अर्ब २० करोड ५५ लाख ८६ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएको थियो। तर यो आठ महिनाको अवधिमा वीरगन्ज भन्सारले लक्ष्यको ६१.८५ प्रतिशत मात्र अर्थात ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार रुपैयाँ मात्र राजश्व  संकलन गर्न सकेको हो।

यस्तै गत फागुन महिनामा पनि वीरगन्ज भन्सारले लक्ष्य भन्दा ४० प्रतिशत कम राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिए। उनका अनुसार गत फागुनमा भन्सार विभागले २१ अर्ब ३८ करोड ८१ लाख १९ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ६१.४१ प्रतिशत मात्र अर्थात १३ अर्ब १३ करोड ४२ लाख ८ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ। 

वीरगन्ज भन्सार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको आठ महिनामा हरेक महिनामा लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल हुँदै आएको छ। वीरगन्ज भन्सारले गत साउनमा लक्ष्यको ७५.९६ प्रतिशतमात्र अर्थात ११ अर्ब ८६ करोड, गत भदौमा लक्ष्यको ६५.५९ प्रतिशतमात्र अर्थात १२ अर्ब ७१ करोड, गत असोजमा लक्ष्यको ६५.३५ प्रतिशतमात्र अर्थात १४ अर्ब २७ करोड रुपैयाँ राजश्व संकलन गर्न सकेको थियो। यस्तै गत कात्तिकमा लक्ष्यको ५०.५३ प्रतिशतमा अर्थात १० अर्ब ३२ करोड, गत मंसिरमा लक्ष्यको ६०.२५ प्रतिशत मात्र अर्थात १२ अर्ब ८२ करोड, गत पुसमा लक्ष्यको ५९.२२ प्रतिशत मात्र अर्थात १२ अर्ब ७४ करोड र गत माघमा लक्ष्यको ५९.९४ प्रतिशत मात्र  अर्थात ११ अर्ब ८३ करोड रुपैयाँ राजस्व संकलन गरेको पन्थीले जानकारी दिए। 

वीरगन्ज भन्सारले गत आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउनदेखि फाागुनसम्म) को अवधिमा पनि लक्ष्यको ६०.३५ प्रतिशत मात्र  राजश्व उठाउन सकेको थियो। त्यस अवधिमा भन्सार विभागले १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७५ हजार रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको थियो।

नयाँ सवारी साधन, डिजेल,पेट्रोल, कच्चा खाने तेल तथा औद्योगिक कच्चा पदार्थको आयातमा गिरावट आएका कारण त्यसको प्रत्यक्ष असर राजश्व संकलनमा पनि परेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक  पन्थीले बताए। 

चालु आर्थिक वर्षमा पहिलो आठ महिनाको अवधिमा कच्चा भटमासको तेलको आयातमा झण्डै ६२ प्रतिशतले गिरावट आएको पन्थीले बताए। यसका साथै डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनका साथै औद्योगिक कच्चा पदार्थको आयातमा पनि गिरावट आएको उनले बताए। उनले भने,‘इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ। आयात भएका नयाँ सवारी साधनमा पनि अधिकांश विद्युतीय सवारी साधन बढी छन्। विद्युतीय सवारी साधनको राजश्व कम छ। त्यसकारणले पनि राजश्व संकलनमा  प्रत्यक्ष असर देखिएको हो। 

बढी राजश्व उठ्ने मालवस्तु मध्येको औद्योगिक कच्चा पदार्थ तथा सूर्तीजन्य पदार्थको आयातपनि घटेका कारणले राजश्व कम उठेको उनले बताए। वीरगन्ज भन्सारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा लक्ष्यको करिब ६२ प्रतिशतमात्र राजश्व संकलन भए पनि अबका बाँकी चार महिनामा भने राजश्व संकलनमा सुधार आउने अपेक्षा गरिएको पन्थीले बताए। 

विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आर्थिक वर्षका बाँकी चार महिनामा राजश्व संकलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको उनले बताए। चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७५ प्रतिशतसम्म राजस्व संकलन गर्ने लक्ष्यसहित काम गरिरहेको उनले बताए। 

यता वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले भने झण्डै एक वर्ष यतादेखिको आर्थिक मन्दीका कारण स्वदेशी उद्योग–कलकारखानाको उत्पादन खुम्चिएको र उद्योगहरू धराशायी हुँदै गएका कारण उद्योगको क्षमता अनुसारको परिमाणमा औद्योगिक कच्चा पदार्थ आयात नभइरहेकाले भन्सारको राजश्व घटेको हुन सक्ने बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.