छाडा चौपायाको व्यवस्थापन
बुटवल : बुटवल उपमहानगरपालिकाले छरिएर रहेका छाडा चौपायाको व्यवस्थापन कार्य सुरु गरेको छ। चौपाया व्यवस्थापन गर्न नसकेर उपमहानगरपालिकाले चौतर्फी आलोचना खपिरहेको थियो। वडा नम्बर–७ स्थित शिवनगर सामुदायिक वनको गौशालामा पहिलोपटकको अभियानअन्तर्गत करिब चार सय वटा चौपायाहरू लगेर छाडिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले जानकारी दिए।
‘लामो समयपछि चौपाया व्यवस्थानको काम सुरु गरिएको छ’, रानाले भने, ‘छाडा चौपाया बुटवलको प्रमुख समस्या थियो। गृहकार्य गर्दै थियौं, व्यवस्थापन गर्न केही समय ढिलाइ भएको मात्र हो।’ उनले बुटवल क्षेत्रमा बढीमा करिब १ हजार ५ सयवटा चौपायाहरू रहेको जानकारी दिए। चैत १६ गते दोस्रो चरणका रूपमा चौपाया गौशाला पु¥याउने योजना बनाएको समेत उनले सुनाए।
नेपाल प्रहरी, नेपाली सेना, टोल विकास समितिहरू, सशस्त्र प्रहरी, संघ–संस्था, स्थानीयवासी लगायतको सहयोगले चौपायाहरूलाई ‘खेदेरै’ सामुदायिक वनको गौशालामा पु¥याइएको बताए। सडकभरी भएका छाडा चौपायाले पैदलयात्रीदेखि व्यवसायीहरूलाई सास्ती दिइरहेका छन्। चौपायाकै कारण दिनहुँँजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीहरू बताउँछन्।
चौपाया व्यवस्थापन नहुँदा व्यावसायिको सुरक्षासँगै सडकको सौन्दर्यता र बजार अस्तव्यस्त बनिरहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले बताए।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको पुष्पलाल पार्कदेखि राजमार्ग चौराह, भित्री सडकमा पर्ने मिलनचोक, देविनगर, कालिकापथ, बुद्धनगर सहित अमंरपथ, गोलपार्क, ट्राफिकचोक लगायत क्षेत्रमा छाडा चौपाया छन्।