नियम मिचेर निमित्त प्रअ : फुटुङ माविमा योग्य शिक्षकलाई बेवास्ता गरी राहतलाई दिइयो जिम्मेवारी

नियम मिचेर निमित्त प्रअ : फुटुङ माविमा योग्य शिक्षकलाई बेवास्ता गरी राहतलाई दिइयो जिम्मेवारी
सुन्नुहोस्

काठमाडौं  : तारकेश्वर नगरपालिका–७ स्थित फुटुङ माविमा राहत शिक्षकले नियमविपरीत एक महिनादेखि निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहेका छन्। प्रधानाध्यापक भगीरथ उपाध्याय अनिवार्य अवकाशमा गएपछि विद्यालय व्यवस्थापन समितिले राहत शिक्षक हरिकृष्ण खत्रीलाई फागुन ३ गतेदेखि उक्त जिम्मेवारी दिएको हो।

उक्त निर्णय शिक्षा नियमावली २०५९ विपरीत भएको भन्दै तारकेश्वर सामुदायिक विद्यालय समितिले मेयर कृष्णहरि महर्जनको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको एक शिक्षक बताउँछन्। ‘यस समितिले मेयरलाई भेटी गुनासो गर्दा गलत भयो भनेर सच्याउने मौखिक प्रतिबद्धता जाहेर गरेको पनि हो। तर, सुनुवाइ भएन’, समितिमा आबद्ध ती शिक्षक भन्छन्, ‘प्रधानाध्यापकको योग्यता पुगेका स्थायी शिक्षक नै ११ जना हुनुहुन्छ।’

नियमावलीको नियम ९३ मा प्रधानाध्यापकसम्बन्धी व्यवस्था छ। ‘सामुदायिक विद्यालयमा प्रधानाध्यापक अनुपस्थित भएमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये वरिष्ठतम स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्ने छ’, उपनियम १२ मा लेखिएको छ।

समितिको निर्णयले तारकेश्वरको विद्यालय शिक्षा व्यवस्थापन कार्यविधि २०७५ को उल्लंघनसमेत गरेको छ। ‘सामुदायिक विद्यालयको प्रधानाध्यापक बिदामा बसेमा वा कुनै कारणले प्रधानाध्यापकको पद रिक्त भएमा प्रधानाध्यापक उपस्थित नभएसम्म वा प्रधानाध्यापकको पदपूर्ति नभएसम्मका लागि सो विद्यालयमा कार्यरत शिक्षकहरूमध्ये माथिल्लो श्रेणीका वरिष्ठ स्थायी शिक्षकले निमित्त प्रधानाध्यापक भई काम गर्ने छन्’, दफा ४९ (९)मा लेखिएको छ। 

तारकेश्वर नगरपालिकाको शिक्षा ऐन २०७६ विपरीत पनि रहेको निर्णय सच्याउन शिक्षा शाखादेखि शिक्षा विकास तथा समन्वय एकाइ काठमाडौंको ध्यानाकर्षण गराएको एक शिक्षक सुनाउँछन्। ‘एकाइका अधिकारीले यो नियमविपरीत हो, हामीले हस्तक्षेप गर्न मिल्दैन भन्नुभएको छ’, उनले भने, ‘शिक्षा शाखा प्रमुखले यो गलत नै हो, यही नै मिलाउने हो। कहीँ जानुपर्दैन भन्नुभएको छ। तर, एक महिनासम्म उक्त निर्णय नसच्याई हामीलाई अलमल्याइरहनुभएको छ।’

राहतलाई कामचलाउका लागि जिम्मेवारी दिइएको प्रतिक्रिया व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष सानुकाजी खत्रीले दिए। ‘केही दिनका लागि हो, २–३ दिनका लागि हो। कामचलाउ मात्रै हो। जिम्मेवारी नियमानुसार पाउनेलाई दिइन्छ’, उनले अन्नपूर्ण पोस्ट्सित भने। नगरपालिकाका शिक्षा शाखा प्रमुख पदमबहादुर खत्रीले यसलाई सच्याइने बताएका छन्। ‘वरिष्ठलाई दिनुपर्ने हो। तर, व्यवस्थापन समितिले अस्थायी रूपमा अर्कोलाई जिम्मेवारी दिएछ। त्यसमा हाम्रो ध्यानाकर्षण भएको छ। यसलाई सच्याइनेछ’, उनले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.