भाग्दै थिए महरा, पछ्याउँदै पुग्यो प्रहरी

भाग्दै थिए महरा, पछ्याउँदै पुग्यो प्रहरी
तस्बिर : अभिषेक महर्जन
सुन्नुहोस्

विमानस्थलको विशिष्ट कक्षमा केही समय बस्दा महराले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि फोन गरेका थिए। भैरहवा विमानस्थलमै काठमाडौं जान थालेका नेकपाका अध्यक्ष एवं पूर्वसहकर्मी नेत्रविक्रम चन्द (विप्लव) सँग महराको जम्काभेट भएको थियो।

बुटवल : काठमाडौंबाट हिँडेका नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सोमबार बिहानै ८ बजे नवलपरासी आइपुगेका थिए। आफू आइरहेको गाडी बिग्रिएपछि उनले पार्टी केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री कपिलवस्तुका वकिल मुसलमानलाई फोन गरेर भने, ‘तपाईंले मलाई सहयोग गर्नुपर्‍यो। चन्द्रौटासम्म मलाई तपाईंको गाडीमा पुर्‍याइदिनुस् न।’

पार्टीको उपाध्यक्षले बिहानै फोन गरेपछि मुसलमानले गाडी लिएर भैरहवा नवलपरासीको बीचमा पुगेर उनलाई ‘रिसिभ’ गरे। मुसलमान दिनहुँ थेरापीका लागि भैरहवा आउजाउ गर्छन्। महरालाई चन्द्रौटासम्म पुर्‍याएर फेरि भैरहवा फर्कने उनको तयारी थियो। चन्द्रौटा पुगेपछि महरालाई लिन अर्कै गाडी बोलाउने तयारी गरिएको थियो। महराले गाडी फेरि–फेरि यात्रा गरिरहेका थिए।

बागमती ०१०२७ च १९९३ नम्बरको रातो कारमा उनीहरू सवार गर्दै थिए। हिँडिरहेकै बेला एक्कासि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी कुबेर कडायतले मुसलमानलाई फोन गरेर भने, ‘महरा सर हजुरसँगै हुनुहुन्छ ?’ 

माओवादी नेता मुसलमानले ‘हजुर हुनुहुन्छ’ भनेपछि उनकै फोनबाट डीआईजी कडायत र महराबीच कुरा भयो। कडायतले महरालाई ‘हजुर काठमाडौं जानुपर्ने भयो’ भनेपछि महराको यात्रा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ स्थित पकडीबाट काठमाडौंका लागि ‘युटर्न’ भयो। बर्दघाटबाटै पिछा गरिरहेको प्रहरीले कपिलवस्तु पुगेर महरालाई पक्राउ गर्‍यो।

रूपन्देही र कपिलवस्तुका प्रहरी प्रमुखसहितको टोलीले प्रहरी चौकी पकडीमा महरालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा आएपछि कपिलवस्तुका प्रहरी प्रमुख उतैबाट फर्किए। रुपन्देहीका प्रहरी प्रमुखले आफ्नो गाडीमा राखेर भैरहवा विमानस्थल लिएर गए। महरा रोल्पा जाने गरी काठमाडौंबाट निस्किएको भनिए पनि स्रोतका अनुसार अमरगढवा नाका हुँदै भारत जाने योजनामा रहेको बुझिएको छ। महरा निकट नेताहरूले उनी रोल्पामा आफन्तको निधन भएपछि भेटघाटका लागि जाने तयारी रहेको जनाएका छन्।

प्रहरीले नियन्त्रणमा लिएपछि महरालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले जहाजको टिकट काटेर काठमाडौं पठाएको सँगै यात्रा गरेका नेता मुसलमानले बताए। ‘धेरैले मेरो घरमा खाना खाने तयारी थियो पनि भनेका रहेछन्’, पूर्वमन्त्री मुसलमानले भने, ‘खाना खाने तयारी केही पनि थिएन। भैरहवा विमानस्थलमा उनले एक गिलास तातो पानी मात्र खाएर काठमाडौं जानुभयो।’

स्रोतका अनुसार विमानस्थलको विशिष्ट कक्षमा केही समय बस्दा महराले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई पनि फोन गरेका थिए। भैरहवा विमानस्थलमै काठमाडौं जान थालेका नेकपाका अध्यक्ष एवं पूर्वसहकर्मी नेत्रविक्रम चन्द (विप्लव) सँग महराको जम्काभेट भएको थियो। 

महरालाई प्रहरीको घेरामा राखेर गौतमबुद्ध विमानस्थलबाट यती एयरलाइन्सको वाई टी–८९२ नम्बरको जहाजबाट बिहान साढे १० बजे काठमाडौं पठाइएको थियो। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महरासहित १२ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ। इलेक्ट्रिक भेपमा ९ किलो सुन तस्करी गरेको प्रकरणमै उनका छोरा राहुल महरा पनि कारागारमा छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.