डा. बाबुराम भट्टराईको नेसपा फुट्यो, महिन्द्र यादव समूह माओवादी केन्द्रमा समाहित

डा. बाबुराम भट्टराईको नेसपा फुट्यो, महिन्द्र यादव समूह माओवादी केन्द्रमा समाहित
फाइल तस्बिर।

काठमाडौं : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी विभाजित भएको भएको छ। माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारीसहित गत निर्वाचनमा एउटै चुनाव चिन्हबाट निर्वाचन लडेपनि पछिल्लोसमय नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाउपेचको राजनीतिमा लागेकाले पार्टी एकता नहुने उद्घोष गर्दै आएका थिए। 

तर शनिबार महिन्द्र राय यादव पक्षले नेसपालाई माओवादी केन्द्रमा समाहित गरेका छन्। सहमति पत्रमामा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेसपाका महासचिव रमेश प्रसाद यादवले हस्ताक्षर गरेका छन्।

null

शनिबार पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको घोषणा गर्दै चार बुँदे सहमति सार्वजनिक गरेको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८० साल चैत्र ३ गते शनिबारका दिन नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टी केन्द्रीय समितिको एकता संयोजन समितिको सम्माननीय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरूको जानकारीका लागि यो प्रेस नोट जारी गरिएको छ।’

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देवप्रसाद गुरूङ, नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए।

एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको छ। विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ। कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरूङ र उपमहासचिव जनार्दन शर्मा तथा नेपाल समाजवादी पार्टीका तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव रहनुभएको छ।’ null

गत भदौमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बाइपास गरेर अर्का अध्यक्ष यादवलाई पार्टी एकता गर्न पत्राचार गरेका थिए। यस अगाडि पार्टी एकताका लागि माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरिएको थियो। 

डा. भट्टराईले गत निर्वाचनमा आफ्नो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लगेर उम्मेदवार बनाएका थिए। डा. भट्टराईले चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाएका छन्। उनले माओवादीको चिन्हबाट लडेपनि निर्वाचन आयोग र संसद सचिवालयमा नेसपाबाट निर्वाचित सांसदलाई नेसपाको मान्यता दिन पत्राचार गरेका छन्। त्यस अगाडि नै पार्टी फुटेकाे हो। 

पुराना शक्तिहरूसँगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती : भट्टराई

भट्टराईले वैकल्पिक शक्ति निर्माणका निम्ति पुराना शक्तिहरूसंगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती हुने उल्लेख गरेका छन्। ‘नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको हाम्रो करिब एक दशकको प्रयोग र अनुभवले भन्छ- अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति पुराना शक्तिहरूसंगको प्रत्यक्ष र परोक्ष सहकार्य आत्मघाती हुन्छ। कोरोना भाइरस जस्तै पुराना शक्तिहरूको निजी सत्तालिप्सा र भ्रष्टाचारको भाइरस यति खतरनाक छ त्यसले नयाँ उदीयमान वैकल्पिक शक्तिहरूहरूलाई पनि संक्रमित नगरी छाड्दैन!’ फेसबुकमार्फत उनले भनेका छन्।

उनले पछिल्लो गठबन्धन परिवर्तनसम्मको तमासा र उद्घाटित भैरहेका उच्च तहका भ्रष्टाचार प्रकरणहरूले देशमा अग्रगामी विचार र सफा राजनीति सहितको वैकल्पिक शक्ति निर्माणको स्पेस र औचित्य रहेको थप पुष्टि गरेको उल्लेख गरे। उनले भनेका छन्, ‘विगतका सकारात्मक र नकारात्मक अनुभवहरूबाट पाठ सिकेर देशमा भरपर्दो वैकल्पिक शक्ति निर्माणमा केन्द्रित बनौं।’

उनले नीति कथाको प्रसंग उठाउँदै सत्ताको बाला देखाएर लोभ्याइरहेकाले लाभको आशक्तिबाट बच्न अनुरोध गरेका छन्। ‘नीतिकथाको बुढो बाघले आफू शिकार गर्न नसक्ने भएपछि हातमा सुनको बाला देखाएर लोभ्याउँदै बटुवालाई आफू नजिक बोलाएर खान्थ्यो रे! हाम्रो राजनीतिका बुढा बाघहरू पनि त्यसरी नै सत्ताको बाला देखाएर लोभ्याउँदैछन्! तत्काल  लाभको आशक्तिबाट बचौं!’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.