विवाह गर्न वडाको सिफारिस
रौतहट : चन्द्रपुर नगरपालिकाले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ। बालविवाह अन्त्य गर्नका लागि पालिका भित्रका १० वटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेको हो।
कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चा दुवैको ज्यान जोखिममा पर्ने भएकाले विवाह गर्न २० वर्ष पुगेको सिफारिस वडाबाट लिनुपर्ने व्यवस्था गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताए।
नगर कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशन गरिएको नगरपालिकाका मेयर सञ्जय काफ्लेले बताए। बालविवाह अन्त्यका लागि ३ वर्षे रणनीति हिउँदे नगर सभाबाट पारित भई कार्यान्वयनमा आएको छ। सोही रणनीतिमा व्यवस्था भएबमोजिम चन्द्रपुर नगरपालिकामा रहेका १० वटै वडा कार्यालयले आ-आफ्ना वडाका सम्पूर्ण टोल वस्तीहरूमा सूचना जारी भएको हो।
विवाहका लागि सिफारिस लिन आउने व्यक्ति तथा सेवाग्राहीले जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्रसहित निवेदन पेस गर्नुपर्छ।