काठमाडौं : अर्को वर्ष फ्रान्समा हुने पेरिस पारालिम्पिकका लागि नेपालका तीन खेलाडीले एसियाली छनोटमा सहभागिता जनाउँदै छन्। चीनको ताइअन सहरमा यही मार्च १५ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट पलेसा गोवद्र्धन, अमिर भ्लोन र भरतसिंह महताले प्रतिस्पर्धा गर्दै छन्। यो प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सके पेरिस पारालिम्पिकको ढोका सीधै खुल्ने भएकाले पनि नेपाली खेलाडीले कडा मेहनत गरिरहेका छन्।
छनोट प्रतियोगितामा सन् २०२० की पारा ओलम्पियन एवं एसियाली पारा खेलकुदकी कांस्य पदक विजेता पलेसाले महिला ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन्। यस्तै अमिरले पुरुष ६३ केजी र भरतले ५७ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छन्। पलेसा अनुभवीसँगै विश्व वरीयतामा सातौं स्थानकी खेलाडी भएकाले उनीबाट धेरै ठूलो आशा गरेको प्रशिक्षक कविराजनेगी लामा बताउँछन्। ‘पलेसा निकै अनुभवी खेलाडी हुन्। उनले पारालिम्पिकदेखि वल्र्ड च्याम्पियनसिप र एसियाली पारा खेलकुदमा समेत प्रतिस्पर्धा गरेकी छन्। त्यसैले उनी पारालिम्पिकमा छनोट हुनेमा धेरै आशावादी छौं’, प्रशिक्षक लामाले भने।
पलेसा अहिले विश्व वरीयतामा सातौं स्थानमा छिन्। उनी शीर्ष ६ सम्म परेको भए सिधै ओलम्पिकमा सहभागिता जनाउन पाउने थिइन्। वरीयतामा केही पछि परेका कारण उनले छनोट प्रतियोगिता खेल्नु परेको हो। पारालिम्पिकको छनोट प्रतियोगिता खेल्ने पलेसा माथिल्लो वरीयताकी खेलाडी भएकाले पनि उनीबाट धेरै आशा रहेको प्रशिक्षक लामा बताउँछन्। ‘पलेसाले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी छन्। छनोट प्रतियोगिताका लागि तयारी पनि गरिरहेकै छिन्। त्यसैले उनीबाट धेरै आशा गरिएको छ’, प्रशिक्षक लामा भन्छन्, ‘तर, महत्वपूर्ण कुरा नियमित प्रशिक्षण र अभ्यास हो। पछिल्लो समय उनी चीनकै सांघाईमा अध्ययन छिन्। राष्ट्रिय छनोट प्रतियोगिता खेल्न नेपाल आएकी उनले दुई महिना नेपालमै प्रशिक्षण गरेकी थिइन्। अहिले चीनमा पनि नियमित प्रशिक्षण गरिरहेकी छन्।’
अमिर र भरत अहिले सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीमा बसेर प्रशिक्षण गरिरहेका छन्। उनीहरूले दैनिक तीन पटक प्रशिक्षण गरिरहेको प्रशिक्षक लामाले जानकारी दिए। ‘नेपाल तेक्वान्दो संघले फागुन २१ देखि अमिर र भरतलाई बन्द प्रशिक्षणमा राखेको छ। अहिले तीन समय प्रशिक्षण भइरहेको छ। उनीहरूले निकै मेहनत पनि गरिरहेका छन्, प्रशिक्षक लामाले भने, ‘उनीहरूबाट पनि धेरै आशा राखेका छौं।’
भरत सुदूरपश्चिमको दार्चुलाको लिपुलेकका हुन्। बायाँहातको आधामात्रै लिएर जन्मिएका उनी खेल भनेपछि हुरुक्कै हुन्छन्। राष्ट्रिय खेलाडी बनेर देशको झण्डा फहराउने लक्ष्य बोकेका उनी स्कुल पढ्दा भलिबल खेल्थे। एउटा हात नभए पनि राम्रो स्पाइक हान्थे। अपाङ्ताका कारण उनी पारा खेलको खोजीमा थिए। पारा तेक्वान्दोका बारेमा जानकारी पाएपछि काठमाडौं आएर प्रशिक्षण गर्न थाले। खेलकुदसँगै उनी व्यवसायमा पनि संलग्न छन्। कीर्तिपुरमा गाई फार्म खोलेर परिवारको लालनपालन गरिरहेका छन्। ‘सानैदेखि अन्तर्राष्ट्रिय एरिनामा नेपालको झन्डा फहराउँछु भन्ने थियो। यो अवसर पारा तेक्वान्दोले दिएको छ। यो अवसरको आफूले सकेसम्म सदुपयोग गर्नेछु’, भरतले भने। ब्ल्याकबेल्ट पहिलो डान भरतमा राष्ट्रका लागि केही गर्छु भन्ने जोश र उत्साह गरेको प्रशिक्षक लामा बताउँछन्। ‘देशका लागि केही गर्छु भन्ने उत्साह र जोश उनमा छ। उनको यो आत्मविश्वासका कारण पनि छनोट प्रतियोगितामा उनीबाट उत्कृष्ट नतिजाको आशा राखेका छौं’, प्रशिक्षक लामाले भने।
महतासँगै प्रशिक्षणमा व्यस्त छन्, मकवानपुर हेटौंडाका अमिर भ्लोन। उनको पनि एउटा हातको आधा भाग मात्रै छ। ब्लोनको सपना पनि देशलाई पदक दिलाउने हो। सन् २०१९ देखि पारा तेक्वान्दो खेल्न थालेका अमिरबाट पनि प्रशिक्षक लामाले ठूलो आशा राखेका छन्। ‘अमिर निकै फुर्तिला खेलाडी हुन्। लामो समयदेखि अनुभवी खेलाडीसँग प्रशिक्षण गरेकाले उनीबाट पनि धेरै आशा राखेका छौं’, प्रशिक्षक लामा भन्छन्।
पेरिस पारालिम्पिकको एसियाली छनोटमा पुरुषको पाँच र महिलाको पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा एसियाका १७ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। सन् २०१३ देखि सुरु भएको पारा तेक्वान्दोले अहिलेसम्म २० वटा अन्तर्राष्ट्रिय प्रतियोतिामा सहभागिता जनाएको छ। २० वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा २० वटा नै पदक भिœयाएको प्रशिक्षक लामा बताउँछन्। उनको प्रशिक्षणमा पारा तेक्वान्दोले दुई स्वर्ण, दुई रजत र पाँच कांस्य गरी नौ पदक ल्याइसकेको छ।
पेरिस ओलम्पिकका लागि नेपालका चार खेलाडीले एसियाली छनोट खेल्दै छन्। नेपालबाट अञ्जली तामाङ, इन्दिरा बस्नेत, राहुल कुमाल र वीरबहादुर महराले नेपालको चुनौती प्रस्तुत गर्र्ने छन्।