कैलालीको सुधार केन्द्रमा युवकको मृत्यु प्रकरण

हत्या गरेपछि छतबाट हाम फालेको बन्यो नक्कली योजना

हत्या गरेपछि छतबाट हाम फालेको बन्यो नक्कली योजना
सुन्नुहोस्

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका- ४ मा रहेको नयाँ बाटो पुनःस्थापना केन्द्रमा बैशाख २५ गते मृत भेटिएका २५ वर्षिय सुनील शाहीलाई मरणासन्न हुनेगरी कुटपिट गर्दा मृत्यु भएको खुलेको छ।

शाहीले सुधारकेन्द्रमा खाना मिठो नभएको भन्दै राती भाग्न खोजेपछि बाउन्ड्री वालबाट तानेर भित्र लगेर,सुधारगृहमा रहेका ४/५ जनाले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीलाई उनीहरुले दिएको प्रारम्भिक बयानबाट खुलेको छ।

यस्तो थियो घटना (पक्राउ परेकाहरुले प्रहरीलाई दिएको प्रारम्भिक बयानका आधारमा)

बैशाख २५ गते बेलुकीको समय थियो। सुधारगृहमा खाना खाने समय भइरहेको थियो। सुधार केन्द्रमा राखिएका १४ जना युवाहरु र सुधारकेन्द्रका कर्मचारीहरु खाना खाने तयारीमा थिए। सुनील शाहीलाई सुधारकेन्द्रको खाना मन परिरहेको थिएन। 

उनले आफू सुधारकेन्द्रमा नबस्ने र घर जाने भन्दै भाग्न खोजे। सुधार केन्द्रको गेट बन्द गरिएकाले सुनील सुधारकेन्द्रको  पर्खाल (बाउन्ड्री वाल) तिर लागे। सुनील भाग्न खोजिरहेको कुरा सुधारकेन्द्रका कर्मचारी र त्यहाँ सुधारका लागि राखिएका युवाहरुले थाहा पाए। केही कर्मचारी र युवाहरु गएर उनलाई पर्खालबाट तानेर परिसरभित्र ल्याउन खोजे। 

सुनीललाई तान्नेक्रममा पर्खालमा रहेको फलामको रडले उनको अण्डकोषमा गहिरो चोट लाग्यो। उनी कराउँदै थिए,तर समात्न गएकाहरुले उनको अण्डकोषको चोटप्रति खासै वास्ता गरेनन्। पर्खालबाट तानेर उनलाई सुधारकेन्द्रको कोठामा पुर्‍याइयो। 
उनलाई ४/५ जनाले कोठामै बेस्सरी कुटे। उनको छाती,घाँटी र पिठ्यु सहित गोप्यअंगहरुमा पनि घाउ देखिएका छन्। उनको शवमा देखिएका घाउ भएका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन्। सार्वजनिक भएका तस्बिरहरु हेर्दा उनको मलद्वारमा पनि गहिरो चोट देखिन्छ।

‘सबैजना जना लागुऔषधका प्रयोगकर्ता थिए। उनीहरु आफैँमा ‘एग्रेसीव’ (रिसालु) हुन्छन्। कसले कता हाने, कसले कता, उनी मध्यरातमा गम्भीर घाइते अवस्थामा पुगेको देखिन्छ’ जिल्ला प्रहरी कार्यालय कैलालीका एकजना प्रहरी अधिकृत भन्छन्।  त्यसपछि सुनीललाई उनले सुत्ने कोठामा छोडियो। सहन नसक्ने पिडामा छटपटि रहेका सुनीलले रातीको २ बजे प्राण छोडे।  

यसरी बन्यो छतबाट लडेको नक्कली योजना
सुनीलको राती २ बजे मृत्यु भइसक्छ। त्यहाँ रहेका कर्मचारीहरुले सञ्चालकमध्येका एक जना, बल खत्रीलाई राती २ बजे फोन गर्छन्। बल खत्री त्यहाँका सबै युवकहरु र कर्मचारीलाई छतबाट हाम फालेको बयान दिने भन्दै अस्पताल लैजान अह्राउछन्। रातीको २ बजे ज्यान गुमाइसकेका सुनीललाई मरिसकेपछि,छतबाट हामफालेको भन्दै घोडाघोडी अस्पताल पुर्‍याइन्छ। अस्पताल पुगेका बल खत्री सबैलाई छतबाट खसेको भनेर बयान गर्न सिकाउँछन्। 

‘सुरुमा हामीलाई छतबाट खसेको भनियो, मैले घटनास्थल हेरेँ, तर छतबाट खसेको भनिएको स्थानमा खुट्टाले मिचेर माटो यताउती पारिएको थियो। त्यो नक्कली योजना थियो। कुनै कोणबाट पनि खसेको भनिएको स्थानमा विश्वास गर्ने ठाउँ थिएन। न खसेको भनिएको स्थानमा रगत थियो, अनी अलग अलग बयानका क्रममा उनको हत्या भएको कुरा खुलेको हो’ ईप्रका सुखडका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले भने। ‘घटनाको गहन रुपमा अनुसन्धान भइरहेको छ।’

राती नै अस्पताल पुर्‍याएको भए बाच्न सक्थे 

प्रहरी भन्छ,‘लागुपदार्थको सुधार गृहमा कोही पनि परिपक्व मान्छे देखिएन। कुटपिट भयो भने छुटाउने मान्छे भएन। कुटपिट भइहालेको थियो भने पनि घाइते अवस्थामा अस्पताल पुर्‍याइएन। सुनीललाई घाइते पारेर मर्नका लागि उनको कोठामा छोडेको जस्तो देखिन्छ।’ 

प्रहरीले घटनामा सञ्चालक पक्षको चरम लापरवाही देखिएको निष्कर्ष निकालेको छ। ‘सञ्चालकहरुमा परिपक्वता देखिएन, होम गुरुङ नामका व्यक्ति सुधारकेन्द्रका अध्यक्ष रहेछन्, तर उनले सुधारकेन्द्रको खासै वास्ता नगरेको पाइयो, व्यवस्थापन र सञ्चालक पक्षको चरम लापरवाही देखिन्छ’ कैलालीका प्रहरी उपरिक्षक पदम बहादुर विष्ट भन्छन्।

पोष्टमार्टम रिपोर्टको पर्खाई
प्रहरी प्रारम्भिक अनुसन्धानका क्रममा सुनीलको कुटपिट गरि हत्या गरेको निष्कर्षमा पुगेको छ। तर कुटपिट भएको प्रमाणित गर्ने निकाय भने अस्पताल वा पोष्टमार्टम रिपोर्ट हो। सुनीलको पोष्टमार्टम रिपोर्ट आएको छैन। आइतबारसम्म पोष्टमार्टम रिपोर्ट आउने र त्यसका आधारमा थप कारवाही अगाडि बढाउने मुडमा प्रहरी छ।

दुई जना सञ्चालकसहित १७ जना हिरासतमा
सुनीलका आफन्तले दिएको किटानीका आधारमा प्रहरीले सञ्चालक रोसन ऐर र बल खत्री,अध्यक्ष होम तामाङ सहितका १७ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जनाएको छ। सञ्चालक ऐर शुक्रबार मात्रै पक्राउ परेका हुन। उनीहरु सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.