रैथाने परिकारले तान्यो ४० हजारलाई

रैथाने परिकारले तान्यो ४० हजारलाई
सुन्नुहोस्

बर्दिबास : धेरै बर्दिबासेलीको भान्छामा तीन दिनसम्म साँझको खाना पाकेन। खाना नपाक्नुको कारण थियो, ‘महोत्तरी खाना महोत्सव।’ महोत्सवमा थरीथरीका रैथाने खानाखाजाको परिकार पस्किएको थियो। जहाँ सबैजना साँझको खानाखाजा खान पुग्थे। महोत्सव फागुन ५, ६ र ७ गते चलेको थियो।

बर्दिबासको ४०—५० वर्षको व्यापारिक बिरासतमा पहिलोपटक खाना महोत्सव लगाइएको थियो। जहाँ एकसे एक रैथाने खानाखाजाको स्वाद चखाइएको थियो। सानादेखि तारे होटलसमेतले स्वादिष्ट परिकारहरू पस्किएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव परमेश्वर महतोले बताए। बर्दिबास होटलहरूको हबले चिनिन्छ।

रैथाने परिकारको बेजोड स्वाद 

संघका महासचिव नारायण घिमिरेका अनुसार आहा ! घोंघीको स्वाद बेजोड थियो। कटियाको मासु हेर्दै जिब्रो रसाएर स्टलमा उपभोक्ताहरू चाख्न पुगे। तारेको माछा खाउँ–खाउँ लागेर भोकाएका पेटहरू त्यहाँँ झुमे। मधेसको बगियाँ, पुरी र तरुवाको स्वाद चाख्नेहरूको भिडै थेगिनसक्नु थियो। त्यसमा भोक मेटिएपछि स्वादिष्ट मिठा पानको स्वाद त जीब्रोले छोड्नै मानेन।

‘जीवनमा पहिलोपटक एकै ठाउँमा यतिधेरै परिकारहरू खान पायौं’, बर्दिबासकी अमृताकुमारी महतो भन्छिन्, ‘परिवारसहित महोत्सवमा पुग्दा छुट्टै आनन्द आयो।’

मधेस प्रदेशको फरक–फरक संस्कृतिका परिकार, गीतसँगीत र पहिरनले बर्दिबासमा उत्सवको माहोल नै बन्यो। देशविदेशका करिब ४० हजार मानिसहरूले महोत्सवमा खानाखाजा चाखेका थिए। 

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतम विस्तारै मधेस प्रदेशका सबै जिल्लामा खाना महोत्सव लगाउने बताउँछन्। 
‘महोत्सवमा सानादेखि तारे होटलको सेवा छ’, उनले भने, ‘हामीले कमाउने भन्दा पनि खानाको प्रचारप्रसार र पर्यटन प्रबद्र्धनका लागि महोत्वस लगाएका हौं।’

पूर्व–पश्चिम महेन्द्र राजमार्ग र बीपी राजमार्गको बर्दिबास–सिन्धुली–खुर्कोट सडकखण्डको केन्द्रबिन्दु बर्दिबास चोकमा खाना महोत्सव लगाइएको थियो। होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल (गुञ्ज) कार्कीले स्वादिलो खाना सस्तो मूल्यमा सबैलाई उपलब्ध गराउन सडक खाना महोत्सव लगाएको बताउँछन्।

पर्यटन क्षेत्रको खोजी गरिँदै

बर्दिबाससँग प्राकृतिक चुरिया पहाडका पाखापखेराहरू भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का बताउँछन् ।

‘हामीले पर्यटन तथा व्यापार प्रबद्र्धनका लागि मेला–महोत्सव लगाउँदै आएका छौं’, उनी भन्छन्, ‘बर्दिबासको ४०–५० वर्षको व्यापारिक इतिहासमा छुट्टै खालको खाना महोत्सव आयोजना भयो। यसले दुरगामी महत्व राखेको छ।’

बर्दिबासमा पर्यटन क्षेत्र विस्तारका लागि तीनै तहको सरकार लाग्नु पर्ने बताउँदै उनले थपे, ‘अहिले हामी पर्यटनको सम्भावना भएका स्थानहरूको खोजी गर्न पैदल यात्रा गरिरहेका छौं। अब पर्यटन क्षेत्रको बिस्तारमा तीनै तहको सरकार लाग्नुपर्छ।’ बर्दिबास होटल र शिक्षाको हब बन्दै गएको छ। अब पर्यटनको हब बनाउन बर्दिबास नगरपालिकाले योजना बनाएर काम गरिरहेको मेयर प्रह्लाद कुमार क्षेत्रीले सुनाए । 

‘यहाँ होटल धेरै भए। यसलाई व्यवस्थित गर्न र पर्यटनका सम्भावनाको खोजी गर्दै विकास गर्न हामी योजना बनाएर अघि बढेका छौं’, मेयर क्षेत्रीले भने, ‘पर्यटन तथा सांस्कृतिक प्रबद्र्धन समिति गठन गरेर काम अघि बढाएका छौं ’ बर्दिबासमा रामजानकी फन पार्क र ताल बनाउने योजना अघि सारेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.